निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बालेनको म्याराथनमा ओलीको प्रतिस्पर्धा, राप्रपाको आरोप-दुवै ‘अतिवादी’

बालेनको म्याराथनमा ओलीको प्रतिस्पर्धा, राप्रपाको आरोप-दुवै ‘अतिवादी’

प्रतिस्पर्धीलाई गाली नगर्ने कांग्रेसको नीति

106
SHARES

काठमाडौँ – भावी प्रधानमन्त्रीका उम्मेदवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन साहबीच भिड देखाउने प्रतिस्पर्धा चलेको छ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका बालेन र पूर्वप्रधानमन्त्री ओलीबीच भिड देखाउने प्रतिस्पर्धा चलिरहेको हो। पटक पटक चुनाव जित्दै आएका ओलीलाई यसपटक बालेनले आच्छु आच्छु पारेका छन्।

यसअघिका चुनावमा खासै मतदाताको घरदैलोमा नपुगेका ओली यो पटकको चुनावमा बिहानैदेखि बेलुकी अबेरसम्म मतदाताको घर आँगनमा पुग्न थालेका छन्।

बालेन हात हल्लाउँदै भिड लिएर म्याराथन प्रतिस्पर्धामा उत्रिए पछि ओली पनि भिड जम्मा गर्न बाध्य बनेका हुन्। बालेनका समर्थक हाइहाइको नारा लगाउँछन् भने ओलीका समर्थक लभ यु केपी बा को नारा लगाउँछन्।

१६५ निर्वाचन क्षेत्र मध्ये चुनावको इपिसेन्टर नै झापा ५ बनेको छ। ओली र बालेनको म्याराथनले झापा ५ को चुनावी प्रचारप्रसार रोचक बनेको छ। ओली बृद्धबृद्धा र बालबालिकामाझ केन्द्रित हुँदा बालेनले ओलीकै चुनावी प्रचार कार्यालयमा पुगेर चक्मा दिने प्रयास गरेका छन्।

चुनावी प्रचार प्रसारका क्रममा बालेन दमक नगरपालिका ३ स्थित ओलीको चुनावी प्रचार कार्यालय अगाडि पुगेर स्थानीयका कुरा सुनेका छन्। तर जवाफ नदिई जुरुक्क उठेर हिँडे।

बालेनले सामाजिक सञ्जालबाट ओली हराउने अभियान चलाए पछि ओली पनि पुराना मतदाता फकाउन बालेनकै शैलीका देखिएका छन्। ओलीले बालबालिकासँग बसेको तस्बिर खिचाउनेदेखि आफ्नै उमेर ज्येष्ठ नागरिकलाई खादा ओढाएर आकर्षण कायम राख्ने नीति अवलम्बन गरेका छन्।

त्यतिले मात्रै नपुगेर ओलीले वेद भनेको विज्ञान हो भन्दै नेपाली भूमिको चर्चा गर्दै संवृद्ध नेपाल सुखी नेपालीको आफ्नो अभियान जोडेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले भने बालेन र ओली दुबैलाई अतिवादीको संज्ञा दिएका छन्। आफ्नो पार्टीको संसदमा उपस्थिति कमजोर भए देश जेनजी आन्दोलनको भन्दा ठूलो दुर्घटनामा फस्ने चेतावनी उनले दिए।

काठमाडौँका पार्टीका उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा उनले देशलाई दुर्घटनामा फस्न नदिन पनि आम मतदाताले राप्रपालाई विजयी गराउनै पर्ने जिकिर गरे।

मत दिनु भनेको छोरी दिनु सरह भएको उल्लेख गर्दै अध्यक्ष लिङदेनले फेसबुकलगायतका सामाजिक सञ्जाललाई हेरेर मतदान गर्न नहुने बताए।

नेपाली कांग्रेसले भने गाली गलौच नगर्ने नीति लिएको जनाएको छ। प्रतिस्पर्धी उम्मेदवारलाई गाली नगर्ने नीति लिएको कांग्रेसले जनाएको हो। कांग्रेसले प्रतिस्पर्धी उम्मेदवारलाई गाली नगर्न निर्देशन नै जारी गरेको छ।

नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२ पारित गर्दै अरू पार्टीका उम्मेदवारलाई गाली नगर्ने नीति लिएको बताएको छ।

प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्ने कांग्रेसले पारित गरेको निर्देशिकामा भनिएको छ।

कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय अनुशासन समिति पनि गठन गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। गुरुङ नेतृत्वको समितिमा केन्द्रीय सदस्यद्धय धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य छन्।

समाचार शेयर गर्नुहोस्
106
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.