"/>
काठमाडौँ – नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष र नेकपा एमालेले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न सर्वोच्च अदालतलाई दबाब दिँदै आएका छन्। जेनजी आन्दोलनपछि भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने मागसहित कांग्रेसका सांसदहरू र एमालेको पार्टी निर्णयअनुसार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएका छन्।
सर्वोच्च अदालत प्रशासनका अनुसार संसद् विघटन र प्रधानमन्त्री नियुक्तिविरुद्धकाे रिटहरू अझै अध्ययन र प्रक्रिया कै चरणमा रहेका कारण सुनुवाइका लागि पेशी तोकिएको छैन। अदालत प्रशासनले सबै रिटलाई संवैधानिक इजलासमार्फत सुनुवाइ गर्ने तयारी भइरहेको र केही प्रक्रियागत काम बाँकी रहेकाले पेशी तोक्न ढिलाइ भएको जवाफ दिँदै आएको छ।
तर, कांग्रेस देउवा पक्षीय नेताहरू र सिङ्गो नेकपा एमाले भने प्रधानन्यायाधीश प्रकाशमान सिंह रावतलाई छिटो रिटको छिनोफानो गर्न दबाब दिँदै आएका छन्। देउवा पक्षीय नेताहरूले प्रधानन्यायाधीशलाई भेटेरै दबाब दिने प्रयास गरे पनि त्यो प्रयास असफल भएको छ। प्रधानन्यायाधीश रावतले मुद्दाका पक्षहरूसँग प्रत्यक्ष भेट नगर्ने स्पष्ट अडान राखेका छन्।
नयाँ प्रतिनिधिसभाको निर्वाचन आउन अब एक महिना मात्र बाँकी रहँदा पनि विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग सार्वजनिक कार्यक्रम र राजनीतिक सभाहरूमा उठ्दै आएको छ। यही क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत चुपचाप ‘कानमा तेल हालेर बसेझैँ’ रहन नमिल्ने टिप्पणी गरेका छन्। उनले अदालतले अब ढिला नगरी छिटो फैसला सुनाउनुपर्ने बताएका छन्।
एमाले अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार १० हजार मान्छे सडकमा उत्रेर ढलेको जिकिरसमेत गरे। उनले त्यसरी सरकार बनाउने अभ्यास स्वीकार्य हुने हो भने लाखौँ मानिस सडकमा उत्रने चेतावनी पनि दिए।
जेनजी आन्दोलनपछि फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। झापा निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली काठमाडौँ महानगरका पूर्वमेयर बालेन्द्र शाह ‘बालेन’सँग प्रतिस्पर्धामा छन्। ओलीसँगै प्रतिस्पर्धा गर्न झापा ५ बाट उम्मेदवारी दर्ता गरेका बालेन भने कर्णालीका विभिन्न जिल्लामा घण्टी बजाउँदै प्रचार सकेर काठमाडौँ फर्किएका छन्।
यसै सन्दर्भमा ओलीले बालेनलाई ‘बतासे अण्डा’को संज्ञा दिएका छन्। झापा ५ मा बालेनले आफूविरुद्ध ‘ठुटे सिङ लिएर सिँगौरी खेल्न आएको’ टिप्पणी समेत ओलीले गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले भने बालेन र रवि लामिछानेतर्फ लक्षित गर्दै निर्वाचन जित्ने प्रायोजनका लागि मात्रै केही पात्रहरू एक ठाउँमा उभिएको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिएकाप्रति लक्षित गर्दै उनले नयाँ अनुहार हुँदैमा नयाँपन नहुने जिकिर गरे।
समयक्रममा हरेक कुरा नयाँबाट पुरानो हुँदै जाने उल्लेख गर्दै सभापति थापाले नयाँ र पुरानोबीचको वास्तविक फरक विचार, दृष्टिकोण र प्रतिबद्धतामा हुने बताए। महाधिवेशनपछि कांग्रेस बद्लिएको र नयाँ ऊर्जासहित अघि बढेकाले आजको दिनमा कांग्रेसभन्दा नयाँ अरू पार्टी नभएको दाबीसमेत उनले गरे।
काठमाडौँ क्षेत्र नम्बर ४ मा गगन थापाले चुनाव नलड्ने भएपछि उम्मेदवार बनेका सचिन तिमलसेनाले पार्टी सभापति गगन थापा प्रधानमन्त्रीको मिसनमा सर्लाही गएको बताउँदै अबको पाँच वर्ष आफूले भरत बनेर अयोध्याजस्तै क्षेत्र नम्बर ४ सम्हाल्ने बताएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले व्यक्ति बुढो भए पनि पार्टी बुढो नहुने उल्लेख गर्दै ‘न्यु टेस्ट’ का नाममा देशलाई प्रयोगशाला बनाउन नहुने चेतावनी दिएका छन्।
यता, टुक्राटाक्रा साना दललाई समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७२ वर्ष पुगिसक्दा पनि अझै नेतृत्वको भोक कायमै रहेको बताएका छन्। उनले अझै केही वर्ष सक्रिय भएर भिड्ने अभिव्यक्ति दिएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.