काठमाडौँ – नेपाली कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिहरूले सभापति शेरबहादुर देउवाको उपस्थिति बिना नै विशेष महाधिवेशन आयोजना गरेका छन्। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जोखिम मोल्दै महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन आयोजना गरिछाडेका हुन्।
काठमाडौँको भृकुटीमण्डप भरिभराउ बनाउँदै गगन र विश्वले ‘पेलेरै जाने’ सभापति देउवालाई नेतृत्व छोड्न पटक–पटक गरिएको आग्रह स्मरण गराएका छन्। विशेष महाधिवेशन माग गरिएको तीन महिनाभित्र महाधिवेशन गरिनुपर्ने भए पनि संस्थापन पक्षले नियमित महाधिवेशनको मिति तोकेर वैशाखमा पुर्याएपछि गगन र विश्वले पार्टी केन्द्रीय कार्यालयको अधिकार प्रयोग गर्दै विशेष महाधिवेशनको आयोजना गरेका हुन्।
सभापति देउवा, संस्थापनइतर समूहका नेता शेखर कोइरालासहितका कार्यसमितिका अधिकांश नेतृत्व महाधिवेशनमा अनुपस्थित रहे। तर देउवा र कोइराला निकट महाधिवेशन प्रतिनिधि र नेताहरू भने महाधिवेशनमा सहभागी भए। साँझ अबेरसम्म मोबाइलको लाइट बालेर कांग्रेसका प्रतिनिधिहरूले विश्व र गगनको भाषण सुने।
महाधिवेशन स्थलको बस्ने शैलीसमेत यसपटक फरक देखियो। नेताहरू सोफा वा कुर्सीको सट्टा चकटीमा बसे भने मञ्चभन्दा तल रहेका सहभागीहरूका लागि कुर्सीको व्यवस्था गरिएको थियो। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेका थिए।
देशभरबाट आएका कांग्रेस प्रतिनिधिहरूले भृकुटीमण्डप गुञ्जायमान बनाइरहँदा सभापति देउवा भने निवासमै आफू निकटका नेताहरूसँग छलफलमा जुटेका थिए। विशेष महाधिवेशनमा उपस्थित भएर आफ्नो राजनीतिक यात्राको उत्तरार्धमा पहिलो पटक पार्टी फुटाएको अपजसबाट मुक्त हुने अवसर देउवाले गुमाएको टिप्पणीसमेत हुन थालेको छ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पारे।
“कांग्रेस दास र लासको पार्टी होइन। हामी सबै बराबर छौँ। कसैले नबोल भनेर नबोल्ने होइन। जसले प्रश्न नसोध भन्छ, उसले जवाफ पनि दिन सक्दैन,” थापाले भने।
महामन्त्री थापाले कांग्रेसप्रति जनताको भरोसा अझै कायम रहेको उल्लेख गर्दै अहिले चुनावभन्दा बढी व्यवस्था, संविधान र जनताको भरोसा जोगाउनु आवश्यक रहेको बताए। “चुनाव आउँछ–जान्छ, जितिन्छ–हारिन्छ। अहिले सिस्टम र संविधान जोगाउनुपर्ने छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने छ,” थापाले भने।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्राकेस्रा) केलाएर छलफल गरिने बताए।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा सङ्कलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट महाधिवेशन हेरिरहेका नागरिकलाई सम्बोधन गर्दै कांग्रेसले जनअसन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने स्पष्ट पारे।
“कसैले लाइभ, कसैले युट्युबमार्फत हेर्दै हुनुहुन्छ। तपाईँहरू प्रत्येकका असन्तुष्टिलाई केस्राकेस्रा, बुँदाबुँदामा केलाएर कांग्रेसको महाधिवेशनमा छलफल गर्नेछौँ, पहिचान गर्नेछौँ,” शर्माले भने, “फागुन २१ गते रूख चिन्हमा मतदान हुनुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, नदोहोर्याउने सङ्कल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दैछौं।”
महामन्त्री शर्माले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिक सन्तुष्टि कायम हुन नसकेको उल्लेख गरे। सरकार परिवर्तनले सत्तामा पुगेकालाई त सन्तुष्टि मिलेको हुनसक्ने तर आम नागरिकले अनुभूति गर्न नसकेको उनको भनाइ थियो।
“३४ वर्षमा ३० वटा सरकार बनाउँदा सन्तुष्टि प्रधानमन्त्री बन्नेहरूलाई मिल्यो होला, नागरिकलाई मिलेन,” उनले भने, “प्रशासनिक कार्यालयमा सेवा लिन गएका सेवाग्राही कोठाबाट अर्को कोठा धाइरहनु पर्छ। ‘भोलि–भोलि’ भनिँदा सिडिओ वा मन्त्रीलाई सन्चो लाग्ला, सेवाग्राहीलाई लाग्दैन।”
कृषि क्षेत्रमा देखिएको समस्यातर्फ सङ्केत गर्दै शर्माले मल नपाएर खेतमै अलमलिएका किसानले मन्त्रीको अनुहार सम्झेर खेती हुने मान्यता नस्विकार्ने टिप्पणी गरे। यस्ता असन्तुष्टिका उदाहरणहरू धेरै रहेको र तिनलाई विशेष महाधिवेशनको बन्दसत्र प्रतिवेदनमा विस्तृत रूपमा प्रस्तुत गरिने उनले जानकारी दिए।
महामन्त्री शर्माले विशेष महाधिवेशनलाई केवल सङ्गठनात्मक अभ्यास नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.