निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार सिटौला, के हो घटना?

रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार सिटौला, के हो घटना?

72
SHARES

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार वालेन्द्र साह बालेनको चुनावी प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौलाको निधन भएको छ।

ग्राण्डी अस्पतालले विज्ञप्ति जारी गरी आइतबार दिउँसो १२:४५ बजे उपचारका क्रममा सिटौलाको निधन भएको जानकारी दिएको हो।

जारी विज्ञप्तिमा लेखिएको छ, ‘इन्टेन्सिभ केयर युनिट’ का बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै सङ्केत थिएन। बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्श दिइयो। चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोजेटिभ थियो, जसले स्वतः श्वासप्रश्वास नभएको जनाउँछ। र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौँ।’

अस्पतालका अनुसार उनलाई सब–अरैक्नोइड ह्यमरेज भएको थियो। अछाममा बालेनको चुनावी प्रचारमा सहभागी भइरहेका बेला उनी एक्कासि बेहोस भएका थिए। उनी चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्षसमेत थिए।

त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई ग्राण्डी अस्पताल भर्ना गरिएको थियो। उनी बालेनसँग सुदूरपश्चिम यात्रामा थिए। अछाममा अचानक अचेत चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्षसमेत रहेका ४३ वर्षीय सिटौला बालेनको टोलीसँगै केही दिनदेखि सुदूरपश्चिम र कर्णाली क्षेत्रको भ्रमणमा थिए।

गत शुक्रवार बिहान करिब ९:४५ बजे अछामको मङ्गलसेन जाने क्रममा एक स्थानमा चिया खान गाडीबाट ओर्लिने क्रममा उनी गाडीबाट लडेका थिए।

तत्काल उनलाई अछाम जिल्ला अस्पताल पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएकाले जिल्ला प्रशासन कार्यालय अछाम, प्रहरी कार्यालय अछाम र स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हवाई उद्धार टोलीले उनलाई सुर्खेत हुँदै काठमाडौँ ल्याएको थियो।

जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी (सिडिओ) यज्ञराज बूढाले पत्रकार सिटौला अछाम २ का रास्वपाका उम्मेदवार एवं बालेन काठमाडौँको मेयर हुँदादेखिका स्वकीय सचिव भूपदेव शाहको घरमा चिया पिउन जाने क्रममा गाडीबाट लडेको र अस्पतालमा स्थिति अप्ठ्यारो भएको भन्दै सहयोग गरिदिनुपर्‍यो भनेर सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्टले सहयोग मागेको बताए।

‘बालेनका सहयोगी भूपदेव शाहको घरमा चिया खाएर निस्किने क्रममा स्कार्पियो गाडीबाट ओर्लन खोज्दा सिटौला ढलेर टाउकोमा चोट लागेको भन्दै रास्वपा सुदूरपश्चिमका सभापति प्रकाश विष्टले सहयोग माग्नुभयो।’ उनले भने, ‘अनि मैले गृह मन्त्रालयमा समन्वय गरेर नेपाली सेनाको हेलिकप्टर मगाइदिएँ।’

रास्वपा सुदूरपश्चिमका सभापति प्रकाश विष्टले भने आफूलाई त्यसबारेमा थाहा नभएको भन्दै तर्किए। उनले भने, ‘जिल्ला अस्पतालले पनि भनिसकेको अवस्था छ भने ग्राण्डी अस्पतालले पनि विज्ञप्ति निकालिसकेको छ। यसमा मैले केही भन्दै पर्दैन। उहाँ अचेत भएर लडेको हो।’

जिल्ला अस्पताल अछामका प्रमुख डा. कमलेश यादवका अनुसार पत्रकार सिटौलालाई अस्पताल ल्याउँदा अवस्था गम्भीर थियो। ‘उहाँलाई अस्पताल ल्याइपुर्‍याउँदा अचेत अवस्थामा हुनुहुन्थ्यो। रक्तचाप थिएन। शरीर चिसो भइसकेको थियो भने श्वासप्रश्वाससमेत चलिरहेको थिएन,’ डा. यादवले भने, ‘सिटी स्क्यान गरेपछि मात्र यकिन गर्न सकिन्थ्यो। टाउकोमा चोट लागेर रगत जमेको शङ्का देखियो। जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले मैले काठमाडौँ लैजानु पर्छ भनेर मैले रेफर लेटर लेखिदिएको हुँ।’

त्यसपछि काठमाडौँ निवासी पत्रकार सिटौलालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँस्थित ग्रान्डी अस्पतालमा पुर्‍याइयो।

उनलाई सघन उपचार कक्ष (आइसियु) मा राखेर सुरु गरियो। तर उपचारमा संलग्न एक चिकित्सकका अनुसार सिटौलालाई ब्रेन ह्यामरेज पुष्टि भयो। उनले भने, ‘उहाँलाई सुरुमै करिब ४५ मिनेटसम्म सिपिआर (मुटु र श्वासप्रश्वास पुनः सञ्चालन गराउन गरिने प्राथमिक जीवनरक्षक उपचार) गरिएको रहेछ।

ब्रेनको नसा फुटेर रगत जमेको देखिएको थियो। उनका अनुसार सिटौला गाडीबाट लडेर बेहोस हुँदा बालेनसँगै रहेको उनको सचिवालयका बताएको थियो। उनले भने, ‘पत्रकार सिटौला बेहोस हुँदा बालेनजी उहाँको पछाडि नै हुनुहुन्थ्यो। साथीहरूले घटनास्थलमै सिपिआर दिएका थिए। उहाँहरूले बेहोस अवस्थामै सिटौलालाई अस्पताल ल्याउनु भएको थियो।’

अस्पतालको प्रयास र मृत्युको घोषणा

अस्पतालले आइतबार पत्रकार सम्मेलन गरेर सिटौलाको निधन भएको आधिकारिक जानकारी दिएको छ। ग्राण्डी अस्पतालका अनुसार दिनेशलाई गम्भीर किसिमको ‘सबअरेनहाइड हेमोरेज’ (मस्तिष्कको नसा फुटेर हुने रक्तस्राव) भएको थियो। न्युरो सर्जरी र क्रिटिकल केयर टिमले संयुक्त रूपमा उपचार गरे पनि ४८ घण्टापछि उनको स्वास्थ्यमा कुनै सुधार आएन।

चिकित्सकीय प्रोटोकलअनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न गरिएको ‘अप्नेया’ परीक्षणपछि अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको हो। अस्पतालले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै उनको निधन शुक्रवार दिउँसो १२:४५ बजे नै भएको जानकारी दिएको छ।

यद्यपि रास्वपा नेताहरूले स्वास्थ्य अवस्था सार्वजनिक नगर्न आग्रह गरेका कारण शनिवार बेलुकासम्म अस्पताल प्रशासन औपचारिक रूपमा बोलेको थिएन।

रास्वपाको चुनावी अभियानमा दोहोरिएको वियोग

रास्वपाको चुनावी गतिविधिसँग जोडिएर ज्यान गुमाउने सिटौला दोस्रो व्यक्ति हुन्। यसअघि चितवनमा चुनावी अभियानकै क्रममा २०७९ वैशाखमा पार्टी सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको मृत्यु भएको थियो।

सिन्धुपाल्चोकका ३९ वर्षीय थापा वैशाख ४ गते राति चितवनस्थित लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।

टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

शिक्षण अस्पतालमा पोस्टमार्टम

उपचारका क्रममा निधन भएका पत्रकार दिनेश सिटौलाको अन्त्येष्टि पूर्व पोस्टमार्टम गर्न प्रहरीले सुझाव दिएसँगै शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम हुँदैछ।

ग्राण्डी अस्पतालमै पुगेर प्रहरी अधिकारीहरूले परिवारलाई पोस्टमार्टम गराउन भनेका थिए। अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएपछि परिवारका सदस्यहरूले पोस्टमार्टम नगराउने अडान लिएका थिए।

डिएसपी नवराज पोखरेलले पछि कुनै कानुनी प्रक्रियामा जानुपर्ने अवस्था आयो भने पोस्टमार्टम रिपोर्ट चाहिने सुझाव दिएपछि परिवारका सदस्यहरूले पोस्टमार्टममा जोड दिएका थिए।

सिटौला बालेनको टोलीमा पत्रकारका रूपमा भन्दा पनि टोली सदस्यका रूपमा सहभागी भएको थिए। जसमा दुई ओटा गाडीमा प्रकाश विष्ट, भूपदेव शाह र अर्जुन घिमिरे (पाँडे) सँगै थिए। सिटौला भने पत्रकारको गाडीमा थिए।

सिटौला लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय थिए र पछिल्लो समय बालेनको अभियानमा निकट रहेर काम गरिरहेका थिए। चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्षसमेत रहेका सिटौला ‘द सिनेमा टाइम्स’ अनलाइन पोर्टलका सम्पादक/अध्यक्षसमेत थिए।

सिटौलाले एक समय नेपाल टेलिभिजनमा चलचित्र सम्बन्धी कार्यक्रम पनि चलाउँथे। दर्जनभन्दा बढी फिल्महरूमा प्रेस संयोजकका रूपमा काम गरेको पृष्ठभूमि भएकाले सिने क्षेत्रका निम्ति उनी चर्चित पत्रकारका रूपमा चिनिन्थे।

समाचार शेयर गर्नुहोस्
72
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.