निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

डिजिटल हिंसामाथि केन्द्रित “स्वतन्त्र पाइला” नाटक प्रदर्शन

डिजिटल हिंसामाथि केन्द्रित “स्वतन्त्र पाइला” नाटक प्रदर्शन

204
SHARES

पोखरा – लैङ्गिक हिंसा सम्बन्धी कानुनी सचेतना अन्तर्गत डिजिटल हिंसामा आधारित कचहरी नाटक “स्वतन्त्र पाइला” देशका विभिन्न स्थानमा मञ्चन भएको महिला कानुन र विकास मञ्चले जनाएको छ।

मञ्चका अनुसार बाँके, दाङ, रुपन्देही, पर्सा, मकवानपुर, गोरखा, कास्की गरी ७ ओटा जिल्लाका २१ स्थानहरूमा नाटक प्रदर्शन गरिएको छ। महिला कानुन र विकास मञ्च काठमाडौँको आयोजनामा मालिका मिडियाले नाटक तयार पारेको उल्लेख गरिएको छ।

नाटकको लेखन तथा निर्देशन रविन तामाङले गरेका हुन्। नाटकमा दिवाकर घिमिरे, दिपमाला परियार, आरुष मगर, अस्मिता ढकाल, निस्वम थापा मगर, सुरेन्द्र क्षेत्री, रविन तामाङ लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

डिजिटल माध्यमबाट हुने महिला तथा बालिकामाथिको हिंसा, त्यसका असर, कानुनी पक्ष र आत्मसशक्तिकरणका विषयमा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न जिल्लाहरूमा नाटक प्रदर्शन गरिएको महिला कानुन र विकास मञ्चका अधिवक्ता बिनु लामाले बताइन।

“अहिलेको पुस्ता डिजिटल युगमा प्रवेश गरेको भए पनि समाजमा अझै पितृसत्तात्मक सोच हट्न सकेको छैन। एकातर्फ समाजका कतिपय ठाउँमा घरेलु महिला हिंसा त छँदै छ, अर्कोतर्फ डिजिटल माध्यमबाट पनि झन् हिंसाका घटनाहरू बढिरहेका छन्। जसले गर्दा मानसिक दबाब तथा आत्महत्याका घटनाहरू पनि भइरहेका छन्।”

जसलाई रोक्नु तथा न्यूनीकरण गर्नु आजको अपरिहार्यता भएको कारण कचहरी नाटक प्रदर्शन गरिएको मञ्चका अधिवक्ता लामा बताउँछिन्।

नाटकले समाजमा अहिले विद्यमान समस्यालाई उठाउनुका साथै त्यसको नियन्त्रणका लागि लैङ्गिक र डिजिटल हिंसाविरुद्ध सचेतना दिने प्रयास गरेको मञ्चको दाबी छ। प्रत्येक जिल्लामा ३ सो गरेर लगभग ५ हजार बढी दर्शकहरूको बिचमा नाटक प्रदर्शन गरिएको कार्यक्रमको संयोजक तथा रङ्गकर्मी सुरेन्द्र क्षेत्री सुनाउँछन्।

नाटकमा लैङ्गिक हिंसाका घटना, साइबर अपराध, सामाजिक सञ्जालको दुरुपयोग, छोराछोरीमा विभेद जस्ता विभिन्न समस्याका बारेमा जानकारी तथा सोको कानुनी उपचार लगायतका बारेमा जनचेतना अभिवृद्धि गरिएको भनिएको छ। नाटकले पीडित महिलाको न्याय, कानुनी उपचार खोज्ने तथा हिंसाविरुद्ध आवाज उठाउन उत्प्रेरणा दिएको निर्देशक रविन तामाङ बताउँछन्।

समाचार शेयर गर्नुहोस्
204
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.