निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

धादिङ बस दुर्घटनालाई लिएर गृहमा आकस्मिक बैठक

धादिङ बस दुर्घटनालाई लिएर गृहमा आकस्मिक बैठक

103
SHARES

काठमाडौँ – धादिङमा गएराति भएको दुःखद बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको छ।

मन्त्री अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसहितको बैठकले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

बैठकले घाइतेहरूको उपचारलाई प्राथमिकता दिएर प्रभावकारी बनाउने, घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गरी शीघ्र प्रतिवेदन बुझाएर यथाशीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ।

यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि बैठकले निर्णय गरेको छ। आगामी दिनमा सडक दुर्घटना न्यूनीकरणका लागि कडाइकासाथ कानून कार्यान्वयन गर्ने र यातायात व्यवसायी, बस चालक सहचालकलाई जिम्मेवार बनाउने निर्णय भएको छ।

सडक दुर्घटनाबाट हुने मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै गृहमन्त्री अर्यालले उद्धार र उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिए। उनले आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक सुरक्षामा बनेका कानूनहरुको प्रभावकारी कार्यान्वयन र कडाइकासाथ नियमन गर्न निर्देशन दिए।

दुर्घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन उनले निर्देशन दिए। निर्वाचन सुरक्षा चुस्त गर्नुपर्ने समयमा यस्ता ठूला मानवीय सडक दुर्घटनाले सुरक्षामा चुनौती थपिनसक्ने खतरा औँल्याउँदै बेलैमा चनाखो भएर जिम्मेवारीपूर्वक लाग्न सबै सरोकारवालाहरूलाई आग्रह गरे।

गृहमन्त्री अर्यालले भने,’सडक र नागरिकको सुरक्षामा हेलचेक्र्याइँ गरिनु हुँदैन। कसैलाई पनि दण्डहीनता क्षम्य हुनेछैन। त्यसैले सडक सुरक्षालाई मजबुत बनाउन सबै निकायहरू जिम्मेवारी भएर लाग्नुपर्छ। सडक दुर्घटना सम्बन्धी बनेका विभिन्न छानबिन समिति र अध्ययन प्रतिवेदनको कार्यान्वयन गरिनेछ, राजमार्गको ट्राफिक व्यवस्थापन, सडक नियमन र अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ।’

छलफलबारे मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गरेको बताए। निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर यातायात व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन सबै सरोकारवालालाई सक्रिय र जिम्मेवार बनाउने बैठकले निर्णय गरेको छ।

पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस राति १ बजेर ३० मिनेटमा धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त हुँदा १७ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ। २५ जना घाइतेको काठमाडौँ विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
103
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.