"/>
काठमाडौँ – समावेशी समाजवादी पार्टीले भ्रष्टाचार अन्त्य, संवृद्धि र सुशासनलाई मूल लक्ष्य बनाएर हरेक तह र तप्काका जातीय, क्षेत्रीय, वर्गीय र लिङ्गीय समुदायलाई समेट्ने प्रतिबद्धता जनाउँदै चुनावी मैदानमा उत्रिएको जनाएको छ।
भ्रष्टाचार, बेथिति, विसङ्गति र विकृतिहरू अन्त्य गर्ने लक्ष्यसहित पार्टीले प्रतिनिधिसभा चुनावका लागि १५ जना समानुपातिक उम्मेदवारलाई मैदानमा उतारेको जानकारी दिएको छ।
नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ४२ ले आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक सुनिश्चित गरेको छ।
तर, संविधान लागू भएको १० वर्ष बितिसक्दा पनि उक्त व्यवस्था व्यवहारमा कार्यान्वयन हुन नसकेको समावेशी समाजवादी पार्टीको ठहर छ। संवैधानिक व्यवस्था कार्यान्वयनको माग गर्दै गैरसरकारी संस्था ‘मायाको पहिचान नेपाल’ ले सर्वोच्च अदालतमा अग्राधिकार पाएको रिटको पूर्ण सुनुवाइ अझै हुन सकेको छैन।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिलाई राजनीतिक दलहरूले बुझाउने समानुपातिक बन्दसूचीमा अनिवार्य उम्मेदवार बनाउनुपर्ने माग गर्दै मायाको पहिचान नेपालले राजनीतिक दलहरूसँग प्रतिबद्धता माग गरेको थियो। सो क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीबाट एकीकरण भएर बनेको नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको मुद्दामा ऐक्यबद्धता र प्रतिबद्धता जनाएका थिए।
तर, प्रतिबद्धता व्यक्त गर्ने र व्यवहारमा सहभागिताबाट वञ्चित गर्ने अवस्था अन्त्य गर्नैका लागि निर्वाचन आयोगमा दर्ता भई समावेशी समाजवादी पार्टी गठन भएको उपाध्यक्ष प्रनिल क्षेत्रीले बताए। यही सन्दर्भमा फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरू सङ्गठित रूपमा दलहरूको दबदबाविरुद्ध प्रतिस्पर्धामा उत्रिन लागेको उनको भनाइ छ।
समावेशी समाजवादी पार्टी नाममै हरेक तह र तप्काको प्रतिनिधित्व झल्किने उपाध्यक्ष क्षेत्रीको भनाइ छ। ‘सबैले समावेशी र समानुपातिकको कुरा गर्छन्, तर हाम्रो लक्ष्य भनेको हरेक तह र तप्कासम्म पुगेर समायोजनसहित सहभागिता गराउनु हो,’ उनले भने।
उनले भ्रष्टाचार, बेथिति, विसङ्गति र विकृति अन्त्य गर्ने लक्ष्यसहित पार्टी चुनावी अभियानमा होमिएको बताए। ‘पुराना पार्टीहरूबाटै हामीले भ्रष्टाचार, बेथिति र विकृति देख्यौँ। समावेशी समाजवादी पार्टीको लक्ष्य भनेको भ्रष्टाचारको अन्त्य, संवृद्धि, सुशासन र हरेक तह र तप्काका जातीय, क्षेत्रीय, वर्गीय र लिङ्गीय समुदायलाई समेट्नु हो,’ उनले भने।
संविधानले समेटेर लैजाने व्यवस्था गरे पनि ठूला भनिएका पार्टीहरूले व्यवहार र कार्यान्वयनमा फरक दृष्टिकोण देखाएको उनको आरोप छ। घोषणापत्र र संविधानमा लेखिएका विषय व्यवहारमा नदेखिएको भन्दै फागुन २१ गते हुने चुनावमा प्रत्यक्षतर्फ पनि उम्मेदवार खडा गरिने उनले जानकारी दिए।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा स्थापना भएको भए पनि पार्टी केवल सो समुदायका लागि मात्रै नभएको उपाध्यक्ष क्षेत्रीले स्पष्ट पारे। ‘नेतृत्व यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्रको भए पनि पार्टीले समग्र जातीय, क्षेत्रीय, लिङ्गीय र भौगोलिक विविधतालाई समेटेको छ,’ उनले भने।
समानुपातिक उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्य विश्वराज अधिकारीले वातावरणलाई केन्द्रमा राखेर राजनीति गरिने बताए। नेपालको पहिलो ‘मिस्टर गे हेण्डसम’ समेत रहेका अधिकारीले भने, ‘सधैँ मानव केन्द्रित राजनीति गर्दा प्रकृति उपेक्षित भयो। हामी मानवसँगै वातावरण र प्रकृतिलाई केन्द्रमा राखेर राजनीति गर्छौँ।’
प्रकृतिलाई बेवास्ता गर्दा प्राकृतिक प्रकोपहरू बढ्दै गएको उनको भनाइ छ। ‘सरसफाइ छैन, वातावरण अस्तव्यस्त छ। जीवजन्तुतर्फ हाम्रो ध्यान पुगेको छैन,’ उनले भने, ‘जेनजी आन्दोलनपछि समाजमा राजनीतिक चेतना बढेको छ। भोट किन र कसलाई दिने भन्ने मन्थन सुरु भएको छ।’
उनले समावेशी समाजवादी पार्टीलाई भोट दिएर विजयी गराउन अपिल गरे। राज्यको पहुँचबाहिर रहेका अल्पसङ्ख्यक, सीमान्तकृत महिला, दलित, अपाङ्ग, अन्य अल्पसङ्ख्यक तथा यौनिक र लैङ्गिक अल्पसङ्ख्यकलाई राज्यको मूलधारमा ल्याउन सक्ने वातावरण बनेको भन्दै यस पटक भोट दिएर जिताउन उनले अनुरोध गरे।
समानुपातिक उम्मेदवार तथा केन्द्रीय सदस्य सिमोन तामाङले फागुन २१ गते हुने चुनावका लागि गाउँगाउँ र टोलटोलमा भोट माग्न पुग्ने बताए। ‘नेपालमा पहिलो पटक खोलिएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पार्टीले हामीजस्ता व्यक्तिहरूलाई अगाडि ल्याउने काम गरेको छ,’ उनले भने।
गाउँ समाज बाहिरबाट राम्रो देखिए पनि भित्र अझै अवहेलना र भेदभाव कायमै रहेको उनको भनाइ छ। ‘मुखले गर्छु भन्ने हुन्छ, कानुनमा ल्याइए पनि समाज सुधारिएको छैन,’ उनले भने, ‘त्यो सुधारका लागि हामी सक्षम छौँ।’
‘हामी सबै भिन्न, हामी सबै समान’ भन्ने नारासहित एक पटक मौका दिन आग्रह गर्दै उनले श्रीवत्स अनन्त गाँठो चिन्हमा मत दिन आव्हान गरे। ‘तपाईँको भोट खेर जान दिने छैनौँ,’ उनले भने।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.