पोखरा – नेपाली कांग्रेसका तर्फबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाट आर्थिक सुधार र शिक्षित एवं स्वास्थ्य नागरिक निर्माणको एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएका छन्।
हालैको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी लगातार ३ पटक महाधिवेशन प्रतिनिधि भइसकेका व्यक्ति हुन्।
२०२४ साल पुस २ गते कास्कीको मादी गाउँपालिका–३ मा जन्मिएका रानाभाटले कानुनमा स्नातक (बीएल) गरेका छन्। पोखराकै पृथ्वीनारायण क्याम्पसमा बीएल अध्ययनपछि उनले ३ वर्षसम्म सर्वोच्च अदालतमा अधिकृतका रूपमा सरकारी सेवा गरे।
सरकारी जागिरमा मन नजमेपछि उनी त्यो सेवा छाडेर व्यवसाय र राजनीतिमा सक्रिय भए। यसले उनलाई सरकारी संयन्त्रले कसरी कार्यसम्पादन गर्छ भन्ने मज्जैले सिकायो।
रानाभाटको राजनीतिक यात्रा २०४२ सालमा नेपाल विद्यार्थी सङ्घको सदस्यता लिएसँगै सुरु भएको हो। पञ्चायतकालमा स्कुल पढ्दादेखि नै विद्यार्थी सङ्गठन निर्माणका क्रममा सक्रिय रहेका उनले पार्टीको ११ औँ र १२ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि र १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको भूमिका निर्वाह गरे।
‘स्कुल पढ्दादेखि नै राजनीतिमा लागेको हुँ, पञ्चायतको समयमा सत्ताको विरोध गर्दा ज्यानकै जोखिम हुन्थ्यो, त्यस्तो बेला पनि क्याम्पस पुगेर सङ्गठन बनाउने काम गरियो’ उनले विगत सम्झँदै भने। पार्टीभित्र उनले १३ औँ महाधिवेशनमा गठित केन्द्रीय अर्थ समितिको सदस्य र २०७१ मा नीति तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यका रूपमासमेत काम गरे।
राजनीतिसँगै वैदेशिक रोजगार व्यवसायीका रूपमा पनि रानाभाटको लामो अनुभव छ। उनले २०६३ माघमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको स्थापना गरी संस्थापक अध्यक्षको भूमिका निर्वाह गरे।
तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको चाहना अनुसार उक्त संस्था स्थापना भएको थियो। त्यसैगरी २०६५ सालमा उनी नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको केन्द्रीय अध्यक्ष बनेर श्रमिक र व्यवसायीको हितमा काम गरेको बताउँछन्। वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन आफूले लामो समयदेखि पहल गर्दै आएको उनको दाबी छ।
नेपालमा रोजगारी र आम्दानीको सम्भावना नदेखेका युवाहरूलाई विदेश पठाएर रेमिट्यास भित्र्याउँदा आफूलाई हर्ष नै महसुस भएको उनको भनाइ छ। भन्छन्,’मैले व्यावसायिक जीवनमा कहीँ कसैसँग विश्वासघात गरेको छैन। यही नै मेरो सबैभन्दा ठूलो पुँजी हो।’
उनी तिलक गार्मेन्ट उद्योगमा समेत आबद्ध छन्। उनले सञ्चालन गरेका प्रतिष्ठानहरूमा ६० जना भन्दा बढीले रोजगारी पाएका छन्। रानाभाट २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार बनेका थिए।
२०७४ को आम निर्वाचनका बेला पनि उनको नाम चर्चामा आएकै थियो तर आरक्षणका लागि साथीहरूलाई छाड्नु पर्ने भएकाले उनी पछि हटे। अनि केन्द्रीय निर्वाचन परिचालन समितिले उनलाई म्याग्दी जिल्लामा केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएर पठायो।
सो क्रममा १९ दिनसम्म जिल्लाका विभिन्न ठाउँमा पुगेर उनले तोकिएको साङ्गठनिक जिम्मेवारी पूरा गरेका थिए। केन्द्र,जिल्ला र क्षेत्रले विभिन्न समयमा दिएका जिम्मेवारीलाई पूर्ण रूपमा सम्पन्न गरेको अनुभव आफूसँग रहेको उनी बताउँछन्। रानाभाट हाल कास्की क्षेत्र नम्बर १ मा आफ्नो पक्षमा जनमत पार्न घरदैलो अभियानमा व्यस्त छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.