निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘अन्य’ पहिचानका उम्मेदवार एक जना मात्रै…

‘अन्य’ पहिचानका उम्मेदवार एक जना मात्रै…

292
SHARES

काठमाडौँ– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३ हजार ४०६ जनाको सूची सार्वजनिक गरेको छ।

सार्वजनिक सूची अनुसार प्रत्यक्ष निर्वाचनमा ३ हजार ०१७ जना पुरुष, ३८८ जना महिला र १ जना मात्रै अन्य लैङ्गिक पहिचानका उम्मेदवार कायम छन्।

प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न आवश्यक १० हजार रुपैयाँ बुझाएका ८४ जना उम्मेदवार चार दिनमै उम्मेदवारी प्रक्रियाबाट बाहिरिएका छन्। राजनीतिक दलका आधिकारिक उम्मेदवारका बागीसहितका ती ८४ जनाले मैदान छाडेका हुन्। उम्मेदवारी खारेज हुनेमा रेशमलाल चौधरी र सुमित्रा बस्नेत पनि रहेका छन्।

निर्वाचन आयोगका अनुसार ३ हजार ४०६ जना प्रत्यक्ष उम्मेदवारमध्ये अन्य पहिचानसहितको उम्मेदवारी कायम रहने एक मात्र उम्मेदवार पिंकी राई हुन्। आयोगको रेकर्डमै पिंकी राईलाई अन्य लैङ्गिक पहिचानकी एक मात्रै उम्मेदवारका रूपमा सूचीकृत गरिएको छ।

तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला)को अध्यक्षतामा गठन भएको समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ। तर आयोगको अभिलेख अनुसार अन्य पहिचान उल्लेख गर्दै उम्मेदवारी दिएकी पिंकी राई मात्रै पहिचानसहितको उम्मेदवारकाे सूचीमा कायम रहेकी छन्।

अन्य पहिचान उल्लेख गरिएकी पिंकी राईले पनि उम्मेदवारी शुल्कमा आधा छुट पाइन्।

समावेशी समाजवादी पार्टीकी अध्यक्ष नुमा लिम्बु (चञ्चला) आफैँ पनि मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन्। नुमा लिम्बुको नागरिकतामा महिला उल्लेख भएकाले उनले उम्मेदवारी शुल्कमा आधा छुट पाइन्।

आफूलाई तेस्रोलिंगी महिलाको पहिचानमा चिनाउँदै आए पनि उम्मेदवारको आधिकारिक सूचीमा नुमा महिला रूपमा सूचीकृत भइन्। कागजी पहिचानकै आधारमा नुमाको उम्मेदवारी दर्ता गरिएको हो।

संविधानका पानामा लेखिएका अधिकार व्यवहारमा कार्यान्वयन हुन नसक्दा पीडामा परेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको आवाज संसद्‌सम्म पुर्‍याउने उद्देश्यसहित समावेशी समाजवादी पार्टी चुनावी मैदानमा उत्रिएको नुमाको भनाइ छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकारलाई स्पष्ट रूपमा कानुनमा लिपिबद्ध गराई प्रभावकारी रूपमा कार्यान्वयन गराउने अठोटसहित समावेशी समाजवादी पार्टी निर्वाचनमा होमिएको जनाएको छ। पार्टीका संरक्षक तथा सल्लाहकारमा संविधान सभाका सदस्य सुनिल बाबु पन्त रहेका छन्।

समावेशी समाजवादी पार्टीले मोरङ क्षेत्र नं. ४ बाट पार्टी अध्यक्ष नुमा लिम्बु, रुपन्देही क्षेत्र नं. २ बाट देवेन्द्र बहादुर खत्री, तथा समलिङ्गी विवाह दर्ताको प्रमाण पेस गरी उम्मेदवारी शुल्कमा आधा छुट पाएका सुरेन्द्र पाण्डेलाई काठमाडौँ क्षेत्र नं. १ बाट उम्मेदवार बनाएको छ।

त्यसैगरी पार्टीले काठमाडौँ क्षेत्र नं. १० बाट लोकदोहोरी गायक पूर्णचन्द्र पौडेल र ओखलढुङ्गाको मानेभञ्ज्याङ स्थायी घर भएकी ३२ वर्षीया लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवार पिंकी राईलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ।

तेस्रोलिंगी पहिचान उल्लेख गरी उम्मेदवारी दिए पनि छुट नपाएका विनोद लामा (कोनिका) काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नं. १ बाट समावेशी समाजवादी पार्टीको टिकट लिएर प्रत्यक्ष उम्मेदवार बनेका छन्।

समावेशी समाजवादी पार्टीले समानुपातिक तर्फको बन्दसूचीमा समेत १५ जनालाई उम्मेदवार बनाएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
292
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.