काठमाडौँ – भावी प्रधानमन्त्री घोषणा गरिएका बालेन शाहले चुनावी प्रचारमा सबै उम्मेदवारलाई ओभरटेक गरेका छन्। ३ हजार ४ सय ६ उम्मेदवारमध्ये उनी पहिलो नम्बरमा उभिएका छन्।
मधेश प्रदेशको जनकपुरबाट सुरु भएको बालेनको चुनावी प्रचार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापादेखि नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरासम्म पुगेको छ। यस क्रममा उनले स्थापित राजनीतिक दलका उम्मेदवारलाई पछाडि पार्दै प्रचार दौडमा अग्रता लिएका छन्।
झापामा पुगेर बालेनले ओलीलाई ओभरटेक गर्दै किरात धर्मगुरु मुहिगुम अङ्सीमाङ् आत्मानन्द लिङदेन सेइङ्को आशीर्वाद लिएका छन्। किरात धर्मगुरुले प्रधानमन्त्री बनेपछि पनि आउन भनेका छन्।
बालेन देउवाको गृह जिल्ला डडेलधुरामा पुगे र बाजेको खिर पसलमा खिर खाए। जेनजी आन्दोलनपछि कांग्रेसका पूर्वसभापति देउवा आफ्नो गृह जिल्ला नपुग्दै बालेन त्यहाँ पुगेर मत मागिसकेका छन्।
दशकौँदेखि साङ्गठनिक रूपमा दबदबा जमाएका राजनीतिक दलका उम्मेदवारलाई चुनौती दिँदै बालेन तीव्र चुनावी दौडमा देखिएका छन्।
बालेनको बढ्दो राजनीतिक क्रेजले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जेनजी आन्दोलनबारे स्पष्टीकरण दिन बाध्य बनाएको छ।
कलिला भाइबहिनीलाई ताकीताकी गोली हानेर मार्नेलाई भोट नदिने अभियान चलेपछि ओलीले फेसबुकमार्फत आफूले गोली चलाउन आदेश नदिएको स्पष्ट पारे।
ओलीले आफू र नेकपा एमालेमाथि भ्रम फैलाइएको गुनासो गरेका छन्। जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति यसअघि एक शब्द पनि नबोलेका ओलीले पाँच महिनापछि सङ्ख्या किटान गर्दै १९ जना नानीबाबुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
ओलीले आफू कुनै पनि मञ्चमा बसेर खुलेर उत्तर दिन तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमा फैलाइएका गलत प्रचारमा नलाग्न आग्रह गरेका छन्।
जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भए पनि ओलीले १९ जना नानीबाबुको मृत्युप्रति अत्यन्त मर्माहत भएको उल्लेख गरेका छन्।

जेनजी आन्दोलनकै कारण प्रधानमन्त्री पदबाट हटेका ओली अहिले पनि भावी प्रधानमन्त्रीका अनुहार बनेका छन्। नेकपा एमालेले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। ओलीको अनुहार देखाएर एमालेका उम्मेदवार मत मागिरहेका छन्।
राजनीतिक दलहरू एक–एक जना नेतालाई अगाडि सारेर मत माग्ने हतारोमा देखिएका छन्। नेपालमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको संवैधानिक व्यवस्था छैन। तर संसदीय व्यवस्थाभित्रै प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा जनतामाझ अघि सार्ने अभ्यास सुरु भएको छ।
फागुन २१ को चुनाव नजिकिँदै जाँदा राजनीतिक चहलपहल बढेको छ। परम्परागत उदार लोकतन्त्रमा एकपटक निर्वाचित प्रतिनिधि अर्को निर्वाचनसम्म जनताप्रति प्रत्यक्ष उत्तरदायी रहँदैन।
नागरिकहरू पाँच वर्षसम्म मौन दर्शकजस्तै बन्दै आएका छन्। यही प्रणालीभित्र अहिले निर्वाचन हुन गइरहेको छ। पुराना र नयाँ दुवै राजनीतिक शक्तिहरू प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीकै अभ्यासतर्फ उन्मुख देखिएका छन्।
दलहरूले प्रधानमन्त्रीको अनुहार निर्वाचनअघि नै सार्वजनिक गरेका छन्। संसद्ले चुन्ने अभ्यासलाई अब जनतामाझ उभ्याइएको छ। नेपाली कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचन लडेको थियो। कांग्रेसले दोस्रो पटक यस्तो अभ्यास दोहोर्याएको छ।
कांग्रेस सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै पार्टी निर्वाचन मैदानमा होमिएको छ। थापा सर्लाही–४ बाट प्रत्यक्ष उम्मेदवार बनेका छन्। उनले भरोसा टुट्न नदिने बाचा गरेका छन्। कांग्रेसको जननी मधेश भएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई भावी प्रधानमन्त्रीको अनुहार बनाएको छ। रास्वपाकी समानुपातिक उम्मेदवार रिमा विश्वकर्माको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनले आफू निर्वाचित भए रवि र बालेनलाई स्याङ्जा ल्याउने बाचा गरेकी छन्।
बालेन घण्टी बजाउँदै आफ्नो राजनीतिक क्रेज बढाइरहेका छन्। उनी पुग्नु नै समस्याको समाधान भएझैँ प्रचार भइरहेको छ। यसप्रति मानवअधिकारकर्मी सुबोधराज प्याकुरेलले सामाजिक सञ्जालमा ‘बिचरा बालेन’ भनेर टिप्पणी गरेका छन्।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बहस अहिले राजनीतिक हतियारजस्तै प्रयोग हुन थालेको छ। संवैधानिक आधार नहुँदा पनि प्रधानमन्त्री घोषणा गरेर मत तान्ने अभ्यास तीव्र बन्दै गएको छ।
राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले बालेन साहदेखि अन्तरिम सरकारका मन्त्री पद छोडेर उम्मेदवार बनेकाहरूप्रति आक्रोश व्यक्त गरेका छन्।
राष्ट्रिय सभाको बैठकमा उनले गत भदौ २४ गते देशलाई खरानी बनाउने आन्दोलनको नेतृत्व तत्कालीन काठमाडौँ महानगरका मेयर बालेनले गरेको आरोप लगाउँदै अहिले प्रधानमन्त्रीको उम्मेदवार बनेको भन्दै आक्रोश पोखे।
सांसद भट्टले एउटा जिम्मेवारी पूरा नहुँदै अर्को जिम्मेवारीमा जाने प्रवृत्तिको विरोध गरे। बालेनदेखि जगदीश खरेलसम्म उनले प्रश्न उठाए।
मेयर पद छोडेर रास्वपा गएका बालेन र पत्रकारको नाममा मन्त्री बनेर अहिले रास्वपाबाट चुनाव लड्न लागेका खरेलको नैतिकतामाथि उनले चुनौती दिए।
अन्तरिम सरकारका मन्त्रीबाट राजीनामा दिएर खरेलसँगै कुलमान घिसिङ, महावीर पुन र बब्लु गुप्ता पनि चुनावी मैदानमा उत्रिएका छन्। शिक्षा मन्त्रालय सम्हाल्न नसकेको स्वीकार गर्दै महावीर पुनले सांसद बन्न आएको बताएका छन्।
काठमाडौँका मेयर बालेन, भरतपुरकी मेयर रेणु दाहाल र धरानका मेयर हर्क साम्पाङ पनि कार्यकाल पूरा नहुँदै राजीनामा दिएर संसदीय राजनीतिमा प्रवेश गरेका छन्।
यसलाई लिएर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘नयाँ’को नाममा नक्कली कुरा गरेर जनतामा भ्रम छर्नेहरू निर्वाचनको मुखमा देखिएको टिप्पणी गरेका छन्। यस्ता प्रवृत्तिप्रति सचेत रहन उनले मतदातालाई आग्रह गरेका छन्।
निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले मुलुकको अस्तित्व जोगाउने सवालमा सबैलाई एकताबद्ध हुन आह्वान गरे।
विगतमा भ्रम छर्ने र चोटिला कुरा गर्नेहरूलाई सांसद बनाएर गल्ती भएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यस्तो गल्ती नदोहोर्याउन उनले आग्रह गरे।
अध्यक्ष केसीले वर्तमान सरकार गैरसरकारी संस्थाहरूले बनाएको दाबी गर्दै उनीहरूबाट देशको हितमा काम हुने अपेक्षा गर्न नसकिने बताएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.