बागबजार र ववरमहलमा वैकल्पिक मार्ग ‘बक्स कल्भर्ट’ 

बागबजार र ववरमहलमा वैकल्पिक मार्ग ‘बक्स कल्भर्ट’ 

249
SHARES

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ। यसको लागत ५७ लाख ७२ हजार ६९४ रुपैयाँ हो।

काठमाडौँ महानगरपालिकाका अनुसार यस योजनाको लागत अनुमान ७० लाख ७२ हजार १८२ रुपियाँ थियो। कल्भर्ट निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको महानगरपालिकाले जनाएकाे छ। यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुनेछ।

‘अहिले त्यहाँ पानीको निकासका लागि ह्युम पाइप राखिएको छ। यसरी राखिएका ह्युम पाइप पुराना भइसकेका छन्।’ सार्वजनिक निर्माण विभागका सबइञ्जिनियर दीपकबहादुर शाहीले भने,‘बर्खाको समयमा पानीका बहाव रोकिने अवस्था भएको छ। यसको सम्भावित डुबान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो।’

कल्भर्ट निर्माणको काम प्रारम्भ भएपछि सडकको आवागमन पूर्ण बन्द हुनेछ। डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्न ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरिएको शाहीको भनाइ छ। यसका लागि दुवैतर्फबाट आउने सवारी साधनहरू कमलादी मोडमा पुगेर बायाँ मोडिँदै कमलादी गणेश मन्दिर, घण्टाघरतर्फको सडक उपयुक्त वैकल्पिक मार्ग बन्न सक्छ।

काम थालिएपछि यो सडक खण्ड २ महिना बन्द रहनेछ। यससँगै धोवीखोला नदी खण्डको दोभान नपुग्दै रोजबर्ड स्कूल नजिक पनि बक्स कल्भर्ट निर्माण हुँदैछ। यसको लागत २ करोड २१ लाख २३ हजार ८९९ रुपैयाँ हो। यसको लागत अनुमान ३ करोड ७१ लाख २३ हजार ९३५ रुपियाँ थियो। यो काम २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ। यो कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ ७ मिटरको हुनेछ।

यस ठाउँमा भएको फलामे पुल २०८० सालको धोवीखोलाको बाढीले जगसहित क्षति गर्यो। वडा नं. ११ का अध्यक्ष हीरालाल तुण्डकारले भने,‘पुल बनाउने भनेर विभिन्न निकाय आए। हामीलाई बनाउनु थियो। कसैले बनाउँछु भन्यो भने नबनाउनु किन भन्नु भनेर हुन्छ भन्यौँ। तर, कसैले बनाएनन्। त्यसपछि वडाले निर्माण योजना बनाउँदै थियो।’

महानगरपालिकाको केन्द्रीय बजेटबाट बनाउन सकिने भनेपछि त्यही प्रक्रियाबाट निर्माण हुन लागेको वडाध्यक्ष तुण्डकारले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
249
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.