काठमाडौँ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले आगामी कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
आइतबार जापानको राजधानी टोकियोमा आयोजित समारोहकाबीच शेरचनले ‘सुदृढ सङ्गठन, दरिलो एकता : हाम्रो अभियान’ भन्ने नाराका साथ आफ्नो उम्मेदवारी गरेका हुन्।
आगामी मार्च १४, १५ र १६ मा काठमाडौँमा हुने सङ्घको १२औँ विश्व सम्मेलनबाट नेतृत्वमा पुग्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गर्ने क्रममा शेरचनले संस्थाभित्रको विभाजन अन्त्य र सुदृढीकरण आफ्नो मुख्य एजेन्डा भएको बताए।
विगत १५ वर्षदेखि जापानलाई कर्मभूमि बनाएर सङ्घका विभिन्न जिम्मेवारीमा कुशलतापूर्वक काम गरिसकेका शेरचनले सो क्रममा आफ्नो १५ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरे।
शेरचनले एनआरएनए विगत केही वर्षदेखि अत्यन्तै कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको स्वीकार गरे। उनले संस्थालाई पुनः एकताबद्ध बनाउनु आफ्नो प्राथमिक दायित्व हुने बताए। ‘एक मन, एक सङ्गठन’ को अवधारणा अघि सार्दै उनले संस्थाभित्रको आन्तरिक कलह र मनमुटाबलाई सधैँका लागि अन्त्य गरी सबै अभियन्ता र गैरआवासीय नेपालीलाई एउटै छानोमुनि ल्याउने सङ्कल्प गरे।
नागरिकता र मताधिकारको मुद्दा प्राथमिकतामा
शेरचनको कार्य योजनामा गैरआवासीय नेपालीहरूको नागरिकता र मताधिकारको मुद्दाले विशेष प्राथमिकता पाएको छ। संविधानले प्रदत्त गरेको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका प्रशासनिक र कानुनी जटिलता हटाउन आफूले निर्णायक पहल गर्ने उनले घोषणा गरे।
विशेष गरी सर्वोच्च अदालतको परमादेश अनुसार प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग प्रभावकारी समन्वय गर्ने उनको प्रतिबद्धता छ।
करिब २०० वर्षदेखि अन्यायमा परेका भूतपूर्व गोर्खाहरूको समान पेन्सन र अधिकारको मुद्दालाई शेरचनले विशेष जोडका साथ उठाएका छन्। बेलायत सरकारसँग भइरहेको जीटूजी वार्तालाई तार्किक निष्कर्षमा पुर्याउन एनआरएनएको तर्फबाट दबाबमूलक र सहयोगी भूमिका खेल्ने उनको योजना छ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा, कार्यस्थलको सुरक्षा र हकहितका लागि ‘श्रम डेस्क’ लाई थप प्रभावकारी र सक्रिय बनाउने उनले बताए।

आर्थिक एजेन्डामा शेरचनले ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ लाई २५ अर्ब रुपैयाँको बनाएर साना लगानीकर्ताहरूलाई समेत समेट्ने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई आइपिओ मार्फत जोड्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छन्। नेपालमा विदेशी लगानी भित्र्याउन र एनआरएनहरूको लगानीलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक कानुनी सुधारका लागि लबिङ गर्ने उनको योजना छ।
निर्वाचित भएको ६ महिनाभित्र विधान अधिवेशन गरी सदस्यता वितरण र निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्ने शेरचनले वाचा गरेका छन्। ‘कम बोल्ने तर कामको नतिजा देखाउने’ छवि बनाएका उनले थाइल्यान्ड, म्यानमार लगायतका देशमा पुस्तौँदेखि बसोबास गर्दै आएका नेपाली मूलका समुदायलाई एनआरएन कार्ड उपलब्ध गराउने र उनीहरूलाई नेपालको मूलप्रवाहसँग जोड्ने विषयलाई पनि आफ्नो कार्य योजनामा समेटेका छन्।
विवादरहित नेतृत्व आजको आवश्यकता: अध्यक्ष महेश श्रेष्ठ
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका वर्तमान अध्यक्ष महेश श्रेष्ठले सङ्घको आगामी नेतृत्वका लागि रोबिन शेरचन जस्तो विवादरहित र सबैलाई समेट्न सक्ने व्यक्ति आवश्यक रहेको बताए। श्रेष्ठले विगत ५ वर्षको आन्तरिक विभाजनले विदेशमा रहेका ८० लाख नेपालीको आस्थामा चोट पुगेको बताउँदै अबको नेतृत्वले एकतालाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिए।
“विभाजित संस्थाका कारण सरकार र निजी क्षेत्रको हामीप्रतिको विश्वास टुटेको थियो, तर हालैको एकताले नयाँ आधार तयार गरेको छ,” अध्यक्ष श्रेष्ठले भने, “रोबिन शेरचनको स्वच्छ र समन्वयकारी छविले यो एकतालाई दिगो बनाउन सक्छ।”
अध्यक्ष श्रेष्ठले आर्थिक समृद्धिको तथ्याङ्क प्रस्तुत गर्दै १० लाख नेपालीले प्रतिमहिना २० हजार रुपैयाँ मात्र बचत गरी लगानी गर्ने हो भने वार्षिक २ खर्ब रुपैयाँ पुँजी जम्मा हुन सक्ने बताए।
उनले एनआरएनएले अब १ हजार मेगावाटको हाइड्रोपावर, रासायनिक मल उद्योग र हाइड्रोजन इन्धन जस्ता ठुला परियोजनामा लगानी गर्नुपर्ने धारणा राखे। नागरिकताको विषयमा बोल्दै उनले यसलाई अधिकारमुखी बनाउन आगामी फेब्रुअरी १२ र १३ मा परराष्ट्र मन्त्रालयसँग बसेर ऐनलाई अन्तिम रूप दिइने जानकारी समेत दिए।
कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्षहरू भवन भट्टले शेरचनलाई लिखित रूपमा सन्देश पठाएर सफलताको शुभकामना दिएका थिए। उनले साझा एनआरएनए बनाउन शेरचनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका थिए।
समारोहमा एनआरएनएका प्रभावशाली व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो। जसमा हिक्मत थापा, सोम लामा, राजेन्द्र कुमार शर्मा, यास्मिन बेगम, टीका गुरुङ, जितु गुरुङ, रोजिना प्रधान, एनआरएनए बेल्जियमका अध्यक्ष लोकेन्द्र नेपाल, जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, अस्ट्रेलियाका सचिव कल्याण खड्का, सुपेन्द्र घिसिङ, पिताम्बर भट्टराई, दिलीप गुरुङ लगायत सहभागी थिए।
त्यस्तै, एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत, युकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, विभिन्न राजनीतिक दलका प्रवास सङ्गठनका प्रतिनिधिहरू (रोशन केसी, कुलचन्द्र खरेल, मोहन पौडेल, दीपक केसी) तथा एसिया प्यासिफिकका अभियन्ताहरू अनिता गुरुङ र दीपक कँडेलले पनि शेरचनको उम्मेदवारीप्रति समर्थन जनाएका थिए।
कार्यक्रमको स्वागत मन्तव्य एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले गरेका थिए भने विभिन्न मुलुकका एनसीसी पदाधिकारीहरूले शेरचनको नेतृत्वले संस्थालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका थिए।
आगामी मार्च १४ देखि १६ सम्म नेपालमा हुने १२औँ विश्व सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्नेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.