नेपाली साहित्यका प्रख्यात कवि अगमसिं गिरीको ९८औँ जन्मजयन्तीको पुण्यतिथिका अवसरमा सिलगढी देवकोटा सङ्घले एउटा भव्य कार्यक्रमको आयोजना ग¥यो। २७ डिसेम्बर २०२५ (१२ पौष २०८२)का दिन आयोजित साहित्यिक कार्यक्रमको प्रमुख अतिथिका लागि साहित्यसाधक प्रा.डा.गोविन्दराज भट्टराई आमन्त्रित हुनुहुन्थ्यो।
कार्यक्रमका दिन फजिरै पाँचभित्र दमकको फाल्गुनन्द चोकमा भेला हुने, त्यहीँ गाडी आउँछन् र चढ्ने भनिएबमोजिम उर्लाबारीबाट रेवती घिमिरे, इन्द्रप्रसाद घिमिरे, यज्ञ परिश्रमी र चूडामणि पौडेल आइपुग्नुभएको रहेछ र केही समय पश्चात् म पनि पुगेँ। क्रमशः खेमलाल पोख्रेल, पदमप्रसाद ओली, मेघनाथ बन्धु पनि आउनुभयो।
त्यतिन्जेल बिहानको ५ः१५ बजिसकेको थियो। लगतै भाङ्गबारीबाट गाडीमा प्राध्यापक भट्टराई, कमलराज भट्टराई, वैदिक अत्री आउनुभयो, गाडी रोकियो। त्यसपछि अर्को गाडी पनि आयो। त्यसगाडीमा भने प्रा.डा.अञ्जना भट्टराई, निर्मला भट्टराई, खगेन्द्र भट्टराई र डा. व्यञ्जना शर्मा हुनुहुन्थ्यो। अर्को तयारीमा रहेको गाडीमा कमलराज भट्टराई चढ्नुभयो। साथमा पदमप्रसाद ओली रेवती घिमिरे, इन्द्रप्रसाद घिमिरे, यज्ञ परिश्रमी, चूडामणि पौडेल, मेघनाथ बन्धु चढेपछि भृकुटी चोकबाट हेमनाथ अधिकारीलाई चढाउने गरी गाडी गुड्यो। गाडी गन्तव्यतिर गुड्यो। दमकको पशुहाट छेउबाट बिन्दु दाहाल मूकदर्शक पनि थपिनुभयो।
बिहानको समय, पौष महिनाको हुस्सु र तुसारोले गर्दा बाटो छ्याङ्गसँग देखिँदैनथ्यो। पाडाजुंगी चौकमा पर्खिएर बस्नु भएका लक्ष्मण गाम्नागेलाई देखेर गाडी रोकियो। उहाँ पनि चढ्नुभयो। केही समय पश्चात् सीतापुरी चौकदेखिको पल्लो नमूना चोकबाट हरि गौतम चढ्नुभयो। त्यसपछि दुधेको पश्चिम बसस्टेण्डबाट भने वीरेन्द्र थोक्लिहाङ चढ्नुभयो। र गाडी ढुक्कसँगले गन्तव्यतिर अघि गुड्दै गयो।
समग्रमा हामी बीस जना तीनवटा स–साना गाडीमा सवार भई पूर्व लाग्यौँ। काँकडभिट्टाको बसस्टेण्डमा सबै भेला भई चियाको चुस्की लिए पश्चात् मेची पुल कटेर सीमामा चेकजाँचको प्रक्रिया पूरा गराई सिलगढीतर्फ विना रोकटोक ढुक्कसँग लाग्यौँ।
सिलगढीको प्रधान नगरको सिलगढी देवकोटा सङ्घको भव्य भवन अगाडि हाम्रा गाडी रोकिए। हामी ठिक समयमै गन्तव्यमा पुग्यौँ। अनि पालैसँग गाडीबाट उत्रियौँ। त्यहाँ गोविन्द सरलाई देख्नासाथ देवकोटा सङ्घका अध्यक्ष मिलन रुचाल, सचिव श्याम श्रेष्ठ, बाडुली पत्रिकाका सम्पादक प्रा.डा.कृष्णराज घतानी लगायतका महानुभावले हार्दिकताले मूल ढोकामै स्वागत गर्नुभयो। त्यसपछि उहाँहरूले देवकोटा सङ्घको कार्यालयमा लगेर बसाउनु भयो।
गाडीबाट उत्रिनासाथ अगाडि नै सहभागीहरूको नाम लेख्न भनिएकाले हामीले नाम टिपेका थियौँ। त्यही नाम लिस्टअनुसार खेमलाल सरले नाम भन्दै जानुभयो। र हाम्रा गुरु गोविन्द सरले प्रत्येकको छोटो विवरण दिँदै परिचय गराउनुभयो। त्यहाँ उपस्थित सङ्घका पदाधिकारीले पनि आ–आफ्नो परिचय दिनुभयो। तत्पश्चात् हामीले आ–आफ्ना कृतिहरू अध्यक्ष रुचालमार्फत सङ्घको पुस्तकालयका लागि उपहार बुझायौँ। यसपछि उहाँहरूले हामीलाई देवकोटा सङ्घ भवनको साम्नेमा रहेको झोलभात होटलमा लिएर जानुभयो।
त्यस भोजनालयमा हाम्रा निम्ति चिया खाजाको व्यवस्था गरिएको रहेछ। हामी लगायत अन्यत्रबाट निम्त्याइएका सबैले सन्तुष्टिका साथ चिया खाजा ग्रहण गयौँ। त्यसपछि लगतै हामी देवकोटा सङ्घको भवनतिर लाग्यौँ। कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक भट्टराई, मुख्य अतिथि प्रा. मोहन पी. दाहाल र डा.रिञ्जी वाङ्दीले भवनको मूलढोकाको देब्रेपट्टि कुनामा ठड्याइएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको सुनौलो आकर्षक प्रतिमा (सालिक)मा माल्यार्पण गर्नुभयो। समग्रमा हामी सबै सहभागी रह्यौँ।
तत्पश्चात् भवनभित्र प्रवेश गरियो। प्रदेश गर्ने क्रममा द्वारमा टीका लिई उभिएका कन्याहरूले सिन्काले टीका लगाई दिए। त्यसपछि भवनभित्र दक्षिण पूर्वपट्टि शान्त मुद्रामा बसेका बुद्ध भगवान्को प्रतिमा रहेछ। उक्त प्रतिमामा हाम्रा टोली प्रमुख दमक, झापाका प्रतिभा निकेतनका अध्यक्ष राज भट्टराईले दीप प्रज्ज्वलन र माल्यार्पण गर्नुभयो। हामीले मनमनै शान्तिको कामना गयौँ।
तत्पश्चात् भने हामी सम्पूर्ण अतिथिगणलाई ससम्मान सोही भवनको तेस्रो तलास्थित प्रेक्षागृह सभाहलतिर जान आमन्त्रण गरियो। प्रेक्षागृहमा राम्ररी लहर मिलाइका फरक–फरक रङ्गका कुर्सी राखिएका थिए। उल्लेखनीय नै भनौँ, ती कुर्सीमा अतिथिका नाम लेखिएका कागज टाँसिएका थिए। मञ्चबाट माइकिङ भइरहेको थियो,– “अतिथिगणहरू! कृपया आ–आफ्नो नाम लेखिएको कुर्सीमा आसन ग्रहण गर्नुहोला।”
⁎

आमन्त्रित प्रमुख अतिथि, मुख्य अतिथि एवम् विशिष्ट स्रष्टा, द्रष्टाहरूका लागि मञ्चको अगाडि भुईँमा सोफाहरूमा नाम लेखिएका कागज टाँसिएका थिए। सोफा पछाडिका भागमा फरकफरक रङ्गका कुर्सीहरू राखिएका थिए। सोफापछिका लाइनका हरिया रङ्गका कुर्सीहरूमा भने नेपालका अतिथि भनी लेखिएको थियो। तिनै हरिया कुर्सीमा हामी बस्यौँ। त्यसपछि कार्यतालिका र नरिवल पानीका एक–एक बोतल हाम्रा हातमा थमाइयो। प्रेक्षागृहको मञ्चको भित्तामा ठूलो ब्यानर टाँगिएको, ब्यानरको सिरानमाथि, सिलगढी देवकोटा सङ्घ, महाकवि लक्ष्मीप्रसाद देवकोटा पथ, प्रधान नगर ९८ औँ अगमसिं गिरी जयन्ती २०२५, प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, मुख्य अतिथि प्रा. मोहन पी.दाहाल र डा. रिञ्जी वाङदी लेखिएको थियो। त्यसैको मुनिपट्टि देवकोटा साहित्य पुरस्कार–२०२५, श्रीमान् मनप्रसाद सुब्बा, देब्रेतर्फ तस्बिर, गिरी साहित्य सेवा पुरस्कार–२०२५, श्रीमान् मुक्तिप्रसाद उपाध्याय बराल–२०२५ दाहिनेतर्फ तस्बिर, अन्तिममा समकालीन साहित्य चिन्तक र अगमसिंह गिरी डा. इन्द्रमान सुब्बा लेखिएको थियो।
प्रेक्षागृहको मञ्चमा आवश्यकताअनुसारका सीमित कुर्सीहरू राखिएका थिए र मञ्चको दक्षिणतिरको अगाडिको कुनामा पोडियम राखिएको। सङ्घका उपाध्यक्ष देवराज शर्माले उद्घोषण गर्दै गर्दा अतिथिहरू निर्देशित स्थानमा बसिसक्नु भएको थियो।
उद्घोषकबाट निर्धारित समयमा कार्यक्रम सुरु भयो। मञ्चमा राखिएका कुर्सीमा प्रमुख अतिथि, मुख्य अतिथिहरूलाई मञ्चासीन गराई खादाले सम्मान गरियो। लगत्तै उद्घोषक शर्माले मन्त्रोच्चारण र प्रमुख एवम् मुख्य अतिथिबाट संयुक्त रूपमा उद्घाटन दीप प्रज्ज्वलित गरिएको थियो। अब मञ्चासीन प्रमुख एवम् मुख्य अतिथिलाई अगाडिकै निर्धारित स्थानमा आसन ग्रहण गर्न भनी सविनय निवेदन अनुसार यथास्थानमा पाल्नुभयो।
अतिथि सम्मान र स्वागतका लागि नृत्याङ्गना तृषादास पालबाट गरिएको उत्कृष्ट शास्त्रीय नृत्यवन्दना प्रस्तुति स्तुत्य थियो। लगत्तै सङ्घका सदस्यहरूबाट राष्ट्रिय गान प्रस्तुत गरियो। हामी ससम्मान उभियौँ।
त्यस पश्चात् सङ्घका सचिव श्याम प्रधानज्यूले स्वागत वक्तव्य दिनुभयो। वक्तव्यपछि सङ्घमा आबद्ध नारीवर्ग सेतो साडी र सुनौलो चोलीले सजिएका चौधवटी महिला गण एवम् चार पुरुषहरू एकै लहरमा उभिएर सत्यम् शिवम् सुन्दरम् बोलको सुमधुर गीत प्रस्तुत भएको थियो।
वार्तापक्षमा भने कलिलै उमेरमा विद्यावारिधिको उपाधि पाएका डा. इन्द्रमान सुब्बाबाट समकालीन साहित्य चिन्तन र अगमसिंह गिरीको योगदान सम्बन्धी सार गर्भित चर्चा प्रस्तुत गरिएको थियो। त्यसपछि गिरीका दुई कविता प्रियान्सु राई र नितेश राई द्वयबाट सस्वर वाचन गराइएका थिए। त्यसक्रम पछि लगत्तै देवकोटा सङ्घको मुखपत्र बाडुली साथै मुक्तिप्रसाद उपाध्याय बरालको समीक्षात्मक कृति जातीय कवि अगमसिंह गिरीको लोकार्पण भएको थियो।
बाडुलीका प्रमुख सम्पादक प्रा.कृष्णराज घतानीको विचार प्रस्तुति पछि देवकोटा सङ्घका कोषाध्यक्ष कृष्ण मग्रातीले नेपाली चलचित्र लाहुरेको लोकप्रिय गीत ‘वीरताको चिनो…” बोलको गीत गाएर सबै श्रोताहरूलाई आनन्दमा डुबाउनुभयो। सुमधुर स्वरमा नेपालीको गौरव गाथाको गीतले श्रोताहरू मन्त्रमुग्ध देखिन्थे।
त्यसपछि सिलगढी देवकोटा सङ्घद्वारा वर्षेनी दिइने देवकोटा साहित्य सेवा पुरस्कार २०२५ एवम् गिरी साहित्य सेवा पुरस्कार २०२५को घोषणा मुताबिक कवि मनप्रसाद सुब्बालाई देवकोटा साहित्य सेवा पुरस्कार २०२५, र साहित्यकार मुक्तिप्रसाद उपाध्याय बराललाई गिरीसाहित्य सेवा पुरस्कार २०२५, ससम्मान खादा, दोसल्ला ओढाएर सम्मान पत्र, नगद, बुद्धको प्रतिमा र बिरुवा प्रदान गरिएको थियो। उहाँहरू सम्मानित स्रष्टाको सम्मान पत्रमा उल्लेखित ब्यहोरा भने संस्थाकी उपाध्यक्ष देवीका मग्राती राईले वाचन गरेर सुनाउनु भएको थियो।
सम्मान कार्यक्रम पश्चात् सम्मानित एवम् पुरस्कृत स्रष्टा कवि मनप्रसाद सुब्बा र साहित्यकार मुक्तिप्रसाद उपाध्याय बरालले सारयुक्त भनाइ राख्नु भई कृतज्ञता व्यक्त गर्नुभयो। त्यसबीचमा आठ, दशवटा फोटाहरू पनि खिचिँदै थिए। बिर्तामोड, झापा नेपालबाट आमन्त्रित विशिष्ट अतिथि चन्द्र भण्डारी एवम् लीला अनमोलले मन्तव्य प्रस्तुत गरी मायाको चिनो बुद्धको प्रतिमा ग्रहण गर्नुभयो।
कार्यक्रमलाई पट्यारलाग्दो नहोस् भनी समय समयमा सुमधुर गीतहरू प्रस्तुत गरिन्थ्यो। यसैक्रममा ‘प्यारो प्यारो मेरो नेपाली …’ बोलको गीत पार्वती ठकुरीले र ‘हे गोर्खाली …’ बोलको गीत ममता प्रधानले सुमधुर स्वरमा गाएर सुनाउनु भयो। तत्पश्चात् स्नेहा गुरुङले मारुनी भाकाको नृत्य प्रस्तुत गरिन्।
समारोहकी मुख्य अतिथि डा. रिञ्जी वाङ्दीले आफू नेपालको त्रिविविमा उच्च शिक्षा हासिल गर्न आउँदाको सम्झना गर्दै अतीतका मिठा प्रसङ्गलाई कोट्याउनुभयो। दान खालिङ, अरुणा लामा, इन्द्रबहादुर राई एवम् अगमसिंह गिरीका प्रसङ्गहरू क्रमिक रूपमा सुनाउनुभएको थियो।
विशिष्ट अतिथि शङ्करदेव ढकालको सान्दर्भिक मन्तव्य पश्चात् स्नेहा गुरुङको नृत्य र तत्पश्चात् साहित्य एकादेमी पुरस्कार प्रापक स्रष्टाहरू अमर बानियाँ ‘लोहोरो’, युवा बराल, सुभाष ठकुरी, साङ्ग लेप्चा लगायतलाई सम्मान गरिएको थियो। एकादेमी पुरस्कार प्राप्तकर्ता अमर बानियाँ ‘लोहोरो’सँग साक्षात्कार गर्न पाइयो।
कार्यक्रमको अन्तमा प्रमुख अतिथि प्राध्यापक भट्टराईले आफ्नो सारगर्भित मन्तव्यमा साहित्य सम्मेलन दार्जिलिङले गौरवशाली नेपालीले शताब्दीभरिमा वाङ्मयिक कार्यको उल्लेख, नेपाली भाषा साहित्यमा बादल लाग्न नदिएको चर्चा गर्नुका साथै अगमसिंह गिरी स्मृति कार्यक्रम अपूर्व र उत्सव भव्य भएको घोषणा गर्नुभयो। विश्व साहित्यमा देवकोटालाई प्रतिस्थापन गर्न अङ्ग्रेजी भाषामा लेखिएको देवकोटा द जेम अब नेपाली लिटरेचर पुस्तक देखाएर एक–एकप्रति मनप्रसाद सुब्बा, मुक्तिप्रसाद उपाध्यायलाई हस्तान्तर गर्नुभयो। सम्मानित स्रष्टाहरूलाई हार्दिकताका साथ बधाई ज्ञापन, आयोजक पक्षलाई धन्यवाद अर्पण गर्दै आभार व्यक्त गर्दै आफ्ना भनाइ पूरा गर्नुभयो।
कार्यक्रमको अन्तमा अध्यक्षको समापन वक्तव्य साथै साहित्य विभागकी संयोजिका देवीका मग्राती राईबाट धन्यवाद ज्ञापन गरिएको त्यो अपूर्व भएकाले अवर्णनीय थियो।
कार्यक्रमका विशिष्टता
– अत्यन्त शिष्ट र शान्त वातावरणमा निर्धारित समयमा कार्यक्रम सुरु गरिनु।
– आमन्त्रित प्रमुख अतिथि, मुख्य अतिथि, विशिष्ट अतिथि एवम् स्रष्टाहरूको नाम सोफा÷कुर्सीमा टाँसी स्थान तोक्नु।
– मञ्चमा आवश्यकता अनुसार कुर्सी राख्ने र हटाउने प्रबन्ध मिलाउनु।
– निर्धारित कार्य वा भूमिका निर्वाह गर्नासाथ खादा र मायाको चिनोले सम्मान गर्नु।
– नृत्याङ्गना तृषादास पालका सासू–ससुरा समेत सम्मानित हुनु प्रेरक अनुभूति लाग्ने।
– मायाको चिनोको रूपमा गमलामा बिरुवा उपहार प्रदान गरिनुले वातावरणप्रतिको चेतनाको सङ्केत गराइएको।
– विशिष्ट अतिथिहरू दर्शक दीर्घामै बस्न रुचाउनु।
–प्रत्येक प्रस्तुति नृत्य, गीत, मन्तव्य आदि सबैको समय लिखित रूपमा निर्धारण गरिएको।
–कार्यक्रमको तालिकालाई पूर्ण परिपालन गरिएको।
–मन्तव्य तथा कार्यक्रम प्रस्तोताले समय परिपालन गरेकाले उद्घोषकलाई बाधा नभएको।
उल्लेखित बुँदागत विवरणका आधारमा कार्यक्रम उदाहरणीय, अनुकरणीय एवम् प्रशंसनीय रहेकाले उत्कृष्ट बनेको थियो। आयोजकप्रति बधाई एवम् मङ्गलमय कामना!
⁎
दिनको २ः३० मा कार्यक्रमको समापन भयो र, देवकोटा सभा भवनको भुइँतलामा रहेको पाकशालामा खानपानको व्यवस्थापन भएको रहेछ। तीन बजेतिर विविध परिकार (व्यञ्जन) का स्वादिष्ट भोजन ग्रहण गयौँ र भवन अगाडिको देवकोटाको सालिक छेउमा दुईचार सस्नेह फोटा हानी जाँदाकै गाडीमा आ–आफ्ना सिटमा गई बसियो। गाडी गुरु (चालक)ले पनि गाडीलाई हाम्रा घरतिर गुडाई हाले।
मेचीपुल तरेपछि प्राध्यापक गोविन्द सरले कार्यक्रमको समीक्षा गर्न भनी पालो तोक्नुभयो। हामीले आ–आफ्ना विचार सुनायौँ। हाम्रा सहयात्री छन्दकवि बिन्दु दाहाल मूकदर्शकले आफ्नो रचना छन्द कविता सुनाएर थप आनन्दित गराउनुभयो। साथमा वैदिक अत्रीको गफले बाटो छोटिएको पत्तै पाइएन। यता झन्डै चारआली आइपुगेपछि गोविन्द सर अर्को गाडीमा जानुभयो। उहाँको सट्टामा कमलराज सर थपिनुभयो। त्यसपछिको माहोल बदलियो अर्थात् प्रसङ्ग बदलियो फरक ढङ्गको मिसमासे पाराको।
दूधेमा वीरेन्द्र थोक्लिहाङ उत्रिनुभयो। त्यसपछि क्रमशः सीतापुरी पूर्वको नमूना चोकमा हरि गौतम, पाडाजुँगी चोकमा लक्ष्मण गाम्नाने, पशुहाट हाइटको नजिक दक्षिणपट्टि बिन्दु दाहाल मूकदर्शक, भृकुटी चोकको उत्तर रातोपुल छेउमा खेमलाल पोखरेल पछि फाल्गुननन्द चोकमा म उत्रिएँ, बाँकी सरहरू भाङ्गबारीतिर लाग्नुभयो। यसरी बीस जनाको समूहमा एक अपूर्व साहित्यिक उत्सवमा सहभागी गराउनु हुने स्तुत्य गुरु प्रा.डा. गोविन्द सरप्रति आभार व्यक्त गर्दै सतत नमन!
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.