निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चुनावमा नेपाली सेनालाई महत्त्वपूर्ण जिम्मेवारी

चुनावमा नेपाली सेनालाई महत्त्वपूर्ण जिम्मेवारी

सामाजिक सञ्जाल सबैभन्दा चुनौतीपूर्ण, सोहीअनुसार सुरक्षा रणनीति तय

68
SHARES

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चार वटै सुरक्षा निकाय परिचालन गरिएको छ। निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना अन्तर्गत एक महिना अघिबाटै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित गरिएको हो।

बुधवारदेखि १६५ वटै निर्वाचन क्षेत्रमा नेपाली सेनाको कमान्डमा अन्य सुरक्षा निकाय परिचालित भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नेपाली सेनाले महत्त्वपूर्ण संरचनाको सुरक्षा गर्ने तथा अन्य सुरक्षा निकायसँग समन्वय गर्ने जानकारी दिए।

उनले चुनावको सबैभन्दा चुनौतीपूर्ण विषय सामाजिक सञ्जाल रहेको उल्लेख गर्दै सोहीअनुसार सुरक्षा रणनीति तय गरिएको बताए।

जेनजी आन्दोलनमा भागेका फरार कैदीबन्दीका कारण चुनावमा सुरक्षा चुनौती बढिरहेको भनिए पनि हरेक जिल्लामा कडा सुरक्षा मापदण्ड अपनाइएको काफ्लेले जानकारी दिए।

प्रवक्ता काफ्लेका अनुसार मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो सुरक्षा घेरामा रहनेछ। नेपाली सेनाले राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेछ।

दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालले लिनेछ। उसले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ। नेपाल प्रहरीले भने सुरक्षा घेराको भित्री तहमा रही महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ।

नेपाल प्रहरीको विद्यमान जनशक्ति निर्वाचन व्यवस्थापनका लागि अपुग हुने भएकाले एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ पनि भर्ना गरिएको छ।

निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आगामी सातादेखि मात्र मैदानमा खटिनेछन्। नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन्।

तालिम दिएर फर्कने क्रममा बैतडीमा भीरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको बुधवार बिहान मृत्यु भएको हो।

सुन्दरखाली मैदानमा निर्वाचन प्रहरीहरूको तालिम गराइएको थियो। तालिम सकेर फर्कँदै गर्दा खरकटे सल्लेरी भन्ने स्थानको भीरबाट लडेर उनको मृत्यु भएको रायले जानकारी दिए।

उम्मेदवारका लागि छुट्टै बैङ्क खाता

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचनका बेला पाउने आर्थिक सहयोग अबदेखि बैङ्क खातामार्फत मात्रै कारोबार गर्नुपर्ने जनाएको छ।

आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूका लागि ‘निर्वाचन अभियान बैङ्क खाता कार्यविधि, २०८२’ लागू गरेको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र प्रत्यक्ष निर्वाचित हुन उम्मेदवारी दिएका सबै राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने सबै उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारका लागि प्राप्त आम्दानी–खर्च सम्बन्धित बैङ्क खातामार्फत नै गर्नुपर्ने व्यवस्था गरिएको छ।

खाता खोल्न राजनीतिक दलको हकमा निर्वाचन आयोगको सचिवालयबाट र उम्मेदवारको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस हुने व्यवस्था गरिएको आयोगले जनाएको छ।

यसैअनुसार मातहतका निर्वाचन कार्यालय, बैङ्क तथा वित्तीय संस्थामार्फत कार्य सम्पादन गर्न आयोगले आग्रह गरेको छ। निर्वाचन प्रचार–प्रसार खर्चलाई आधुनिक बैङ्किङ प्रणालीसँग आबद्ध गर्ने उद्देश्यले सुसंस्कृत व्यवहारको थालनी गरिएको भन्दै आयोगले सबै पक्षबाट सक्रिय सहयोग, समन्वय र सहजीकरणको अपेक्षा गरेको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
68
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.