निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

शब्द प्रयोगमा फसे बालेन-महेश, आयोगले माग्यो स्पष्टीकरण

शब्द प्रयोगमा फसे बालेन-महेश, आयोगले माग्यो स्पष्टीकरण

101
SHARES

काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी बढ्दै गएका छन्। निर्वाचन आयोगका अनुसार हाल आयोगमा दैनिक १० देखि १२ वटासम्म लिखित उजुरी दर्ता हुने गरेका छन्।

निर्वाचन आयोगले स्वीकृत गरी लागू गरिसकेको निर्वाचन आचारसंहिता, २०८२ को प्रभावकारी कार्यान्वयनका क्रममा उजुरीहरूको सङ्ख्या बढ्दै गएको जनाएको छ।

आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीबारे प्रारम्भिक स्क्रिनिङको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सिता पुन श्रीसले जानकारी दिइन्। उनका अनुसार लिखित उजुरीका साथै मौखिक रूपमा पनि उजुरी दिन सकिने व्यवस्था गरिएको छ। फोनमार्फत पनि उजुरी लिन थालिएको उनले बताइन्।

केही दिनअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगमा दैनिक सयभन्दा बढी उजुरी आउने गरेको बताएका थिए। ती उजुरीमध्ये धेरैजसो आचारसंहिता उल्लङ्घन, सामाजिक सञ्जालको दुरुपयोग, अभद्र भाषा प्रयोग तथा चुनाव प्रचारका क्रममा निषेधित गतिविधिसँग सम्बन्धित रहेको आयोगले जनाएको छ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका ७ जनासँग आयोगले स्पष्टीकरण नै सोधेको छ। झापा निर्वाचन क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी १ बाट उम्मेदवार बनेका हर्क साम्पाङसहित ७ जनालाई स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले जनाएको छ।

स्पष्टीकरण सोधिएका उम्मेदवारहरूले ३ दिनभित्र लिखित जवाफ पेस गर्नुपर्ने सहायक प्रवक्ता पुनले बताइन्।

आयोगका अनुसार बालेन शाहले झापा ५ कै अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा ‘हत्यारा’ भनेर टिप्पणी गरेका थिए। बालेनको ‘भिजुअल’ पोस्ट तथा अन्य उम्मेदवारहरूको उत्तेजक अभिव्यक्तिले चुनावी निष्पक्षतामा असर पार्ने ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको हो।

त्यसैगरी, रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार निकोलस भुसाललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। उनले जेनजी आन्दोलनको आइकोनिक जुत्तालाई चुनाव चिन्हका रूपमा प्रचार गरेको उजुरी परेको आयोगले जनाएको छ।

श्रम संस्कृति पार्टीका सुनसरी १ का उम्मेदवार हर्क साम्पाङलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको तथा उनीहरूलाई टिसर्ट लगाएर प्रचारमा संलग्न गराएको भन्दै आयोगले स्पष्टीकरण सोधेको सहायक प्रवक्ता सिता पुन श्रीसले जानकारी दिइन्।

यस्तै भक्तपुर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई रास्वपाका उम्मेदवार बालेन शाहलाई ‘छाउरा’ भनेको आरोपमा स्पष्टीकरण सोधिएको छ। भक्तपुर २ कै उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई अन्य उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको तथा ‘हत्यारा’, ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गरेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको जनाएको छ।

त्यसबाहेक स्वास्थ्य स्वयंसेवक सङ्घले निर्वाचन आचारसंहिता लागू भएपछि अनुमति नलिई अधिवेशन गरेको विषयमा पनि आयोगले सङ्घसँग स्पष्टीकरण सोधेको छ। शिक्षक सरुवासम्बन्धी एक निर्णयलाई लिएर पनि आयोगमा आचारसंहिता उल्लङ्घनको उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी लागू गरिसकेको छ।

आचारसंहिता कार्यान्वयनको अनुगमन प्रभावकारी बनाउन दफा ३२ बमोजिम सतहत्तरै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आर्थिकबाहेकका विषयमा र प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकहरूलाई आर्थिक विषयसँग सम्बन्धित अनुगमनको छुट्टाछुट्टै जिम्मेवारी तोकिएको आयोगले जनाएको छ।

आयोगले आचारसंहिता उल्लङ्घनमा संलग्न भएको पाइएमा कानूनी कारबाही हुने चेतावनी दिँदै सबै उम्मेदवार, दल, संस्था र सरोकारवालालाई नियम पालना गर्न आग्रह गरेको छ।

समाचार शेयर गर्नुहोस्
101
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.