मितेरीकी सुमित्रा र नागरिक उन्मुक्तिका रेशमलालको उम्मेदवारी खारेज

मितेरीकी सुमित्रा र नागरिक उन्मुक्तिका रेशमलालको उम्मेदवारी खारेज

342
SHARES

काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका दुई जनाको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि जाँचबुझ गर्दा नागरिक उन्मुक्ति पार्टी नेपालका एक र मितेरी पार्टी नेपालका एक गरी दुई जना उम्मेदवारको उम्मेदवारी खारेज गरिएको हो।

प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध दर्ता भएका उजुरीमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र आयोगले कानुनी प्रक्रिया अनुसार जाँचबुझ गरेको थियो। सोही क्रममा आवश्यक योग्यता नपुगेको र कानुनी अड्चन पुष्टि भएका दुई उम्मेदवारको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–१० मा मितेरी पार्टी नेपालका तर्फबाट मनोनयन दर्ता गरेकी ४९ वर्षीया सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ।

बस्नेतको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्ने उजुरी परेपछि गरिएको जाँचमा उक्त विवरण प्रमाणित भएपछि उनको उम्मेदवारी खारेज गरिएको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–१० को कार्यालयले जानकारी दिएको छ।

यस्तै, कैलाली निर्वाचन क्षेत्र नम्बर–१ मा नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट मनोनयन दर्ता गरेका ४८ वर्षका रेशमलाल चौधरीको उम्मेदवारी पनि खारेज गरिएको छ।

चौधरी टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति हुन्। उनी जेलमै रहँदा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। निर्वाचित भए पनि उनले सांसदका रूपमा संसद् प्रवेश गर्न पाएका थिएनन्। पछि राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका चौधरीले यसपटक पुनः उम्मेदवारी दर्ता गरेका थिए।

उजुरी परेका उम्मेदवारमध्ये पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको रौतहट निर्वाचन क्षेत्र नम्बर–१ को उम्मेदवारीविरुद्ध परेको उजुरी दाबी नपुगेको ठहर गर्दै दरपिठ गरिएको निर्वाचन आयोगले जनाएको छ। नेपालविरुद्ध पतञ्जलि योगपीठ जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।

भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री र जनसेवा पार्टीका उम्मेदवार जानुका पाठकविरुद्ध पनि उजुरी परेको थियो। यस्तै, सुनसरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी परेको थियो। यी चारै जना उम्मेदवारविरुद्ध परेका उजुरीउपर कुनै कारबाही नभएको निर्वाचन आयोगले स्पष्ट पारेको छ।

उजुरी जाँचबुझको सम्पूर्ण प्रक्रिया सम्पन्न भएसँगै निर्वाचन आयोगले उम्मेदवारहरूको नामावली प्रकाशन गरेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार शुक्रवार उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारको निर्णयपछि अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न वितरणको कार्यतालिका रहेको छ।

समाचार शेयर गर्नुहोस्
342
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.