देउखुरीको भविष्य रच्न योगेन्द्र चौधरी मैदानमा

देउखुरीको भविष्य रच्न योगेन्द्र चौधरी मैदानमा

552
SHARES

दाङ – नेपाली राजनीतिमा बौद्धिक, शालीन र विकासप्रेमी नेताको पहिचान बनाएका योगेन्द्र चौधरी हाल नेपाली कांग्रेसका सह–महामन्त्री हुन्। उनी यतिबेला दाङ निर्वाचन क्षेत्र नम्बर १ को विकास र समृद्धिका लागि निर्विकल्प आशाका रूपमा अघि आएका छन्।

समाजशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास, कूटनीति र आर्थिक मुद्दाहरूमा गहिरो दख्खल राख्ने चौधरीको व्यक्तित्व जति बौद्धिक छ, उनको सामाजिक धरातल र जनसम्बन्ध त्यति नै बलियो छ। विद्यार्थी कालदेखि नै विकासप्रतिको तीव्र हुटहुटी बोकेका उनी केवल एक राजनीतिकर्मी मात्र नभएर समावेशी र दिगो विकासका प्रखर वकालतकर्ता पनि हुन्।

नेपाली समाजको कलङ्कका रूपमा रहेको कमैया र कमलरी प्रथा विरुद्धको आन्दोलनमा योगेन्द्र चौधरीको भूमिका ऐतिहासिक र रूपान्तरणकारी रह्यो। उत्पीडित समुदायको मुक्ति र अधिकारका लागि उनले सडकदेखि सदनसम्म बुलन्द गरेको प्रखर आवाजकै आधारमा आज सीमान्तकृत समुदायले मानवीय मर्यादा र स्वतन्त्रताको अनुभूति गर्न पाएका छन्।

यस आन्दोलनले शताब्दी औँ देखिको दासत्वको अन्त्य मात्र गरेन, थारु तथा अन्य पिछडिएका समुदायलाई राज्यको मूलधारमा ल्याउँदै समावेशी लोकतन्त्रको जगलाई थप मजबुत बनायो। आज मुक्त कमैया र कमलरी समुदायमा देखिएको शैक्षिक तथा आर्थिक जागरणका पछाडि चौधरीको दूरदर्शी नेतृत्व र अटुट पहलकदमीको ठूलो योगदान रहेको छ।

विकासको कार्यसूचीमा स्पष्ट दृष्टिकोण राख्ने चौधरीले २०७० सालमा समानुपातिक सांसद रहँदा राप्ती नदीमा चारवटा पक्की पुल निर्माण तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको स्थापनामा निर्णायक भूमिका निभाएर आफ्नो कार्यक्षमता प्रमाणित गरिसकेका छन्। अहिले उनी ‘समृद्ध देउखुरी’को बृहत्तर सङ्कल्पका साथ पुनः मैदानमा छन्।

नेपालगन्जसम्म हुलाकी सडक विस्तार, इमिलिया आसपास राप्ती नदीमा आधुनिक पक्की पुल निर्माण, ऐतिहासिक कोइलाबास नाकाको पुनःसञ्चालन तथा किसानलाई आधुनिक व्यवसायसँग जोड्ने उनका योजनाहरूले देउखुरीको आर्थिक मुहार फेर्ने विश्वास गरिएको छ। त्यसैगरी, लुम्बिनी प्रदेशको राजधानीलाई व्यवस्थित, सुविधासम्पन्न र हरित सहरको रूपमा विकास गर्ने स्पष्ट मार्गचित्रसहित उनी अघि बढेका छन्।

दर्जनौँ सामाजिक संस्थामार्फत देशका कुना–काप्चासम्म पुगेर सेवा गर्दै आएका चौधरीले कहिल्यै पनि राजनीतिक पूर्वाग्रह राखेनन्। आफ्ना–पराया नभनी हरेक नागरिकलाई समान दृष्टिले हेर्ने, सबै जात, धर्म र संस्कृतिलाई समेट्न सक्ने उनको उदार छविले उनलाई ‘गरिब र असहायको ढुकढुकी’को रूपमा परिचित गराएको छ।

देउखुरीवासीलाई आवश्यक पर्दा जस्तोसुकै कठिन भूगोलमा पुगेर पनि सहयोग गर्ने उनको जनमुखी स्वभाव नै उनको राजनीतिक पुँजी हो। यही बौद्धिक प्रखरता, निष्कलङ्क छवि र विकासप्रतिको समर्पणका कारण दाङ क्षेत्र नम्बर १ का जनता यसपटक उनलाई ‘रुख’ चिह्नमा मतदान गरी भारी मतले विजयी गराउन आतुर देखिएका छन्। पाँच वर्षभित्र महसुस हुने गरी परिवर्तन ल्याउने उनको यो प्रतिबद्धता नै देउखुरीको उज्ज्वल भविष्यको बलियो ग्यारेन्टीका रूपमा हेरिएको छ।

समाचार शेयर गर्नुहोस्
552
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.