निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवारलाई समर्थन गर्न सबै दलसँग अपिल

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवारलाई समर्थन गर्न सबै दलसँग अपिल

218
SHARES

काठमाडौं – समावेशी समाजवादी पार्टीले देशभर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसहित पछाडि परिएका समुदायबाट उम्मेदवारहरू घोषणा गरेको छ।

सोमबार काठमाडौँको संवाद डबलीमा आयोजित कार्यक्रममा पार्टीले अधिकार सुनिश्चितताको लागि सबै राजनीतिक दलहरूलाई आफ्ना उम्मेदवारहरूलाई समर्थन गर्दै सर्वसम्मत विजयी गराउन आग्रह गरेको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवारहरूले आफ्नो जीवनको लामो समय सङ्घर्ष, बहिष्कार र पहिचानका लागि लड्दै आएको उल्लेख गरे।

आफूहरूले देखेको, भोगेको र सिकेको अनुभवले अझ बलियो बनाएको बताउँदै उनीहरूले आफूहरूको उम्मेदवारी कसैको विरुद्धमा नभई समुदायको अधिकार र पहिचानका लागि भएको स्पष्ट पारे।

इतिहासमा भोगिएको असमानता र बहिष्कारको अन्त्य गर्दै समुदायलाई लोकतन्त्रमा समान रूपमा समेट्नु नै मुख्य उद्देश्य रहेको उनीहरूको भनाइ छ।

उम्मेदवारहरूले पहिलो संविधानसभा सदस्यका रूपमा सुनिल बाबु पन्त संसद् पुगेयता आजसम्म लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट कोही पनि संसदमा नपुगेको स्मरण गराए। यो केवल प्रतिनिधित्वको अभाव मात्र नभई जीवन, अधिकार, अस्तित्व र भविष्यसँग जोडिएको गम्भीर अन्याय भएको उनीहरूले उल्लेख गरे।

कार्यक्रममार्फत उम्मेदवारहरूले सबै राजनीतिज्ञ र पार्टी नेताहरू (गगन थापा, रवि लामिछाने, बालेन शाह, पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली, कुलमान घिसिङ, राजेन्द्र लिङ्देनजस्ता नेताहरू)सँग आफ्ना उम्मेदवारीलाई समर्थन गर्न अपिल गरे।

“तपाईँहरूको सहयोग बिना हाम्रो समुदाय लोकतन्त्रमा समावेशी हुन सक्दैन,” उनीहरूले भने, “तपाईँहरूको समर्थनले मात्र हामी एकसाथ लोकतन्त्र र समावेशिताको बलियो आधार निर्माण गर्न सक्छौँ।” उनीहरूले आफ्ना उम्मेदवारी पितृसत्तात्मक संरचनाविरुद्ध तथा समानता र न्यायको पक्षमा रहेको उल्लेख गर्दै अग्रणी महिला नेतृहरूसँग पनि सहयोगको हार्दिक अनुरोध गरे।

पार्टीका संरक्षक तथा पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले देशभर पहिचान खुलाएका तथा नखुलाएका लाखौँ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकहरूलाई समानुपातिकतर्फ समावेशी समाजवादी पार्टीको चुनाव चिन्ह ‘श्रीवत्स’मा मतदान गर्न आग्रह गरे।

लामो सङ्घर्षपछि पार्टी स्थापना गरेर चुनाव लड्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले भने, “यो चुनावको समानुपातिक मत परिणामले हाम्रो अनौपचारिक जनगणना हुने छ, जसले हाम्रो राजनीतिक उपस्थितिलाई थप बलियो बनाउनेछ।”

पार्टी अध्यक्ष नुमा लिम्बु ‘चञ्चला’ले आफू मोरङ क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन लड्ने जानकारी दिइन्। आफूहरूका प्रतिस्पर्धी वास्तवमा अरू कोही नभएकाले सबै राजनीतिक दलहरूले सहयोग गर्नुपर्ने उनको भनाइ थियो। उनले एमाले, काँग्रेस, नेकपा, रास्वपासहित सबै दललाई आफ्ना उम्मेदवारीलाई समर्थन गर्न अपिल गरिन्।

रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार दिएका देवेन्द्र बहादुर खत्रीले लामो सङ्घर्षका कारण आज समाजमा स्वतन्त्र रूपमा हिँड्न सक्ने अवस्था बने पनि पूर्ण अधिकार प्राप्तिका लागि चुनावमा सहभागी भएको बताए।

नेपालमा पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी परम्परागत तथा पितृसत्तात्मक सोच र व्यवहारविरुद्ध केन्द्रित रहेको बताए। उनले आफू काठमाडौं क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवारी दिएको र सबै दललाई समर्थनका लागि अपिल गरेको जानकारी दिए।

काभ्रे क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवार विनोद लामा (कोनिका)ले पुराना राजनीतिक शक्तिहरूले लैङ्गिक अल्पसङ्ख्यकका मुद्दा बेवास्ता गरेकाले छुट्टै पार्टी बनाएर चुनाव लड्नुपरेको बताइन्।

काठमाडौं क्षेत्र नम्बर १० बाट प्रत्यक्ष उम्मेदवारी दिएका पूर्णचन्द्र पौडेलले उत्पीडित तथा सीमान्तकृत समुदायको दबाइएका आवाजलाई बुलन्द गर्न आफ्नो उपस्थिति अनिवार्य भएको बताए।

पार्टीकी समानुपातिक उम्मेदवार दृष्टिविहीन–समलिङ्गी महिला प्रतीक्षा चापागाईँले आफूजस्ता व्यक्तिहरू संसदमा पुगेर आफ्ना अधिकार कानुनमा लिपिबद्ध गर्न समावेशी प्रतिनिधित्व अत्यावश्यक रहेको बताइन्।

समावेशी समाजवादी पार्टीका महासचिव मनिन्द्र सिं दनुवारले सबै दलका नेताहरूसँग पार्टीका उम्मेदवारहरूलाई सर्वसम्मत विजयी गराउन अनुरोध गरे।

उनले समावेशी क्लस्टरअनुसार १५ जना समानुपातिक उम्मेदवार निर्वाचन आयोगमा दर्ता भइसकेको र ६ जना प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्ने जानकारी दिए। त्यसैगरी ओखलढुङ्गा क्षेत्रबाट पिङ्की राईले प्रत्यक्षतर्फ निर्वाचन लड्ने जनाकारी पनि उनले दिए।

समाचार शेयर गर्नुहोस्
218
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.