"/>
काभ्रेपलान्चोक – काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ मा महिला उम्मेदवारी शून्य रहेको तथ्य सार्वजनिक भएको छ। निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार यस क्षेत्रमा दर्ता भएका १८ जना उम्मेदवारमध्ये एक जना पनि महिला उम्मेदवार छैनन्।
ती १८ जनामध्ये विनोद लामा (कोनिका) मात्र एक जना तेस्रोलिंगी उम्मेदवार हुन्। उनी चौरी देउराली गाउँपालिकाकी निवासी हुन् र समावेशी समाजवादी पार्टीबाट उम्मेदवार बनेकी छन्।
महिला उम्मेदवारी पूर्णरूपमा अनुपस्थित रहेको यस क्षेत्रमा समावेशी समाजवादी पार्टीबाट तेस्रोलिंगी उम्मेदवार मात्र देखिनु नेपालको राजनीतिमा समावेशितालाई दलहरूले कति सतही रूपमा लिएको छ भन्ने यथार्थ झल्किन्छ।
काेनिकाले यसअघि पनि संसद्को चुनावमा उम्मेदवार बन्ने प्रयास गरेकी थिइन्। तर, अन्य कुनै पनि राजनीतिक दलले उनलाई प्राथमिकतामा राखेनन्। समावेशी समाजवादी पार्टीले भने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई पनि अवसर दिएको बताउँछिन् कोनिका।
काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा होमिन पाउँदा आफू खुसी भएको उनी बताउँछिन्। काभ्रेपलान्चोकमा केही गर्नुपर्छ भन्ने भावना जागेको उनले सुनाइन्। उम्मेदवारी दर्ता गरिसकेपछि जित–हारको द्वन्द्व मनमा आउने रहेछ भन्ने अनुभूति उनले व्यक्त गरिन्।
उनको स्थायी घर काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ माझिफेदा हो। पुरानो घर त्यहीँ भए पनि शिक्षादीक्षाका लागि स्कुल–कलेज नहुँदा उनी ललितपुर बस्दै एसएलसीसम्मको अध्ययन गरेकी हुन्। उनले नेपाल कमर्स कलेजबाट ब्याचलर डिग्री हासिल गरिन्। ब्याचलर तहमा राम्रो नम्बर ल्याएकी कोनिकाले पाकिस्तानी दूतावासको छात्रवृत्तिमा कराची विश्वविद्यालयबाट एमबिए पूरा गरेकी छन्।
दसैँ–तिहार जस्ता चाडपर्वमा गाउँघर आइरहने गरेको उनले बताइन्। उम्मेदवारी दर्ताका क्रममा निर्वाचन कार्यालयमा जाँदा ‘तेस्रोलिंगी महिला’ भन्दा ‘यस्ता व्यक्तिहरू पनि उम्मेदवार बन्न आएका छन्’ भन्ने ढङ्गले प्रतिक्रिया आएको उनले सुनाइन्। उक्त प्रतिक्रियालाई उनले सकारात्मक रूपमा लिएको बताइन्।
यद्यपि, उनका डकुमेन्ट पुरुष लैङ्गिकतामा दर्ता थिए। यौनिक अल्पसङ्ख्यक वा तेस्रोलिंगी पहिचानका आधारमा सिधै छुट दिने कि नदिने भन्ने विषयमा अन्योल भए पनि आफूजस्ता अल्पसङ्ख्यक समुदायका उम्मेदवारको उपस्थितिलाई निर्वाचन कार्यालयले सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ छ।
छेउछाउका साथीहरूले ‘तेस्रोलिंगी भए पनि केही गर्छु’ भन्ने अठोटप्रति राम्रो प्रतिक्रिया दिएको कोनिकाले बताइन्।
फागुन २१, ‘हामी पनि नागरिक हौँ’ भन्ने देखाउने दिन
काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ मा कोनिकासँग नेकपा एमालेबाट अमित तामाङ, नेपाली कांग्रेसबाट गुणराज मुक्तान, नेपाल कम्युनिस्ट पार्टीबाट दिननाथ गौतम र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधु कुमार चौलागाईं प्रतिस्पर्धामा छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल, जनता समाजवादी पार्टीबाट मान बहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीबाट राजु तामाङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ज्ञानेन्द्र कुमार श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेसनबाट कमल बहादुर लामा (तामाङ), संयुक्त नागरिक पार्टीबाट रत्न लामा उम्मेदवार छन्।
त्यस्तै, नेशनल रिपब्लिक नेपालबाट भरत तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा, नेपाली कम्युनिस्ट पार्टी (माओवादी) बाट कान्छा तामाङ, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा उम्मेदवार बनेका छन्। स्वतन्त्रतर्फ जीवन लामा, युवराज चौलागाईं र राजेश कुमार श्रेष्ठ उम्मेदवार छन्।
काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ मा महिलाको उम्मेदवारी शून्य रहँदा समावेशी समाजवादी पार्टीबाट तेस्रोलिंगी कोनिका मात्रै उम्मेदवार बनेकी छन्। उनको उम्मेदवारी कानुनी रूपमा पुरुष लैङ्गिकतामा दर्ता भए पनि उनले आफू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायअन्तर्गतको तेस्रोलिंगी पहिचान भएको स्पष्ट पारेकी छन्।
काभ्रे निर्वाचन क्षेत्र नम्बर १ मा कुल मतदाता सङ्ख्या १६ लाख १ हजार १०० रहेको छ। काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रोशी गाउँपालिकाका वडा नम्बर १ देखि १२, महाभारत गाउँपालिकाका वडा नम्बर १ देखि ८, बेथानचोक गाउँपालिकाको वडा नम्बर ६, पनौती नगरपालिकाका वडा नम्बर ४ देखि १०, नमोबुद्ध नगरपालिकाका वडा नम्बर १ देखि ११, धुलिखेल नगरपालिकाका वडा नम्बर ८ देखि १२, तेमाल गाउँपालिकाका वडा नम्बर १ देखि ९, चौरीदेउराली गाउँपालिकाका वडा नम्बर १ देखि ९ तथा खानीखोला गाउँपालिकाका वडा नम्बर १ देखि ७ समेटिएका छन्। यस निर्वाचन क्षेत्रमा कुल १६ लाख १ हजार १०० मतदाता रहेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.