काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देश चुनावमय बनेको छ। उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन तालिका कुनै पनि हालतमा नसर्ने स्पष्ट सन्देशसहित आयोगले तोकिएको कार्यक्रमअनुसार प्रक्रिया अघि बढ्ने जनाएको छ।
आयोगका अनुसार मङ्गलवार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। सोही दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ।
कुनै पनि कारणले मनोनयनपत्र दर्ताको कार्यक्रम नसर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्। उम्मेदवारी दिने निर्वाचन क्षेत्रमा स्वयं पुग्न नसक्ने उम्मेदवारका हकमा समर्थक वा प्रस्तावकमार्फत पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए।
आयोगका अनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ। माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुकी ५ बजेसम्म मनोनयनपत्र तथा प्राप्त उजुरीउपर जाँचबुझ एवं निर्णय गरिनेछ। सोही दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय तोकिएको छ। माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
देशभरका ७७ मुख्य निर्वाचन अधिकृतका कार्यालय तथा ७७ निर्वाचन अधिकृतका कार्यालयमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ वा छैन भनी रुजु गर्न आवश्यक सबै सामग्री पुगिसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
यसपटक आयोगले निर्वाचन आचारसंहितामै उल्लेख गरेर उम्मेदवारले सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ। उक्त सम्पत्ति विवरण खामबन्दी गरी बुझाउनुपर्ने व्यवस्था गरिएको उनले स्पष्ट पारे।
उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रत्यक्षतर्फ मङ्गलवार हुने मनोनयनपत्र दर्ताका क्रममा उम्मेदवारको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि तथा कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य रूपमा पेस गर्नुपर्ने आयोगले जनाएको छ।
उम्मेदवारी दिँदा यदि उम्मेदवार सङ्घीय, प्रदेश वा स्थानीय सरकार तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको अथवा तीनै तहका सरकारबाट अनुदान प्राप्त कुनै संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए, त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि अनिवार्य रूपमा पेस गर्नुपर्ने आयोगले जनाएको छ।
आयोगले सोमबारदेखि मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। निर्वाचनसम्बन्धी कुनै जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी जानकारी लिन सकिने आयोगले जनाएको छ।
‘कल सेन्टर’ मा छवटा डेस्क स्थापना गरिएको छ, जहाँबाट एकैसाथ मतदाताका जिज्ञासाको समाधान गरिने आयोगले जनाएको छ। ‘कल सेन्टर’ मा गण्डकी प्रदेशबाट फोन गर्ने पहिलो व्यक्तिले यसअघि प्रकाशित भइसकेको लोकसेवा आयोगको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित हुन्छ वा हुँदैन भनी प्रश्न गरेका थिए।
सो विषयमा ‘कल सेन्टर’ का अधिकारीहरूले यसअघि नै तय भइसकेका परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित नहुने स्पष्ट जवाफ दिएका छन्। ‘कल सेन्टर’ बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कुनै पनि जानकारी आवश्यक भएमा वा जिज्ञासा राख्न चाहेमा उम्मेदवार विजयी भई प्रमाणपत्र नदिइएसम्म ‘कल सेन्टर’ सञ्चालनमा रहने निर्वाचन आयोगले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.