निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समावेशी समाजवादी पार्टीबाट ६ जनाले उम्मेदवारी दर्ता गराउँदै

समावेशी समाजवादी पार्टीबाट ६ जनाले उम्मेदवारी दर्ता गराउँदै

187
SHARES

काठमाडौँ – समावेशी समाजवादी पार्टीबाट प्रतिनिधिसभाको फागुन २१ गते हुन गइरहेको निर्वाचनमा ६ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउँदै छन्।

पार्टीकी अध्यक्ष तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला)ले कोशी प्रदेशको मोरङ निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवारी दर्ता गराउँदै छिन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका क्षेत्रमा क्रियाशील लिड नेपालकी कार्यकारी निर्देशक समेत रहेकी पार्टी अध्यक्ष चञ्चलाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउन लागेकी हुन्।

पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्त संरक्षक एवं सल्लाहकार रहेको समावेशी समाजवादी पार्टीबाट नुमासहित ६ जनाले उम्मेदवारी दर्ता गराउन लागेको समावेशी समाजवादी पार्टीका महासचिव मनिन्द्र सिं दनुवारले जानकारी दिए।

दक्षिण एसियामै पहिलो पटक नेपालमा समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडी मध्येका एक सुरेन्द्र पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउँदै छन्।

जेनजी युवा समेत रहेका पाण्डेले समाज परिवर्तनका लागि कानुन बनाउने ठाउँ संसदमा पुर्‍याउन काठमाडौँ निर्वाचन क्षेत्र नं १ का मतदातालाई अपिल गरेका छन्।

पाण्डे र माया गुरुङले लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा २०८० मंसिर १३ गते नेपालकै इतिहासमा पहिलो पटक समलिङ्गी विवाह दर्ता गर्न सफल भएका थिए।

मायाको पहिचान नेपालका सचिव समेत रहेका पाण्डेले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउन लागेका हुन्।

समावेशी समाजवादी पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय लोक तथा दोहोरी गायक पूर्णचन्द्र पौडेलले प्रत्यक्षतर्फ उम्मेदवार दर्ता गराउँदै छन्।

तेस्रोलिंगी अधिकारकर्मी विनोद लामा (कोनिका)ले काभ्रे निर्वाचन क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउँदै छिन्। कोनिकाले तेस्रोलिंगी पहिचानमै उम्मेदवारी दर्ता गराउन लागेको जानकारी दिइन।

रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट देवेन्द्र बहादुर खत्रीले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउँदै छन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय सुधारका अभियन्ता एवं मायाको पहिचान नेपालका उपाध्यक्ष समेत रहेका खत्रीले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउन लागेको जानकारी दिए।

ओखलढुङ्गाबाट प्रत्यक्षतर्फ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकी सदस्य पिंकी राईले उम्मेदवारी दर्ता गराउँदै छिन्।

निर्वाचन आयोगमा पहिलो पटक दर्ता भएको समावेशी समाजवादी पार्टीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अपाङ्गता भएका व्यक्ति मनोरञ्जन क्षेत्रका महिला पुरुष सबैलाई समावेश गरेर फागुन २१ को चुनावमा होमिएको पार्टीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
187
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.