काठमाडौँ – १ मा सुरेन्द्र पाण्डे, समर्थन गर्न गगन, रवि, बालेनदेखि केपी ओलीसम्मलाई अपिल

काठमाडौँ – १ मा सुरेन्द्र पाण्डे, समर्थन गर्न गगन, रवि, बालेनदेखि केपी ओलीसम्मलाई अपिल

281
SHARES

म सुरेन्द्र पाण्डे, एक समलिङ्गी पुरुष, (र नेपालको पहिलो जोडीमध्ये एक, जसले समान–लिङ्ग विवाह दर्ता गरेका छौँ) आफ्नो जीवनको लामो समय अधिकार, पहिचान र समानताको लागि लडेको छु। यी वर्षहरूमा मैले भोगेका चुनौती, सङ्घर्ष र अनुभवहरूले मलाई अझ बलियो बनाएको छ। आज म समावेशी समाजवादी पार्टीको सदस्य र काठमाडौँ १ बाट प्रत्यक्ष उम्मेदवार दिन तयार भएको छु।

मेरो प्रतिनिधित्व कसैको विरुद्धमा होइन, यो हाम्रो समुदायको अधिकार, पहिचान र अस्तित्वको लागि हो। हामीले इतिहासमा भोगेको असमानता, बहिष्कार र उपेक्षाको अन्त्य गर्ने, हाम्रो समुदायलाई लोकतन्त्रमा समान रूपमा समेट्ने मेरो मुख्य उद्देश्य हो। सुनिल बाबु पन्त पहिलो संविधानसभामा पुगेपछि पनि, आजसम्म हाम्रो समुदायबाट कोही संसदमा पुगेका छैनन्। यो केवल प्रतिनिधित्वको अभाव होइन — यो हाम्रो जीवन, अधिकार र भविष्यसँग जोडिएको गम्भीर अन्याय हो।

म सबै राजनीतिज्ञ र पार्टी नेताहरूमा (गगन थापा, रवि लामिछाने, बालेन शाह, पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली, कुलमान घिसिङ, राजेन्द्र लिङ्देल जस्ता नेताहरू) मेरो हार्दिक अनुरोध गर्दछु, कि काठमाडौँ १ मा मेरो उम्मेदवारीलाई समर्थन गर्नुहोस्।

तपाईँको सहयोग बिना हाम्रो समुदाय लोकतन्त्रमा समावेशी हुन सक्दैन। तपाईँको समर्थनले मात्र हामी एकसाथ भई लोकतन्त्र र समावेशिताको बलियो आधार निर्माण गर्न सक्छौँ। मेरो उम्मेदवारी पितृसत्तात्मक संरचनाविरुद्ध, र समानता तथा न्यायको पक्षमा छ। यसैकारण, अग्रणी महिला र पुरुष नेताहरूलाई पनि सहयोगको लागि हार्दिक अनुरोध गर्दछु।

प्रिय नेताजीहरू,

काठमाडौँ १ बाट मेरो उम्मेदवारीलाई समर्थन गर्नुहोस्, हाम्रो समुदायको भविष्य, अधिकार र पहिचान सुनिश्चित गर्नुहोस्। तपाईँको सहयोगले हामी सबैको साझा सपना (समानता, समावेशिता र न्यायपूर्ण समाज) लाई साकार बनाउन मद्दत गर्नेछ।

नयाँ नेपालको नयाँ इतिहास लेख्नका लागि तपाईँहरूको सहयोग र समर्थन महत्त्वपूर्ण हुने विश्वास मैले लिएको छु।

तपाईँको विश्वास र समर्थनको अपेक्षामा,

सुरेन्द्र पाण्डे

समलिङ्गी पुरुष, सदस्य, समावेशी समाजवादी पार्टी

समाचार शेयर गर्नुहोस्
281
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.