निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सर्वोच्चको फैसलाले भुटानी अधिकारवादी उत्साहित

सर्वोच्चको फैसलाले भुटानी अधिकारवादी उत्साहित

45
SHARES

दहेग- भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि गठित विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले नेपालको सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ। उक्त फैसलाले नेपालमा रहेका शरणार्थीहरूलाई तेस्रो मुलुकमा पुनर्वासबाट रोक्न नपाइने र उनीहरूलाई अध्यागमन कानुन अन्तर्गत साधारण विदेशी नागरिक सरह व्यवहार गर्न नमिल्ने स्पष्ट पारेको छ।

सर्वोच्च अदालतले (जनवरी २०२६ मा) उक्त फैसला सार्वजनिक गरेको हो। अदालतले अध्यागमन उल्लङ्घन र जरिवाना नतिरेको आरोप लगाउँदै झापाको बेलडाँगी शरणार्थी शिविरमा बसोबास गर्ने एक भुटानी शरणार्थी परिवारलाई क्यानडा जानबाट रोकेको गृह सचिवस्तरीय निर्णय उल्ट्याएको छ। अदालतले मान्यता प्राप्त शरणार्थीहरूलाई म्याद सकिएका परिचयपत्र वा निर्धारित अवधि नाघेर बसोबास गरेको कारण दण्डित गर्न नमिल्ने स्पष्ट गरेको छ। विशेषगरी सन् २०१६मा पुनर्वास कार्यक्रम स्थगित भएपछि यस्तो दण्ड अन्याय पूर्ण हुने अदालतले ठहर गरेको छ। साथै, यात्रामा अवरोध पुर्‍याउँदा शरणार्थीहरूको जीवन नै जोखिममा पर्न सक्ने अदालतले जोड दिएको छ।

सर्वोच्च अदालतले शरणार्थीहरूका लागि तीन वटा वैधानिक विकल्प पुनः स्पष्ट गरेको छ:

(१) अवस्था अनुकूल भए स्वैच्छिक रूपमा स्वदेश फर्कने,

(२) स्थानीय रूपमा एकीकरण हुने, वा

(३) तेस्रो मुलुकमा पुनर्वास हुने।

यदि शरणार्थीहरू स्वदेश फर्कन वा स्थानीय रूपमा एकीकरण हुन नसक्ने अवस्थामा छन् भने राज्यले यी समाधानहरू सहज बनाउनुपर्ने अदालतको निर्देशन छ।

जीसीआरपीपीबीका अनुसार सन् २०१६ सम्म आठ वटा देशमा १लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी पुनर्वास भइसकेका छन्। तर पूर्वी नेपालका दुई शरणार्थी शिविरमा अझै ६,५०० भन्दा बढी शरणार्थीहरू बसिरहेका छन्। ती मध्ये धेरैले सम्मानजनक स्वदेश फिर्ती, परिवार पुनर्मिलन वा वैकल्पिक पुनर्वास मार्गको खोजी गरिरहेका छन्। तर भुटानसँग यो विषय नउठाउने, शरणार्थी परिचयपत्र नवीकरण नगर्ने र यात्रा कागजात जारी नगर्ने सरकारी निर्णयका कारण उनीहरू यी विकल्पबाट वञ्चित भएका छन्।

भुटानी अधिकारीहरूले पक्राउ गर्नु अघि नै शरणार्थीका रूपमा दर्ता गरेका पूर्वभुटानी राजनीतिक बन्दीहरूको अवस्था अरू गम्भीर छ। उनीहरूका परिवारका सदस्यहरू विदेशमा पुनर्वास भइसकेका छन्, तर ती व्यक्तिहरू नेपालमै शरणार्थी दर्ता वा कानुनी कागजात विना बस्न बाध्य छन्। परिणाम स्वरूप उनीहरू राज्यविहीन बनेका छन्, आधारभूत आवश्यकताबाट वञ्चित छन् परिवारसँग पुनर्मिलन गर्न असमर्थ छन्।

जीसीआरपीपीबीले नेपाल सरकारसँग भुटान फर्किन चाहने शरणार्थीहरूका लागि पूर्ण नागरिकता र मानवअधिकार सुनिश्चित हुने गरी स्वैच्छिक र सम्मानजनक स्वदेश फिर्तीका लागि अन्तर्राष्ट्रिय समर्थन तत्काल खोज्न माग गरेको छ।

छुटेका सबै शरणार्थीहरूको दर्ता ढिलाइ नगरी पुनः सुरु गर्न तथा कानुनी सुरक्षा र आवागमन सुनिश्चित गर्न परिचयपत्र र यात्रा कागजात तुरुन्त जारी गर्न माग गरेको छ।

पूर्वराजनीतिक बन्दी तथा अन्य कागजातविहीन शरणार्थीहरूलाई विदेशमा रहेका परिवारसँग पुनर्मिलन गर्न आवश्यक कागजात अत्यन्त जरुरी रूपमा उपलब्ध गराउन भनेको छ।

यस फैसलाले दशकौँ देखि चल्दै आएको भुटानी शरणार्थी सङ्कट समाधान गर्ने ऐतिहासिक अवसर प्रदान गरेको छ। यो न्याय, सुरक्षा र मर्यादा सुनिश्चित गर्ने महत्त्वपूर्ण मौका हो। जीसीआरपीपीबीले सर्वोच्च अदालतको निर्णय पूर्ण र शीघ्र रूपमा कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ। साथै, संयुक्त राष्ट्रसङ्घ, पुनर्वास देशहरू र मानवीय साझेदार सहित अन्तर्राष्ट्रिय समुदायलाई भुटानी शरणार्थीहरूका लागि दिगो र दीर्घकालीन समाधान हासिल गर्न सशक्त आर्थिक, प्राविधिक र कूटनीतिक सहयोग प्रदान गर्न पनि जीसीआरपीपीबीले आह्वान गरेको छ।

भुटानका राजनीतिक बन्दीहरूको रिहाइ, मानवअधिकार उल्लङ्घनमा जबाफदेहिता, तथा विश्वभर शरणार्थी अधिकारको संरक्षणका लागि पैरवी गर्न जीसीआरपीपीबी प्रतिबद्ध रहेको पुनः स्पष्ट गरिएको छ।

समाचार शेयर गर्नुहोस्
45
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.