निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

६० निर्वाचन क्षेत्रको मतपत्र छापियो, मौसम अनुकूल हुने अनुमान

६० निर्वाचन क्षेत्रको मतपत्र छापियो, मौसम अनुकूल हुने अनुमान

77
SHARES

काठमाडौं – निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ६० वटा निर्वाचन क्षेत्रका मतपत्र छापिसकेको जनाएको छ। आयोगका अनुसार २५ जिल्लाका मतपत्र छापेर प्याकिङसमेत सम्पन्न भइसकेको छ।

आयोगले जानकारी दिएअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुमपश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेको छ। यस्तै, कोशी प्रदेशका पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी जिल्लाका मतपत्र पनि छापिसकिएको छ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जम्मा २ करोड ३० लाख २३ हजार मतपत्र आवश्यक पर्नेमा हालसम्म ७२ लाख ६० हजार मतपत्र छापिएको छ। आयोगले माघ १६ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको थियो। हालसम्म छापिएका मतपत्रमध्ये ५ हजार ८२५ बाकस मतपत्र प्याकिङ भइसकेको आयोगले जानकारी दिएको छ।

माघ १३ गतेअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र छापिसकिएको आयोगले जनाएको थियो। गत पुस २२ गतेदेखि हालसम्म छापिएका समानुपातिक मतपत्रको रुजु तथा प्याकिङ कार्य सम्पन्न गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आयोगले मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २ सय वटा नमुना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकेको जनाएको छ।मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरिन्।

उनले निर्वाचनको समयमा सबै भूगोलमा मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्बाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित हुने बताइन्।

यसअघि प्रधानमन्त्री कार्कीले मौसम अनुकूल नभए हिमाली जिल्लामा दोस्रो चरणमा पनि निर्वाचन गराउन सकिने बताएकी थिइन्। उक्त अभिव्यक्तिपछि नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै विरोध जनाएको थियो। एमालेले अन्तरिम सरकारले मौसमलाई बहाना बनाएर निर्वाचन सार्न खोजेको आरोप लगाएको थियो।

एमालेको विरोधपछि प्रधानमन्त्री कार्कीले फागुन २१ गते नै निर्वाचन सम्पन्न गरेर घर फर्किने स्पष्ट पारिन्। निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभालाई सत्ता हस्तान्तरण गरी आफू र मन्त्रीहरू सरकारबाट बाहिरिने उनको भनाइ छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते मौसम अनुकूल रहने प्रारम्भिक जानकारी आफूहरूले पाएको बताए। उनले निर्वाचन एकै दिन हुने स्पष्ट पार्दै दार्चुलाबाहेक अन्य जिल्लामा चुनाव सम्पन्न गर्न खासै कठिन नहुने अनुमान व्यक्त गरे।

गृहमन्त्री अर्यालले सुरक्षा व्यवस्थाको हिसाबले यसपटकको निर्वाचन विगतको भन्दा सुदृढ रहने बताए। सरकारका मन्त्रीहरू स्वयं विभिन्न स्थानमा अनुगमनमा गएको उल्लेख गर्दै उनले निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा वर्गीकरण गरिएको जानकारी दिए। सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइने उनले स्पष्ट पारे।

गृह मन्त्रालयले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन तथा अनुगमन गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरिसकेको जनाएको छ। यस्तै, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
77
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.