निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गोप्य मतमार्फत इतिहास रच्न सुनिल बाबुको आब्हान

गोप्य मतमार्फत इतिहास रच्न सुनिल बाबुको आब्हान

‘श्रीवत्स चिन्ह’मा भोट हाल्न आग्रह

80
SHARES

काठमाडौँ – संविधानसभाका सदस्य तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकार प्राप्तिका अग्रणी अभियन्ता सुनिल बाबु पन्तले समावेशी समाजवादी पार्टीलाई गोप्य मतदानमार्फत समर्थन गर्न अपिल गरेका छन्।

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, अपाङ्गता भएका समुदाय र मनोरञ्जन क्षेत्रमा काम गर्ने व्यक्तिहरू लामो समयदेखि राज्य, समाज र संसदबाट उपेक्षित रहँदै आएको उल्लेख गरेका छन्।

पन्तका अनुसार यी समुदायलाई समाजले देख्न चाहेन, राज्यले सुन्न चाहेन र संसदले उनीहरूको आवाज समेट्न सकेन। पन्त स्वयं २०६४ सालको पहिलो संविधानसभामा पुगेपछि हालसम्म समुदायबाट कोही पनि संसदमा पुग्न नसक्नु गम्भीर अन्याय भएको उनको ठहर छ। उनले यो अवस्थालाई केवल प्रतिनिधित्वको अभाव मात्र नभई जीवन, अधिकार, अस्तित्व र भविष्यसँग प्रत्यक्ष जोडिएको सवालका रूपमा चित्रित गरेका छन्।

शिक्षा, स्वास्थ्य, रोजगारी, आरक्षण, विवाह, पैतृक सम्पत्ति, पहिचान र सुरक्षाको अधिकारजस्ता विषय अन्य सांसदहरूले कहिलेकाहीँ उठाए पनि, आफ्नै समुदाय संसदमा नपुगेसम्म ती मुद्दा अधुरा नै रहने पन्तको भनाइ छ। उनका अनुसार आफूहरू नभई आफ्नो कथा पूर्ण हुन सक्दैन।

पन्तले अझै पनि धेरै समलिङ्गी, तेस्रोलिंगी तथा अन्तरलिंगी व्यक्तिहरू खुलेर आफ्नो पहिचान सार्वजनिक गर्न नसकेको अवस्था रहेको उल्लेख गरे। परिवार, समाज र परम्पराको दबाबले धेरैलाई विपरीत लिङ्गसँग विवाह गरेर बस्न बाध्य बनाइएको उनको भनाइ छ। सबैले खुल्नैपर्छ भन्ने बाध्यता नरहेको भए पनि, मतदान भने गोप्य हुने भएकाले यही गोप्य मतमार्फत आफ्नो समुदायको पक्षमा इतिहास बनाउन सकिने उनले बताए।

उनले समावेशी समाजवादी पार्टीलाई आफ्नै पीडा, सङ्घर्ष, सपना र सम्मानको राजनीति संसदसम्म पुर्‍याउने माध्यमका रूपमा व्याख्या गरेका छन्। यही कारण यसपटक समानुपातिकतर्फ “श्रीवत्स चिन्ह” मा भोट हाल्न उनले आग्रह गरे।

पन्तले मतदातालाई आफ्ना आमा–बुबा, साथीहरू, दिदीबहिनी, दाजुभाइ र आफन्तहरूलाई पनि समावेशी समाजवादी पार्टीलाई भोट हाल्न आग्रह गर्न अपिल गरे। उनका अनुसार आफूहरूलाई भोट हाल्नु भनेको आफूहरूलाई नै सम्मान दिनु हो।

उनले यस निर्वाचनलाई केवल चुनावको रूपमा होइन, पहिचानको जनगणना, अस्तित्वको घोषणा र एकताको ऐतिहासिक अवसरका रूपमा लिन आग्रह गरे। सबै जात, जाति, भाषा, धर्म, लिङ्ग र क्षेत्रका सबै तहमा उपस्थिति हुँदाहुँदै पनि आफूहरू सीमान्तकृत अवस्थामा रहेको भन्दै, अहिले गोप्य मतदानमार्फत एकजुट भएर आफ्नो समुदायका लागि योगदान दिने अवसर आएको उनको भनाइ छ।

एक पटक राजनीतिक शक्तिका रूपमा स्थापित हुन सके विभेद हटाउन, कानुन संशोधन गर्न, आर्थिक अवसर सिर्जना गर्न र सम्मान, सुरक्षा तथा समृद्ध भविष्य सुनिश्चित गर्न सकिने पन्तको विश्वास छ।

उनले यस क्षणलाई ऐतिहासिक भन्दै, एक पटक आफ्ना लागि भोट दिन, आफ्ना लागि आवाज बन्न र आफ्ना लागि इतिहास लेख्न सबैलाई आग्रह गरेका छन्।

समानुपातिकतर्फ समावेशी समाजवादी पार्टी, “श्रीवत्स चिन्ह” मा भोट हाल्न उनको आव्हान छ। “हामी एक हौँ। हामी शक्तिशाली बनौँ,” पन्तले सन्देश दिएका छन्।

समाचार शेयर गर्नुहोस्
80
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.