काठमाडौँ – फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का समानुपातिक सूचीमा नाम दर्ता भएका उम्मेदवार गजेन्द्र बुढाथोकीले आफ्ना समर्थक र शुभचिन्तकहरूलाई स्पष्ट अपिल गरेका छन्।
तीन दशक लामो आर्थिक पत्रकारिता अनुभव, अपाङ्गता अधिकारकर्मी र सामाजिक रूपान्तरण अभियन्ताका रूपमा बुढाथोकीले आफ्नो निर्वाचन प्रचारप्रसारमा तीन मुख्य विषयलाई प्राथमिकता दिएका छन् , समन्यायिक र समतामूलक आर्थिक विकास, अपाङ्गता सचेतना, तथा सुसंस्कृत मिडिया उद्यम विकास।
बुढाथोकीका अनुसार, फ्रान्सेली दार्शनिक ब्यारन डी मन्टेस्क्युले प्रतिपादन गरेका शक्ति पृथकीकरणका सिद्धान्तअनुसार व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले स्वतन्त्र रूपमा काम गरेमा राज्यको विकास सहज हुन्छ। तर नेपालको राजनीतिक अस्थिरताले गर्दा तीन अंगबीचको समन्वय कमजोर हुँदा नेपाली जनताको भविष्य अलमलमा परेको अनुभव सबैले भोग्दै आएको उनी बताउँछन्।
उनले व्यवस्थापिकालाई सबैभन्दा प्रभावकारी अङ्ग मान्दै, संसद्को माध्यमबाट समावेशी र न्यायपूर्ण नीतिहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। साथै, राप्रपा नेपालको सङ्कल्प पत्रलाई आफ्नो चुनावी एजेन्डा बनाएर आर्थिक सुधारको नयाँ चरण अघि बढाउन प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन्।
पत्रकारितामा बिताएका ३१ वर्षको अनुभवले बुढाथोकीलाई राज्यका तीनै अङ्गको निगरानी गर्न सक्षम बनाएको र टक्सार म्यागजिनमार्फत नेपालको आर्थिक विकासका एजेन्डालाई नीतिगत रूपमा उजागर गर्दै आएको जानकारी उनले दिएका छन्। उनले भनेका छन्, व्यक्तिगत र पार्टीको कुनै पनि प्रभाव टक्सारमा पर्ने छैन।
बुढाथोकीले राष्ट्रिय विकासका विषयमा सवाल गर्ने र समाजका सवाललाई उठाउने आफ्नो भूमिकालाई संसदमा निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै, आफ्नो निर्वाचन अभियानमा मतदातालाई सल्लाह, सुझाव र समर्थनका लागि आह्वान गरेका छन्।
उनले सबै सामाजिक सञ्जाललाई सार्वजनिक पोस्टबक्सको रूपमा राख्दै, बजेट प्रणाली, लघु–घरेलु तथा साना उद्योगी/व्यवसायी, विपन्न र मध्यम वर्गका मुद्दाहरूलाई संसदमा गहन रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले आफ्नो मूल दायित्व अपाङ्गता भएका नागरिक, अल्पसङ्ख्यक र अवसरबाट वञ्चित समुदायका हक–हितको रक्षा गर्ने आवाज बन्ने बताए। मतदातालाई राप्रपा नेपालको हलो चिन्हमा भोट दिन आग्रह गर्दै बुढाथोकीले अपिल गरे ,“पार्टीलाई दिइने भोटले नै म संसदमा प्रश्न गर्ने नैतिक र कानुनी हैसियतमा उपस्थित हुनेछु।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.