निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

देउवालाई विशेष महाधिवेशन ‘अपजस बिसाउने अवसर’

देउवालाई विशेष महाधिवेशन ‘अपजस बिसाउने अवसर’

157
SHARES

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पहिलो पटक पार्टी फुटाएको अपजसको भारी बिसाउने अवसर राजनीतिको उत्तरार्धमा आएर जुरेको छ।

अवसर नगुमाउन आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशन उद्घाटन गर्न देउवालाई औपचारिक निम्तो नै दिएका छन्। तर, ‘जेनजी आन्दोलन’ पछि कार्यवाहक जिम्मेवारी सुम्पिएर हाइहाइ कमाएका देउवाको अहिलेको मौनता र निकटकाहरूको लिडेढिपीले यो अवसर थप जटिल बन्दै गएको छ।

राणा शासन ढालेर प्रजातन्त्र बहाली गरेको नेपाली कांग्रेसका बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधिहरूको पहलमा पुस २७ र २८ गते (आइतबार र सोमबार) काठमाडौँमा दोस्रो विशेष महाधिवेशन आयोजना हुँदैछ।

पार्टीभित्र गहिरिँदै गएको अविश्वास, नेतृत्वको शैली र निर्णय प्रक्रियामा केन्द्रित हुँदै प्रतिनिधिहरूले विशेष महाधिवेशनलाई निर्णायक मोडको रूपमा लिएका छन्।

सभापति देउवा भने आफू निकटका नेताहरूसँग निजी निवासमै छलफलमा जुटिरहेका छन्। त्यही समयमा महाधिवेशन पक्षधर प्रतिनिधिहरू काठमाडौँको भृकुटीमण्डपमा भेला भएर आन्तरिक सङ्कट, नेतृत्वको जबाफदेहिता र पार्टी एकताको विषयमा गहन छलफलमा जुटिरहेका छन्।

काठमाडौँ उपत्यकाका सडकमा चार तारे झन्डा फहरिएका छन्। प्रतिनिधिहरूको स्वागतका लागि ठाउँ–ठाउँमा स्वागतका तुल टाँगिएका छन्। यसले पार्टीभित्रको असन्तुष्टि र सक्रियताको राजनीतिक सन्देश प्रवाह गरिरहेको छ।

महाधिवेशन आयोजक समितिले पार्टी सभापति देउवा र पदाधिकारीहरूलाई औपचारिक निम्तो पठाइसकेको जनाएको छ। आयोजक समितिले देउवा महाधिवेशन उद्घाटन गर्न उपस्थित हुने विश्वाससमेत व्यक्त गरेको छ।

तर, सभापति देउवालाई विशेष महाधिवेशन उद्घाटन गर्न जाने समय र राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुने समय एकै दिन र दुवै कार्यक्रमको स्थानसमेत भृकुटीमण्डप नै परेको छ।

पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीको अवसरमा दिउँसो १ बजेदेखि ४ बजेसम्म भृकुटीमण्डपमा आयोजना हुने जलपान समारोहका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेरै निम्तो दिइसकेका छन्।

देउवा विशेष महाधिवेशनको उद्घाटन नगरी राप्रपाको चियापान कार्यक्रममा मात्र सहभागी हुन्छन् वा दुवै कार्यक्रममा अनुपस्थित रहन्छन् भन्नेबारे अझै टुङ्गो लागेको छैन। विशेष महाधिवेशनबारे आफू निकटकाहरूलाई बोल्न लगाएर स्वयं मौन बसेका देउवा आफ्नै राजनीतिक सारथिहरूबाट क्रमशः एक्लिँदै जान थालेको सङ्केत देखिन थालेको छ।

१४औँ महाधिवेशनमा सभापतिमा देउवालाई समर्थन गरेका वरिष्ठ नेता गोपालमान श्रेष्ठ विशेष महाधिवेशन पक्षधरका रूपमा खुलेर अगाडि आएका छन्। उनले सभापति देउवामा पदलोलुपता स्पष्ट देखिएको टिप्पणी गरेका छन्।

अब पार्टीमा देउवाको निरङ्कुशता नचल्ने चेतावनी दिँदै, पार्टी फुटाउँदाका प्रमुख पात्रमध्ये आफू पनि रहेको स्वीकार गरेका श्रेष्ठले खुला रूपमा विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्।

कांग्रेसका केही नेताहरूले पनि विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा सम्पन्न गरेर पार्टीलाई विभाजनबाट जोगाउने अभियान जारी रहेको बताएका छन्।

नेता डा. चन्द्र भण्डारी र डा. सुनिल शर्माले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जसरी पनि पार्टीलाई विभाजन हुन नदिने बताएका छन्। पार्टी निर्णय विपरीत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मापक्षले विशेष महाधिवेशन आह्वान गरेपछि पार्टी विभाजनको डिलसम्म पुगेको स्वीकार गर्दै, त्यसलाई रोक्न आफूहरू सक्रिय भएको भण्डारीले बताए।

पार्टी एकताको पक्षमा केन्द्रित हुन संस्थापन र इतर दुवै पक्षलाई आग्रह गर्दै भण्डारीले कांग्रेसलाई पुनः मुलुकको नेतृत्व गर्ने शक्तिका रूपमा उभ्याउन विभाजन हुन नदिने बताए।

अर्का नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनमा पार्टी सभापति देउवालाई सहभागी भएर पार्टी एकताका लागि सघाउन आग्रह गरेका छन्।

समाचार शेयर गर्नुहोस्
157
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.