काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
उनका अनुसार निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले निर्वाचन आचारसंहिता बनाई लागू गरेको हो।
निर्वाचन आयोगले आचार संहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले बालुवाटारमा आयोजित एक कार्यक्रममाझ यो जानकारी दिएको हो।
आयोगका तर्फबाट आचारसंहिताबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो। जसअनुसार, निर्वाचन आचारसंहिता राति १२ बजेबाट लागू हुनेछ। आयोगको आइतबार बसेको बैठकले निर्वाचन आचारसंहिता राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए।
निर्वाचनमा उम्मेदवारी दर्ता गराउन १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ। निर्वाचन आयोगले सूचना प्रकाशित गरी उम्मेदवारी दर्ता गर्न आवश्यक कागजातबारे जानकारी दिएको हो। सूचनाअनुसार उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने उल्लेख गरिएको छ।
तर महिला, दलित, अल्पसङ्ख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारले ५ हजार रुपैयाँ मात्र धरौटी राख्नुपर्नेछ। आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा सम्बन्धित स्थानीय तहबाट सिफारिस पत्र ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
प्रतिनिधिसभा सदस्यका लागि माघ ६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ तथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिमका कागजात पेस गर्नुपर्नेछ।
उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, साथै कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ।
उम्मेदवारी दिँदाको समयमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा ती सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको, वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति भएमा, त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पेस गर्नुपर्ने व्यवस्था छ।
उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची ११ बमोजिमको प्रतिनिधि मुकरर फाराम भरिनुपर्नेछ।
प्रचलित कानुन बमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहिछाप गरेको मनोनयनपत्र पेस गर्नुपर्नेछ।
दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको, प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची ७ बमोजिमको औपचारिक मनोनयन पत्र पेस गर्नुपर्नेछ।
तर एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा अनुसूची ८ बमोजिमको औपचारिक मनोनयन पत्र पेस गर्नुपर्नेछ।
उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्नेछ।
तर महिला, दलित, अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ। आर्थिक रूपमा विपन्नको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा १८ सँग सम्बन्धित अनुसूची ६ बमोजिमको स्वघोषणा पत्र पेस गर्नुपर्नेछ। साथै दफा २१ सँग सम्बन्धित अनुसूची ९ बमोजिमको ढाँचामा आफ्नो चल–अचल सम्पत्ति, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा सम्पत्ति विवरण पेस गर्नुपर्नेछ।
त्यस्तै, उम्मेदवारले दफा २२ सँग सम्बन्धित अनुसूची १० बमोजिम भरिएको वैयक्तिक विवरण फाराम पेस गर्नुपर्ने व्यवस्था छ। कुनै पनि निकायबाट पेस्की लिएको भए सो पेस्की फर्छ्यौट भएको निस्सा, तथा लेखा परीक्षणबाट किटानी रूपमा असुल उपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फर्छ्यौट गरेको निस्सा समेत पेस गर्नुपर्नेछ।
यसका अतिरिक्त उम्मेदवारले निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची ३ बमोजिमको प्रतिबद्धता पत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.