निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मोरङ–४ मा चञ्चला : “अधिकार कार्यान्वयनकै लागि मेरो उम्मेदवारी”

मोरङ–४ मा चञ्चला : “अधिकार कार्यान्वयनकै लागि मेरो उम्मेदवारी”

96
SHARES

मोरङ – प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं. ४ की उम्मेदवार नुमा लिम्बु चञ्चलाले समावेशी विकास, संवैधानिक अधिकार कार्यान्वयन र सामाजिक न्यायका एजेन्डासहित मतदातासमक्ष अपिल गरेकी छन्। उनी समावेशी समाजवादी पार्टीकी अध्यक्षसमेत हुन्।

चञ्चलाले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत महत्त्वाकाङ्क्षाको परिणाम नभई संविधानले सुनिश्चित गरेका अधिकारहरू व्यवहारमा लागू गराउने उद्देश्यले भएको स्पष्ट पारेकी छन्। “मतदान केवल औपचारिक प्रक्रिया होइन, यो हाम्रो भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसर हो,” उनले अपिलमा उल्लेख गरेकी छन्।

उनले ठूलो सङ्घर्षपछि निर्माण गरिएको संविधान अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै समानता, समावेशिता र न्यायका प्रावधानहरू कागजमै सीमित हुन नहुने बताएकी छन्। राज्यका नीति, नियम र सेवा प्रणाली हरेक नागरिकका लागि सहज, पहुँचयोग्य र सम्मानजनक हुनुपर्नेमा उनले जोड दिएकी छन्।

कानुनी पहिचान कार्यान्वयन, नागरिकता प्राप्ति प्रक्रियालाई सरल र भेदभावरहित बनाउने तथा लैङ्गिक र सामाजिक पहिचानकै आधारमा हुने विभेद अन्त्य गर्ने उनको प्राथमिकतामा परेको छ। “लैङ्गिक तथा सामाजिक पहिचानका कारण कसैले अपमान र अन्याय भोग्न नपरोस् भन्नेमा मेरो स्पष्ट अडान छ,” उनले उल्लेख गरेकी छन्।

विकास र आधारभूत सेवामा समान पहुँच

मोरङ–४ लाई सम्भावनाले भरिएको क्षेत्र बताउँदै उनले यहाँका किसान, युवा, महिला र श्रमिकको श्रमले क्षेत्र निर्माण भएको धारणा राखेकी छन्। तथापि रोजगारी अभाव, गुणस्तरीय शिक्षामा असमान पहुँच, सुलभ स्वास्थ्य सेवा अभाव, सुरक्षित वातावरण र सम्मानजनक जीवन सुनिश्चित नहुनु अहिलेका प्रमुख चुनौतीका रूपमा रहेको उनले औँल्याएकी छन्।

उम्मेदवार चञ्चलाले निर्वाचनपछि निर्वाचित भएमा शिक्षा र स्वास्थ्य क्षेत्रमा समान पहुँच सुनिश्चित गर्न पहल गर्ने, हिंसा तथा विभेदविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, युवाका लागि रोजगारी र सीप विकासका अवसर विस्तार गर्ने प्रतिबद्धता जनाएकी छन्।

त्यसैगरी प्रविधिमैत्री, पारदर्शी र उत्तरदायी शासन प्रणाली विकासमा भूमिका खेल्ने तथा महिलाहरू, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकारका पक्षमा संसदभित्र सशक्त आवाज उठाउने उनले बताएकी छन्।

उनका अनुसार राजनीति केवल चुनावी वाचा गर्ने माध्यम होइन, नीति निर्माण र अधिकार कार्यान्वयन गर्ने जिम्मेवारी हो। “म तपाईँहरूको अमूल्य मतलाई व्यक्तिगत जितमा सीमित नराखी क्षेत्रको विकास, समान अवसर र सामाजिक न्यायमा रूपान्तरण गर्नेछु,” उनले मतदातासँग प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले मोरङ–४ लाई अधिकार व्यवहारमै लागू हुने, अवसर सबैका लागि खुला रहने र नागरिकले डरमुक्त तथा सम्मानपूर्वक जीवनयापन गर्न सक्ने क्षेत्रका रूपमा विकास गर्न सामूहिक साथ आवश्यक रहेको उल्लेख गरेकी छन्।

आफ्नो अपिलमा उनले फागुन २१ गते समावेशी, उत्तरदायी र न्यायमुखी नेतृत्व चयन गर्न मतदातासँग आग्रह गर्दै भनिन्, “यो केवल मेरो चुनाव होइन, हाम्रो साझा आन्दोलन हो – समावेशी विकास, न्यायपूर्ण समाज र सुनिश्चित अधिकारका लागि।”

समाचार शेयर गर्नुहोस्
96
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.