काठमाडौँ – फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारलाई देशभरका मतदाताले मत दिन सक्ने समावेशी समाजवादी पार्टीले जनाएको छ।
संविधानले व्यवस्था गरेको समानुपातिक प्रतिनिधित्व प्रणालीअनुसार मतदाताले देशभर एउटै दलको बन्दसूचीका उम्मेदवारलाई मत दिन पाउने भएकाले, प्रत्यक्षतर्फ उम्मेदवार नभए पनि समानुपातिकतर्फको मत प्रभावकारी हुने पार्टीको भनाइ छ।
पार्टीका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन नभए पनि समानुपातिकतर्फका उम्मेदवारलाई मत दिन सकिने स्पष्ट व्यवस्था निर्वाचन प्रणालीमै छ। यही व्यवस्थाअनुसार समावेशी समाजवादी पार्टीले समानुपातिकतर्फ १५ जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको जनाएको छ।
समानुपातिक प्रणालीमा दलले प्राप्त गरेको कूल मतका आधारमा संसद्मा प्रतिनिधित्व सुनिश्चित गर्ने भएकाले, मतदाता जहाँ भए पनि सो मत राष्ट्रिय स्तरमै गणना हुने कानुनी व्यवस्था छ।
प्रत्यक्षतर्फ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार मनोनयन गरेका दक्षिण एसियामै पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डेले देशभरका मतदातालाई प्रत्यक्षमा मतदान गर्न नमिले पनि समानुपातिकमा मत दिएर पार्टीका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन्।
पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, “म लमजुङको ज्वाइँ हुँ। लमजुङमै जन्म नभए पनि लमजुङको माया, अपनत्व र जिम्मेवारी मुटुभित्र गहिरोसँग बसेको छ। विकास गर्नुपर्ने धेरै कामहरू छन्,” भनेका छन्।
उनले सम्पूर्ण युवा, आमा, बुवा र सबै नागरिकहरूलाई हार्दिक अनुरोध गर्दै, “यसपालि प्रत्यक्षमा भोट गर्न नमिले पनि समानुपातिकमा श्रीवत्स (अनन्त गाँठो) मा भोट दिनुहोस्, ताकि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, पछाडि पारिएका वर्ग र समावेशी लोकतन्त्रको कदम अगाडि बढाउन सकियोस्,” भनेका छन्।
उनले “तपाईँको एक मत, भविष्य बदल्ने शक्ति हो,” भन्दै समानुपातिक मतको महत्वलाई पनि जोड दिएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.