काठमाडौँ – नेपाली राजनीतिमा सत्ता र शक्तिका लागि नेतृत्व हत्याउने प्रवृत्ति ‘जेनजी आन्दोलन’ पछि पनि यथावत् देखिएको छ। पुराना दलहरुविरुद्ध मोर्चाबन्दी गर्ने भन्दै ‘जेनजी आन्दोलनको म्यान्डेट’ अनुसार अघि बढेको भनिएको कुलमान घिसिङ, बालेन शाह र रवि लामिछानेबीचको सहकार्य १२ दिनमै टुटेको छ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एउटै पार्टी बनाएर जाने योजना भताभुङ्ग भएको छ। पुराना दलहरूलाई बढार्ने र आगामी निर्वाचनमार्फत सत्तामा पुग्ने महत्त्वाकाङ्क्षी योजना बोकेर मिलेका उनीहरू १२ दिनमै अलग भएका छन्।
रवि लामिछाने र बालेन शाहको साथ छोडेर कुलमान घिसिङले ‘हाइभोल्टेज करेन्ट’ प्रवाह गरिदिएको राजनीतिक टिप्पणीसमेत चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा)बीच भएको पार्टी एकता १२ दिनमै टुटेको छ।
पुस १४ गते सुदन गुरुङको अगुवाइमा अचानक दुई दल एक हुने सहमति भए पनि अन्ततः नाटकीय रूपमा अलग भएको घोषणा गरिएको छ। रास्वपासँगको एकता भङ्ग भएपछि उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङले पार्टीको नेतृत्व आफैँले लिने निर्णय गरेका छन्।
एकता भाँडिएपछि रास्वपा र उनेपाका नेताहरूले एकअर्कामाथि दोष थुपार्दै जिम्मेवारीबाट उम्किने प्रयास थालेका छन्। रास्वपाले एकता भाँडिनुको मुख्य कारण उनेपा संरक्षक घिसिङले राखेका विभिन्न अडानहरू रहेको दाबी गरेको छ।
रास्वपाको दाबी अनुसार उनेपाका संरक्षक घिसिङले प्रधानमन्त्री सरहको पदसहित आफ्ना वरिष्ठ नेता, पदाधिकारी तथा सम्पूर्ण केन्द्रीय सदस्यलाई रास्वपामा समायोजन गर्नुपर्ने सर्त अघि सारेका थिए।
तर, घिसिङले भने एकताप्रति प्रतिबद्ध रहँदारहँदै पनि रास्वपाले एकतर्फी रूपमा सहमति तोडेको आरोप लगाएका छन्। सङ्घीयता, समावेशिता लगायतका विषयमा रास्वपासँग पूरक सम्झौता गर्न खोजिए पनि त्यो सम्भव नभएको उनले बताएका छन्।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते ७ बुँदे पार्टी एकता गर्ने सहमति भएको थियो। सोही सहमतिका कारण तीन–तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले पदबाट राजीनामा दिनुपरेको थियो। एक सार्वजनिक कार्यक्रममा ‘रास्वपाको नेता र नागरिक सरकारको मन्त्री बन्न मिल्छ?’ भन्ने प्रश्न उठेपछि अन्ततः घिसिङ राजीनामा दिन बाध्य भएका थिए।
रास्वपाले उनेपासँग भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। उनेपासँगको सहमतिभन्दा पर गई विभिन्न पूरक सहमति र मूल सहमतिको परिमार्जनका लागि उनेपाबाट निरन्तर प्रस्तावहरू प्राप्त भएको र शीर्ष नेतृत्व तहमा पटक–पटक बैठकसमेत भएको रास्वपाले जनाएको छ।
१२ दिनको सहकार्यको यात्रा अनुमोदन नभए पनि उज्यालो नेपाल पार्टीको नेतृत्व तथा सम्पूर्ण सङ्गठनलाई आगामी दिनमा सफल यात्राको शुभकामना रास्वपाले दिएको छ।
तर, घिसिङले व्यक्तिगत रूपमा पनि ती १२ दिन आफूका लागि निकै अप्ठ्यारो समय रहेको बताएका छन्। आफूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा देशलाई लोडसेडिङमुक्त गराउन प्रमुख भूमिका खेलेको उल्लेख गर्दै घिसिङले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई एकपटक अवसर दिए त्यस्तै परिवर्तन देशव्यापी रूपमा ल्याउने उद्घोष गरेका छन्।
घिसिङले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बताएका छन्। समानुपातिकतर्फ पनि केही व्यवस्था गर्ने उल्लेख गर्दै, त्यो सम्भव नभए प्रत्यक्ष निर्वाचन प्रणालीमै मात्र प्रतिस्पर्धा गर्ने उनको भनाइ छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.