रास्वपाका २ सहित पाँच उम्मेदवारविरुद्ध उजुरी

रास्वपाका २ सहित पाँच उम्मेदवारविरुद्ध उजुरी

259
SHARES

काठमाडौं – प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका तीन हजार ४९० उम्मेदवारमध्ये पाँच उम्मेदवारविरुद्ध मात्र उजुरी दर्ता भएको छ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा पाँच उजुरी दर्ता भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा दुई जना, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा एक जना, रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा एक जना र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एक जना उम्मेदवारविरुद्ध उजुरी परेको हो।

पाँच वटा मध्ये दुई उजुरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई उम्मेदवारविरुद्ध रहेको छ। भक्तपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजीव खत्री र सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी परेको छ।

भक्तपुर निर्वाचन क्षेत्रमा नेपाल जनसेवा पार्टीबाट उम्मेदवारी दर्ता गरेकी जानुका पाठकविरुद्ध उजुरी परेको छ। रौतहटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दर्ता गरेका पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालविरुद्ध उजुरी परेको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीविरुद्ध उजुरी परेको छ।

निर्वाचन कार्यक्रमबमोजिम उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण निर्वाचन अधिकृतले अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरिएको छ।

जसका विरुद्ध उजुरी परेको हो, सो उम्मेदवारले सूचनामा तोकिएको अवधिभित्र प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था छ। यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिने कानुनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।

बुधवार दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र तथा दर्ता भएका उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिने कार्यक्रम रहेको सूचना अधिकारी घिमिरेले बताए।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई उजुरीका आधारमा मात्र नभई आयोग आफैँले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगका आफ्नै संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी संविधान, कानून तथा निर्वाचनसम्बन्धी व्यवस्था अनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ।

उनले आयोगमा प्राप्त उजुरीको आधारमा मात्रै नभएर आयोगले स्वअध्ययन तथा अनुगमनमार्फत आचारसंहिता विपरीत कार्य गर्ने उम्मेदवार र दललाई पनि कारबाही गरिने जानकारी दिए।

घिमिरेका अनुसार निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने र उल्लङ्घन भएमा तुरुन्त कारबाही गर्ने उद्देश्यले निर्वाचन आयोगले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरसम्म अनुगमन संयन्त्रलाई सक्रिय बनाएको छ।

प्राप्त उजुरीहरूको सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट छानबिन गरी संविधान, प्रचलित कानून तथा निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाबमोजिम उम्मेदवारको योग्यता परीक्षण गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिए।

उहाँका अनुसार निर्वाचन आचारसंहिताअनुसार औपचारिक चुनावी प्रचारप्रसार फागुन ३ गतेदेखि फागुन १८ गते रातिसम्म गर्न पाइनेछ। मौन अवधि फागुन १८ गते रातिदेखि लागू हुनेछ। मौन अवधि सुरु हुनु अघि घरदैलो तथा मतदातासँग भेटघाट गर्न पाइने भए पनि जुलुस, र्‍याली र आमसभा गर्न आचारसंहिताले निषेध गरेको उनले बताए।

निर्वाचन कार्यक्रमअनुसार माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।

त्यसपछि माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।

समाचार शेयर गर्नुहोस्
259
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.