काठमाडौँ – भावी प्रधानमन्त्रीका रूपमा घोषित बालेन साहको घरमा चोरी गर्ने व्यक्ति जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट भागेका कैदी भएको पुष्टि भएको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसँगै भागेको पाइएको छ।
रास्वपाका वरिष्ठ नेता बालेनको घरमा चोरी गर्ने रविसँगै नख्खु कारागारबाट भागेका कैदी सहित ३ जनालाई काठमाडौँका फरकफरक स्थानबाट पक्राउ परेका हुन्।
पक्राउ परेका अरू दुई जनाको आपराधिक पृष्ठभूमि देखिए पनि नख्खु कारागारमा थिएनन्। उनीहरूबाट केही सामानहरू पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँ एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
पक्राउ पर्नेहरूमा काठमाडौँ–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगढी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ छन्।
उनीहरूले काठमाडौँको महाराजगन्जस्थित चप्पल कारखानानजिकको सितादेवी गुरुङको घरमा रहेको बालेन शाहको डेरा कोठामा चोरी गरेका थिए। राजवाहकलाई प्रहरीले बाँसबारीबाट पक्राउ गरेको जनाएको छ।
उनी चोरी गर्नेमध्येका मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ। उनी चोरीको कसुरमा ३ वर्ष ६ महिना कैद भुक्तान गरिरहेका थिए। सोही क्रममा उनी भदौ २४ मा जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए। नख्खु कारागारबाट भागेपछि उनी पाँच वटा चोरीमा संलग्न रहेको देखिएको प्रवक्ता भट्टराईले बताए।
चोरीमा संलग्न तिनै जनालाई काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भने देशमा कुनै पनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य नहुने बताएका छन्। चुनावका बेला उम्मेदवारकै घरमा भएका घटना नजरअन्दाज गरेका गृहमन्त्री अर्यालले राज्यको जिम्मेवारी सुनाए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.