निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दुर्घटना न्यूनीकरणका उपाय कागजमै सीमित

दुर्घटना न्यूनीकरणका उपाय कागजमै सीमित

99
SHARES

काठमाडौँ – नेपालमा पछिल्लो समय सवारी दुर्घटनामा तीव्र वृद्धि हुँदै गएको छ। दैनिक रूपमा हुने दुर्घटनाले मानवीय क्षति मात्र होइन, सामाजिक र आर्थिक असर समेत गहिरो बनाउँदै लगेको छ।

सवारी दुर्घटना नेपालका लागि गम्भीर सुरक्षा चुनौती बनेको छ। समयमै प्रभावकारी कदम नचाल्दा यसले भयावह रूप लिइरहेको छ।पछिल्लो एक महिनाको अवधिमा ४६ जनाको सार्वजनिक सवारी दुर्घटनाबाट ज्यान गएको छ।

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जना र रामेछापमा भएको दुर्घटनामा १४ जनाले ज्यान गुमाएका थिए। सोमबार बिहान पनि पोखराबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाउनु परेको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।

४४ जना यात्रु सवार ग.२ ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित भैंसीगौडामा दुर्घटनामा परेको थियो। दुर्घटनामा ज्यान गुमाएका १९ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बेलायतका २४ वर्षीय स्टिवर्ट डोमिनिक इथान, ३४ वर्षीय चिनियाँ नागरिक जियाङ चोनुम र भारत, उत्तर प्रदेश प्रान्त, बसहरी बहराइच घर भएका ३२ वर्षका मनिष शुक्लाको ज्यान गएको छ।

यस्तै, कास्की पोखरा महानगरपालिका वडा नं ३० बस्ने अन्दाजी वर्ष ४० का विवेक बास्तोला, स्याङ्जा वालिङ–१४ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका वडा नं ६ बस्ने वर्ष ६३ का चन्द्रबहादुर कुँवर, तनहुँ व्यास नगरपालिका वडा नं ४ बस्ने अन्दाजी वर्ष ४० का ओमकुमार मल्ल, धादिङ साबिक सल्यानकोट–८ हाल त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने अन्दाजी वर्ष ३० का इन्जिनियर ठकुरी र तनहुँ शुक्लागण्डकी नगरपालिका–७ मालेबगर बस्ने अन्दाजी वर्ष ५५ की विष्णुमाया ढकालको दुर्घटनामा मृत्यु भएको छ।

त्यस्तै, काठमाडौँ महानगरपालिका बौद्ध टुसाल बस्ने अन्दाजी वर्ष ४२ का लोबसाङ गोले, तनहुँ भीमनगर नगरपालिका वडा नं ६ बस्ने अन्दाजी वर्ष ४६ का हरिप्रसाद सिग्देल, पाल्पा तानसेन नगरपालिका वडा नं २ बस्ने अन्दाजी वर्ष ५५ का नबिन्द्र श्रेष्ठ, तनहुँ शुक्लागण्डकी गाउँपालिका वडा नं ७ बस्ने वर्ष ६३ का रुद्रप्रसाद ढकाल र शुक्लागण्डकी वडा नं २ बस्ने वर्ष २० की अर्चना पौडेलको पनि ज्यान गएको प्रहरीले जनाएको छ।

यसैगरी, कास्की पोखरा महानगरपालिका वडा नं १४ चाउथे बस्ने वर्ष २१ की अञ्जली क्षेत्री, माछापुच्छ्रे गाउँपालिका वडा नं ३ बस्ने वर्ष २१ का रोहित नेपाली, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं ६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी, काठमाडौँ महानगरपालिका वडा नं ३२ बुद्धनगर बस्ने वर्ष ३३ की अनिशा महर्जन, मोरङ उर्लाबारी–१ स्थायी ठेगाना भएकी वर्ष २७ की हिरा चौधरी र कास्की पोखरा महानगरपालिका वडा नं १९ बस्ने वर्ष २६ का सुजित नेपालीको ज्यान गएको छ।

घाइते २५ जनाको काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

दुर्घटना हुनुको कारण पत्ता लाग्न सकेको छैन। धादिङमा भएको बस दुर्घटनाबारे अध्ययन र छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। कार्यदलले दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्नेछ।

जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनाको प्रारम्भिक अनुसन्धान गर्दा चालकको कमजोरी नदेखिएको जनाएको छ। घाइतेहरूसँग थप सोधपुछ गरेर दुर्घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश दाहालले बताए।

राजमार्गमा भएको यो पहिलो दुर्घटना भने होइन। यसअघि २०८१ असार २८ गते सिमलतालमा भयानक दुर्घटना भएको थियो। बेपत्ता भएको बसका पार्टपुर्जा भेट्टाउन नै वर्ष लागेको थियो। सोही सडकखण्डमा फेरि अर्को दुर्घटना भएको छ। दुर्घटना सडकको अवस्थाको कारण भएको हो त? जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश दाहाल।

प्रहरीलाई उद्धार गर्न समेत कठिनाइ परेको उनले बताए। उद्धारका लागि आधुनिक उपकरणकै अभाव व्यहोर्नु परेको प्रवक्ता दाहालको भनाइ छ।

धादिङमा भएको दुर्घटना प्रतिनिधि घटना मात्र हो। रामेछाप र बैतडीमा पनि मानवीय क्षति हुने गरी दुर्घटना भएका थिए। दुर्घटना हुने बित्तिकै राज्यका निकाय ताते जस्तो देखिन्छन्। अध्ययन अनुसन्धानका लागि समिति र कार्यदल गठन हुन्छन्।

गत वर्ष सिमलतालमा भएको दुर्घटनाको छानबिन गरेर १२ बुँदे सुझाव दिइएको थियो। तर ती सुझाव हालसम्म पनि दराजमै थन्किएका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सुझाव कार्यान्वयनमा कुनै गम्भीरता देखिएको छैन। सोमबार बनेको कार्यदलको प्रतिवेदन पनि रद्दीको टोकरीमा फाल्ने काम हुन नहुने उनले बताए।

दुर्घटना बाजा बजाएर आउँदैन। त्यसैले दुर्घटना हुनै नदिन सरोकारवालाहरू स्वयं चनाखो बन्नै पर्छ। राज्यका निकाय र गैरसरकारी संस्थाहरूले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गरे पनि ती कार्यक्रम धेरैजसो कागजमै सीमित र देखावटी बनेका तथ्य पटक–पटकका घटनाले उजागर गरिरहेका छन्।

दुर्घटना न्यूनीकरणका उपाय कार्यान्वयनमा नआउँदा मानवीय क्षति दोहोरिँदै गएको छ। अब अध्ययन र प्रतिवेदनभन्दा बढी प्रभावकारी कार्यान्वयनमै राज्य गम्भीर बन्नु जरुरी देखिन्छ।

समाचार शेयर गर्नुहोस्
99
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.