निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कांग्रेसले ल्याउँदैछ ‘भिजन–१०’ घोषणापत्र

कांग्रेसले ल्याउँदैछ ‘भिजन–१०’ घोषणापत्र

103
SHARES

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेट्ने भएको छ। शनिवार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई केन्द्रमा राख्ने बताएका छन्।

प्रवक्ता चालिसेका अनुसार कांग्रेसको घोषणापत्र केवल आकाङ्क्षा र प्रतिबद्धतामा सीमित रहने छैन। त्यसको कार्यान्वयनका लागि आवश्यक स्रोत, साधन र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ। ‘घोषणापत्रमा कार्यक्रम मात्र होइन, त्यसका लागि स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि समेटिन्छ,’ उनले भने।

हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव सङ्कलन गरिरहेको जानकारी दिँदै चालिसेले स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरी राष्ट्रिय आवश्यकतासँग जोडिने बताए। ‘कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ,’ उनले भने, ‘यसले सबै वर्ग, क्षेत्र र समुदायको भावना समेट्ने प्रयास गर्नेछ।’

प्रवक्ता चालिसेले घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकसाथ सम्बोधन गर्दै जनतासामु विश्वासयोग्य विकल्प प्रस्तुत गर्ने दाबी गरे। पार्टीले स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका घोषणापत्रमार्फत सार्वजनिक गर्ने तयारी गरेको उनको भनाइ छ।

उनले ‘न्यु टेस्ट’ का नाममा देशलाई प्रयोगशाला बनाउन नहुने चेतावनीसमेत दिए। जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पुरानो नहुने उल्लेख गर्दै उनले व्यक्तिहरू मात्र समयसँगै पुराना हुने बताए। ‘पार्टी पुरानो हुँदैन, विचार नयाँ दिने हो, नेतृत्व नयाँ दिने हो,’ चालिसेले भने, ‘विश्वभर पुराना पार्टीहरूमा नयाँ नेतृत्व आउने गर्छ, र त्यही प्रक्रियाबाट भरोसायोग्य भविष्य निर्माण हुन्छ।’

लोकतान्त्रिक अभ्यासमा नागरिकको मत निर्णायक हुने उल्लेख गर्दै उनले आगामी निर्वाचनले देशको भावी दिशा तय गर्ने बताए। ‘नागरिकले दिने मतले देशको भविष्य निर्धारण गर्छ,’ उनले भने, ‘कांग्रेस नै देशको भविष्य हो भन्ने विश्वासका साथ पार्टी चुनावी मैदानमा उत्रिएको छ।’

आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै कांग्रेसले केन्द्रीय परिचालन समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ। प्रवक्ता चालिसेका अनुसार सङ्गठनलाई निर्वाचनमा प्रभावकारी रूपमा होम्याउन केन्द्रीय तहका सबै पदाधिकारी र सदस्यहरूलाई जिल्ला–क्षेत्रस्तरमा खटाउने तयारी गरिएको जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
103
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.