निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कागजमा कार्यक्रम, वास्तविकतामा शव

कागजमा कार्यक्रम, वास्तविकतामा शव

मानसिक स्वास्थ्यको नाममा कार्यक्रम चलाउने तर सङ्कटमा परेका आफ्नै सदस्यहरूलाई एक्लै छोड्ने प्रवृत्ति संस्थागत

100
SHARES

काठमाडौँ – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय गहिरिँदो मानसिक स्वास्थ्य सङ्कटबाट गुज्रिरहेका बेला फेरि एक अनमोल जीवन गुमाउनुपरेको शोकमा डुबेको छ।

पछिल्लो समय समुदायभित्र एकपछि अर्को गर्दै आइरहेका मृत्युका घटनाले यो सङ्कट केवल व्यक्तिगत समस्या नभएर संरचनागत बेवास्ता र संस्थागत असंवेदनशीलताको परिणाम भएको पीडित समुदायको गुनासो छ।

धेरै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरू परिवारको साथविना, सुरक्षित रोजगारीको अवसरविना र जीवनको आधारभूत सुरक्षाविनै बाँच्न बाध्य छन्। समुदायका अनुसार बहिष्करण, गरिबी, सडकको जीवन, चिकित्सकीय निगरानीबिनाको हर्मोन उपचार, मदिरा तथा लागूऔषधमा निर्भरता, यी सबै व्यक्तिगत कमजोरी होइनन्, बरु समुदायलाई निरन्तर उपेक्षा गर्दै आएको समाज र राज्य संरचनाको प्रत्यक्ष परिणाम हुन्।

लिङ्ग परिवर्तनका लागि हर्मोन प्रयोग गर्न उक्साउने सङ्गठित संस्थाहरू सक्रिय, सरकारी निकायको अनदेखा

समुदायको अहिलेको सबैभन्दा ठुलो आवश्यकता भनेको उनीहरूको यथार्थ पीडा बुझ्ने चिकित्सक, पहुँचयोग्य तथा भरोसायोग्य परामर्श सेवा, दीर्घकालीन उपचार, पुनर्स्थापना, र मानसिक स्वास्थ्य सङ्कटमा रहेका व्यक्तिहरूका लागि मर्यादित जीविकोपार्जनको स्थायी व्यवस्था हो। तर दुःखद तथ्य के छ भने, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हकमा यी आधारभूत आवश्यकताहरू अझै पनि कागजमै सीमित छन्।

यही कारणले गर्दा, धेरै गैरसरकारी संस्थाका नेतृत्वद्वारा सञ्चालन गरिएका मानसिक स्वास्थ्य कार्यक्रम सतही र देखावटी मात्र भएको समुदायकै सदस्यहरू बताउँछन्। यी कार्यक्रम वास्तविक आवश्यकतासँग विच्छेद भएका छन्। अर्कोतर्फ, राज्य संयन्त्र अझै पनि आँखा चिम्लेर बसेको छ। यही खाली ठाउँमा चुपचाप र बारम्बार समुदायका जीवनहरू गुमिरहेका छन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका एक सदस्य गणेशको निधनले समुदायलाई गहिरो चिन्ता र आक्रोशमा पुर्‍याएको छ। गणेशको अन्तिम समयमा उपचारका लागि खर्च जुटाउनुपर्ने अवस्था आयो। सामाजिक सञ्जालमार्फत बाबु दुमी राईले सहयोगी मनहरूलाई धन्यवाद दिँदै, अन्तिम घडीमा साथ दिनेहरूकै भरमा अस्पतालमा लागेको उपचार खर्च सम्भव भएको उल्लेख गरेका छन्।

पहिलो संविधानसभाका समलिङ्गी सभासद् सुनिल बाबु पन्तका अनुसार, निस्वार्थ रूपमा गणेशसँग अन्तिम समयसम्म मायाको पहिचान नेपाल, चिलपिल जोन, बाबु दुमी राई र सुरेन्द्र पाण्डे उभिनु साँचो सक्रियताको उदाहरण हो। पन्तले कठिन परिस्थितिमा उपचारमा छुटको व्यवस्था गरिदिएको ग्रिन सिटी हस्पिटललाई पनि धन्यवाद दिएका छन्। उनका अनुसार व्यक्तिगत रूपमा सहयोग जुटाउन योगदान दिने समुदायका सदस्यहरूको ऐक्यबद्धता शब्दभन्दा धेरै अर्थपूर्ण छ।

तर, प्रश्न यहीँ समाप्त हुँदैन।

गणेशले अन्तिम क्षणभन्दा धेरै पहिलेदेखि नै माया र उपचार पाउनुपर्ने थियो। उनी मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको निल हिरा समाज, अर्थात् ब्लु डायमन्ड सोसाइटीमा नै कार्यरत थिए। तर, सिन्डिकेट र यथास्थितिवादी नेतृत्वका कारण गणेशजस्ता पीडित सधैँ छायामा पारिने गरेको समुदायका सदस्यहरूको आरोप छ।

समुदायकै सदस्य गणेशजस्ता व्यक्तिहरूका लागि ब्लु डायमन्ड सोसाइटीको नेतृत्वले कहिल्यै गम्भीर सहयोग नगरेको गुनासो अहिले सामाजिक सञ्जालमा खुलेर व्यक्त भइरहेका छन्।

समुदायका सदस्यहरूले सोसाइटीको अवसरवादी र निर्दयी नेतृत्व भने नयाँ वर्षको बहानामा हरेक वर्षजस्तै यस वर्ष पनि पोखरा नगरीमा ‘मानसिक स्वास्थ्य कार्यक्रम’ आयोजना गर्दै रमाइलो गर्दै बजेट खर्च गरेको आरोप लगाएका छन्। पोखरामा चार दिन गरेका गतिविधिको सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोस्ट गर्दै सोसाइटीले मानसिक स्वास्थ्य केवल मनोसामाजिक परामर्श र औषधिमा सीमित हुँदैन भन्दै रोकथाम, कल्याण, खुसी, आत्म–अभिव्यक्ति, सामाजिक सम्बन्ध र उपचारात्मक वातावरणसमेत समावेश हुने दाबी गरेको छ।

“जब समुदाय खुसी, सुरक्षित र सशक्त महसुस गर्छ, तब यो लगानी अर्थपूर्ण हुन्छ,” भनी ब्लु डायमन्ड सोसाइटीले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ।

तर समुदायले देखिरहेको वास्तविकता ठिक उल्टो रहेको गुनासो छ। समुदायका व्यक्तिहरू माया र उपचार नपाएर मर्ने अवस्थामा पुग्दा समेत सहयोग नगर्ने, तर बाहिरका सहर र पर्यटकीय गन्तव्यमा कार्यक्रम आयोजना गरेर आत्मप्रचार गर्ने ब्लु डायमन्ड सोसाइटीको नियतप्रति गम्भीर प्रश्न उठेका छन्।

समुदायका सदस्यहरूका अनुसार, मानसिक स्वास्थ्यको नाममा कार्यक्रम चलाउने तर सङ्कटमा परेका आफ्नै सदस्यहरूलाई एक्लै छोड्ने प्रवृत्ति संस्थागत भएको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नाममा काम गर्ने भन्दै व्यक्तिगत स्वार्थमा केन्द्रित नेतृत्व अहिले अभियन्ताहरूको आलोचना र गालीगलौजको केन्द्रमा पुगेको छ। समुदायका सदस्यहरूको आवश्यकता देखाएर अनियमितता गर्ने र आफ्नै स्वार्थ सिद्ध गर्ने प्रवृत्तिका कारण यसअगावै पनि समुदायका सदस्यहरूले अकालमै ज्यान गुमाउनुपरेको आरोप लगाइएको छ।

चिकित्सकीय निगरानीबिनाको हर्मोन सेवनका कारण केही व्यक्तिको मृत्यु भएको तथ्य समुदायले स्मरण गरिरहेको छ। ‘व्यक्तिको ज्यान बचाउने’ नाममा कार्यक्रम सञ्चालन गर्ने तर दीर्घरोगी बनाउने अभियान चलाइरहेको ब्लु डायमन्ड सोसाइटीमाथि राज्यका निकायहरूले अनुगमन नगर्दा दादागिरी मौलाएको समुदायको गुनासो छ।

एक समय समुदायलाई केही परिहालेमा अगाडि सर्ने ब्लु डायमन्ड सोसाइटीको नेतृत्व आज मानवीयता प्रदर्शन गर्न चुकेको आरोप खेपिरहेको छ। उपचारका लागि अस्पतालसम्म पुग्न नसकेका समुदायका सदस्यहरू सडकमै ज्यान गुमाउने अवस्थामा पुगेको जानकारी प्रशासनलाई गराउँदा समेत कुनै चासो नदेखाइएको गुनासो समुदायका सदस्यहरूले गरेका छन्।

गणेशको मृत्यु केवल एउटा घटना होइन।

यो राज्य, समाज, र समुदायका नाममा काम गर्ने संस्थाहरू सबैका लागि गम्भीर चेतावनी हो। यदि मानसिक स्वास्थ्यलाई कार्यक्रम र बजेटको विषय मात्रै बनाइरहियो भने, यस्ता जीवनहरू चुपचाप गुमिरहनेछन्।

समाचार शेयर गर्नुहोस्
100
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.