निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

१६५ क्षेत्रमा ६ मा सर्वसम्मतको प्रस्ताव

१६५ क्षेत्रमा ६ मा सर्वसम्मतको प्रस्ताव

142
SHARES

काठमाडौँ – समावेशी समाजवादी पार्टीले अन्य राजनीतिक दलहरूसँग समानान्तर सम्बन्ध कायम राखेको जनाएको छ। पार्टीले पुराना र नयाँ राजनीतिक शक्तिहरूसँग सहकार्य गर्न प्रस्ताव राखेको छ। नयाँ र पुराना सबै दलहरूले प्रतिबद्धता जनाएको समावेशी समाजवादी पार्टीको भनाइ छ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल, श्रमशक्ति पार्टीसहित मधेशवादी दलहरूसँग समावेशी समाजवादी पार्टीले आफ्ना उम्मेदवारलाई समर्थन गर्न खुला आव्हान गरेको छ।

१६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा निर्वाचन क्षेत्रमा सर्वसम्मत निर्वाचित गराएर समावेशी लोकतन्त्रको उदाहरण विश्वमाझ पुर्‍याउन दलहरूलाई आग्रह गरिएको पार्टीले जनाएको छ।

समावेशी लोकतन्त्र व्यवहारमा स्थापित हुन नसकेको र यो अझै कुरा र भाषणमा मात्र सीमित भएको पार्टीको ठहर छ। दलहरूले व्यवहारमा असमावेशी चरित्र प्रदर्शन गरेको आरोप पनि पार्टीले लगाएको छ।

पार्टीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट सुरेन्द्र पाण्डे, काठमाडौँ क्षेत्र नम्बर १० बाट पूर्णचन्द्र पौडेल, रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट देवेन्द्र बहादुर खत्री, ओखलढुङ्गाबाट पिंकी राई र काभ्रेपलान्चोकबाट विनोद लामा (कोनिका) लाई प्रत्यक्ष उम्मेदवारका रूपमा अघि सारेको छ। मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट पार्टीकी केन्द्रीय अध्यक्ष नुमा लिम्बू चञ्चलाले उम्मेदवारी दिएकी छन्।

अर्थपूर्ण समावेशिता, समानता मात्र होइन, समतामूलक विकासको एजेन्डा लिएको पार्टीबाट विनोद लामा (कोनिका) प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन्। उनी काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी हुन्।

देश लोकतान्त्रिक र गणतान्त्रिक भए पनि आफूले त्यो अनुभूति गर्न नपाएको कोनिकाले बताइन्। “चुनाव लैङ्गिक समानतामा गर्छौँ, नयाँ राष्ट्र बनाउँछौँ भन्ने दुई वटा शक्ति देखेँ,” उनले भनिन्। उनका अनुसार एउटा पुरानो शक्ति हो भने अर्को नयाँ शक्ति हो।

दुवै शक्तिले पुरुषलाई शक्तिशाली बनाएर अगाडि सारेको उनको भनाइ छ। “पुरुषलाई बाघ बनाएर ल्याएको देखिन्छ,” उनले भनिन्। समानताको कुरा गरिरहँदा महिला उम्मेदवारको सङ्ख्या केवल ११ प्रतिशत रहेको उनले उल्लेख गरिन्। ८८ प्रतिशत उम्मेदवार पुरुष रहेको भन्दै उनले तीमध्ये कति जना जितेर आउँछन् भन्ने पनि अनिश्चित रहेको बताइन्।

नेपाललाई लैङ्गिक समानता राष्ट्र बनाउने खोक्रो नारा भने ती दलहरूले नै लगाइरहेको कोनिकाको आरोप छ। “त्यसमा म त नगण्य नै भएँ,” उनले भनिन्। “उहाँहरूले आमा, दिदीबहिनी जस्तै महिलालाई समेत उम्मेदवार बनाएनन्।” आफू लोकतान्त्रिक अभ्यास होस् भनेर मात्रै चुनावमा आएको उनले बताइन्।

महिलाको सहभागिताको जिम्मा मतदातामाथि थोपर्न नमिल्ने उनले स्पष्ट पारिन्। “महिलाहरू त आउनै सक्दैनन् भनिन्छ,” उनले भनिन्। “हामी जस्तोलाई त आमा–बुबाले पनि एसेप्ट गर्दैनन्।” उनका अनुसार पहिलो परिवार आमा–बुबा हुन्, दोस्रो दाजुभाइ–दिदीबहिनी र नातागोता हुन्, तेस्रो समाज हो। समाजले नै महिलाहरू आउन नसक्ने वातावरण बनाइदिएको उनको भनाइ छ।

नयाँ शक्ति र पुरानो शक्ति दुई गुट रहेको भन्दै उनले सबैले लैङ्गिक हिंसामुक्त लोकतान्त्रिक नेपाल बनाउनुपर्ने बताइन। “सबै दाजुभाइ दिदीबहिनी हौँ भनिन्छ,” उनले भनिन्। “म कोनिका लामालाई जन्मँदा पुरुष थिएँ, अहिले महिला भएँ। मलाई दिदी भनेर कति एसेप्ट गर्नुहुन्छ?”

महिला उम्मेदवारको सङ्ख्या ११ प्रतिशतमै सीमित रहेको उनले पुनः उल्लेख गरिन्। महिलाले जितेर आएपछि प्रधानमन्त्री वा सांसद बन्ने कुरा उठ्ने गरे पनि महिलाको नेतृत्व स्वीकार्न नचाहिने प्रवृत्ति व्याप्त रहेको उनको टिप्पणी छ। “म जस्तो तेस्रोलिङ्गी त झन् नगण्य नै हो,” उनले भनिन्। “नर्मल महिलालाई पनि एसेप्ट गरिएको छैन, दारी जुँगा भएको दिदीलाई त स्वीकार्नै भएको छैन।”

सुनिल बाबु पन्तपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट संसदमा कोही पनि नपुगेको यथार्थ उनले स्मरण गराइन्। महिलालाई समानता नभएको अवस्थामा तेस्रोलिङ्गी समुदायको अवस्था झन् कमजोर रहेको उनको भनाइ छ। “हामीलाई कसले भोट देला, कसले गन्ला?” उनले प्रश्न गरिन्।

यस्तो तरल राजनीतिक अवस्थाबाट देशलाई निकास दिन लोकतान्त्रिक अभ्यास आवश्यक रहेको भन्दै आफू पनि सहभागिता जनाएको उनले बताइन्। “देशलाई निकास दिन लोकतान्त्रिक चुनाव हो भनेर मैले पनि पार्टीसिपेट गरेकी हुँ,” उनले भनिन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको संसदमा प्रतिनिधित्व हुनु भनेको केवल व्यक्ति निर्वाचित हुनु मात्र होइन, संविधानले सुनिश्चित गरेको समानता, पहिचान र अधिकारको कार्यान्वयन हुनु हो। नीति निर्माण तहमा उनीहरूको आवाज पुग्दा विभेदकारी कानुन, नीति र व्यवहारलाई चुनौती दिन सकिने र लोकतन्त्र वास्तवमै समावेशी बन्ने मान्यता छ।

उनले मतदातालाई महिलालाई भोट दिएर जिताइदिन आग्रह गरेकी छन्। “तपाईँहरूले ११ प्रतिशत महिलालाई भोट दिएर जिताइदिनुहोस्,” यही अपिल गरिएको उनले बताइन्।

समाचार शेयर गर्नुहोस्
142
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.