काठमाडौँ – मतदान सम्पन्न नहुँदै विभिन्न राजनीतिक दलहरूले आगामी निर्वाचनमा विजयी हुने दाबी सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसले आधिकारिक रूपमा पहिलो दल बन्ने दाबी गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देश नै ‘रास्वपामय’ भएको दाबी सुनाएको छ।
२०७९ को चुनावमा नेपाली कांग्रेस पहिलो दल बनेको थियो भने रास्वपा चौथो दल बनेको थियो। नेकपा एमाले दोस्रो र तत्कालिन नेकपा माओवादी केन्द्र तेस्रो दल बनेको थियो।
१६५ निर्वाचन क्षेत्रमा फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा भने मतदानपछि मात्रै स्पष्ट हुनेछ। तर, कांग्रेसले पार्टीभित्रको आन्तरिक विवाद समाधान भइसकेको दाबी गर्दै आफू पहिलो दल बन्नेमा विश्वस्त रहेको जनाएको छ।
कांग्रेसले एकताबद्ध भएर चुनावमा होमिएको दाबी गर्दै निर्वाचनअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले झापा क्षेत्र नम्बर ५ मा कांग्रेस उम्मेदवार यथावत् रहेको जानकारी दिँदै भोट साटासाट हुने कुनै आशङ्का नगर्न आग्रह गरे।
संसद् पुनःस्थापना लगायतका विषयमा फैलाइएका हल्लाबारे कांग्रेसले कुनै टिप्पणी नगरेको प्रवक्ता चालिसेले बताए। यस्ता हल्लालाई कांग्रेसले निर्वाचनबाट ध्यान मोड्ने प्रयासका रूपमा लिएको उनको भनाइ छ।
देशभरका निष्क्रिय कांग्रेस कार्यकर्ता पुनः सक्रिय भएको देखिँदा पार्टी उत्साहित बनेको चालिसेको भनाइ छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ को बढ्दो क्रेजसँगै रास्वपा पनि उत्साहित देखिएको छ। चुनावको नतिजा अब अरूको पक्षमा नजाने दाबी रास्वपाले गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिले नै मन्त्रालयको समेत भागबन्डा गरिसकेको छ। अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, संचारमन्त्रीमा मनिष झाको नाम सार्वजनिक भएका छन्।
आफ्नो निर्वाचन क्षेत्र चितवन–२ को शान्तिटोलमा केही दिनअघि मतदातालाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले चितवन नयाँ राजनीतिक ‘इपिसेन्टर’ बनेको दाबी गरे।
लामिछानेले चुनाव अवधिभर चितवनको शान्तिटोलमै डेरा जमाएर बस्ने जानकारी दिएका छन्। कार्यकर्ताको भिडभाडका कारण दैनिक जीवनमा असर परेमा कान समातेर क्षमायाचना गर्ने उनले बताए।
चुनावी अभियानका क्रममा एमाले अध्यक्ष ओलीले रास्वपा र विशेषगरी आफ्ना प्रतिस्पर्धी बालेन लक्षित अभिव्यक्ति दिँदै आएका छन्। अनुभवहीन व्यक्तिहरू प्रधानमन्त्री बन्ने दाबीलाई उनले हास्यास्पद भएको टिप्पणी गरे। ओलीले आफूमाथि लागेको ‘हत्यारा’ आरोपको खण्डन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन्।
ओलीले विगतका चुनावमा जस्तै यसपटक पनि बहुमत आएमा प्रधानमन्त्री भएर पाइपलाइनमार्फत घरघरमा ग्यास पुर्याउने आश्वासन दोहोर्याए।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भने अरूलाई प्रधानमन्त्री बनाउन नभई आफू स्वयं प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उद्देश्यसहित राजनीतिमा आएको बताए। घिसिङले आफ्नो पार्टी ‘डेलिभरी’ का आधारमा अर्ग्यानिक रूपमा स्थापित भएको दाबी गरे।
रवि र बालेनप्रति लक्षित टिप्पणी गर्दै उनले आफ्नो पार्टी भाषण र सामाजिक सञ्जालको भरमा मात्रै स्थापित नभएको बताएका छन्।
मतदानअघि गरिएका यस्ता राजनीतिक दाबी र आत्मविश्वासबीच अन्तिम नतिजा भने फागुन २१ गतेको मतदानपछि मात्रै स्पष्ट हुनेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.