ओली पराजयको लक्ष्यसहित प्रधानमन्त्री बन्ने दौडमा बालेन

ओली पराजयको लक्ष्यसहित प्रधानमन्त्री बन्ने दौडमा बालेन

205
SHARES

काठमाडौँ – राजनीतिक दलहरू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्ग्याउने क्रममै छन्। दलहरूले धमाधम टिकट दिन थालेका छन्। नेकपा एमालेले १४१ निर्वाचन क्षेत्रका लागि उम्मेदवार छनोट गरिसकेको छ।

एमाले बैठकले आगामी प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेर निर्वाचनमा जाने निर्णय गरेको छ। सोही निर्णयअनुसार ओलीले आफ्नो पुरानै क्षेत्र झापा–५ बाट निर्वाचन लड्ने तय भएको छ। प्रधानमन्त्री बन्ने लक्ष्यसहित ओली चुनावी तयारीका साथ झापा पुगेका छन् र चुनावी प्रचारमा सक्रिय छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई उम्मेदवार बनाउने तयारी गरेको छ। प्रधानमन्त्री बन्ने राजनीतिक हुटहुटीसहित केन्द्रीय राजनीतिमा होमिएका बालेनले उम्मेदवार बन्नका लागि काठमाडौँ महानगर मेयर पदबाट राजीनामा दिएका छन्। राजीनामा दिएसँगै उनी चुनावी प्रचारका लागि जनकपुर पुगेका छन्।

झापा–५ मा पूर्वप्रधानमन्त्री ओलीलाई प्रत्यक्ष रूपमा पराजित गर्ने लक्ष्यसहित बालेन शाहले सामाजिक सञ्जालबाट आक्रामक प्रचारप्रसार थालेका छन्। बालेनले चुनावी प्रचारलाई प्रभावशाली र चर्चित बनाउन भाइरल बन्ने अभियान सुरु गरेका छन्।

सोमबार बिहानै जनकपुरधामको दर्शन गरी उनी ‘परिवर्तन उद्घोष सभा’ मा सहभागी भएका छन्, जसलाई उनका समर्थकहरूले राष्ट्रिय राजनीतिमा प्रवेशको सङ्केतका रूपमा व्याख्या गरिरहेका छन्।

ओली र बालेनबीच झापा–५ मा कडा भिडन्त हुने चर्चा तीव्र भइरहेका बेला, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ। अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तथा झापाका स्थानीय तामाङलाई झापा–५ बाट उम्मेदवार बनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

नेपाली कांग्रेसको संसदीय बोर्ड उम्मेदवार चयनका लागि छलफलमा जुटेको छ। सभापति गगन थापा नेतृत्वमा रहेको संसदीय बोर्डले छलफल गरेर उम्मेदवार टुङ्गो लगाउने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

रास्वपाले उपसभापति स्वर्णिम वाग्ले नेतृत्वमा समिति गठन गरी उम्मेदवार चयनको छलफल गरिरहेको जनाएको छ। प्रत्यक्षतर्फको उम्मेदवार बन्ने उद्देश्यसहित सुदन गुरुङ रास्वपा प्रवेश गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि उम्मेदवार टुङ्ग्याउने प्रक्रिया अघि बढाइरहेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालसहितका नेताहरू पार्टी एकीकरणपश्चात् आएका सिफारिसका आधारमा उम्मेदवार छनोट गर्दै टिकट वितरण गरिरहेका छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने घोषणा गरेका डा. बाबुराम भट्टराई भने गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट भट्टराई उम्मेदवार बन्न लागेका हुन्।

समाचार शेयर गर्नुहोस्
205
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.