मतदातालाई प्रश्न- भ्रष्टाचार रोज्ने कि सुशासनका पक्षमा उभिने?

मतदातालाई प्रश्न- भ्रष्टाचार रोज्ने कि सुशासनका पक्षमा उभिने?

354
SHARES

काठमाडौँ – समावेशी समाजवादी पार्टीकी सचिव सञ्जीवनी लोप्चन (सन्ध्या) फागुन २१ गते हुने चुनावमा समानुपातिक उम्मेदवार हुन्। पुरुष र महिलाभन्दा फरक पहिचानलाई कमजोर पार्ने संरचना र भ्रष्टाचार गर्नेहरूलाई कारबाही हुनुपर्छ भन्ने अडानसहित उनी लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा सक्रिय रहँदै आएकी छन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकार हनन हुनु हुँदैन भन्ने आवाज उठाउँदै जाँदा भ्रष्ट अभ्यासमा संलग्न समूहहरू असहज बने। त्यसकै परिणामस्वरूप उनको दैनिकी नै प्रभावित पार्ने गतिविधि गराइयो।

जीविकोपार्जनमा अवरोध सिर्जना गर्ने प्रयास भयो। तर सन्ध्याले हरेस खाइनन्। घर–परिवारदेखि सार्वजनिक जीवनसम्म भोगेका सङ्घर्षलाई उनले राजनीतिक चेतनामा रूपान्तरण गरिन्।

समुदायको नाममा समुदायमाथि हुँदै आएको शोषणका काला कर्तुत सार्वजनिक गर्न थालेपछि उनीमाथि प्रत्यक्ष र अप्रत्यक्ष दबाब बढ्दै गयो। हिसाब र पिसाब स्पष्ट हुनुपर्छ भन्दै खबरदारी गर्ने जिम्मेवारी बोकेकी सन्ध्याले पार्टी र पार्टीका उम्मेदवारलाई जिताउनुका साथै मतदातामाझ स्पष्ट सन्देश दिइरहेकी छन्, भ्रष्टाचार रोज्ने कि सुशासनको पक्षमा उभिने?

उनले आमाबुबा, दाजुभाइ सबैलाई लोलोपोतो नगर्ने र भ्रष्टलाई कारबाही नगरी नछोड्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन्। प्रशासनिक निकायमा सरकारी कर्मचारीका कानुनविपरीत गतिविधिमा उजुरी पर्दा समेत बेवास्ता गरिने प्रवृत्तिले नै आफूलाई उम्मेदवार बन्न बाध्य बनाएको उनको भनाइ छ। राज्य संयन्त्रकै उदासीनता उनको राजनीतिक प्रवेशको कारण बनेको उनी बताउँछिन्।

मकवानपुर जिल्लाकी स्थायी बासिन्दा सन्ध्याले महिला, दलित, तेस्रोलिंगी, श्रमिक, किसान तथा अन्य पिछडिएका समुदायको हक–अधिकारका पक्षमा लामो समयदेखि प्रत्यक्ष रूपमा काम गर्दै आएकी छन्। यही निरन्तर सक्रियताका कारण उनको नाम समानुपातिक बन्द सूचीमा परेपछि सीमान्तकृत समुदायका मानिसहरू सङ्गठित हुँदै उनको पक्षमा प्रचारमा सक्रिय देखिएका छन्।

विभिन्न सामाजिक अभियान, अधिकारकर्मी सञ्जाल र समुदायस्तरका समूहहरूले सन्ध्यालाई संसद् पुर्‍याउनु साझा आवश्यकता भएको बताउँदै समर्थन जनाइरहेका छन्। सन्ध्या स्वयं पनि आफ्नो उम्मेदवारी व्यक्तिगत महत्त्वाकाङ्क्षा नभई राज्यका नीति तथा निर्णय प्रक्रियाबाट सधैँ पन्छाइएका समुदायको प्रतिनिधित्व भएको बताउँछिन्। संसद् पुगेर ती समुदायका सवाललाई नीतिगत बहसको केन्द्रमा ल्याउनु नै आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।

समर्थकहरूका अनुसार सन्ध्याले श्रमिक अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय र समावेशी नीतिका विषयमा सधैँ स्पष्ट र निर्भीक आवाज उठाउँदै आएकी छन्। यही कारण उनी सीमान्तकृत समुदायको भरोसायोग्य प्रतिनिधिका रूपमा स्थापित हुँदै गएकी छन्।

उनी संसद् पुग्न सफल भइन् भने महिला तथा सीमान्तकृत समुदायका मुद्दा संसदमा अझ प्रभावकारी रूपमा उठ्ने अपेक्षा गरिएको छ।

समाचार शेयर गर्नुहोस्
354
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.