काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी साम्बालाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्स मार्फत अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका छन्।
उनले लेखेका छन्, ‘एन्फा अध्यक्षलाई फोन मार्फत खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको छु। देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी `साम्बा´ लाई यतिबेला हामी सबैले साथ दिन जरुरी छ। उहाँलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु!’
साम्बाले सोमबारमात्रै आफ्नो उपचारका लागि अनुनयविनय गर्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेकी थिइन्। उनको उक्त आग्रहसँगै सहयोगका हात अगाडि बढिरहेका छन्।
यद्यपि एन्फा र सरकारले भने कुनै पनि पहल नगरेको भन्दै सञ्जालभर आक्रोश फैलिएको छ।
यसअघि काठमाडौँ मेडिकल कलेज केएमसीले उनले नेपालमा उपचार गर्न चाहेमा निःशुल्क उपचार गरिदिने घोषणा गरेको छ।
त्यस्तै एन्फाका पूर्व अध्यक्ष एवं पूर्व कप्तान गणेश थापाले ५० हजार रुपैयाँ सहयोग गर्ने सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन्।
नि:शुल्क उपचार गर्ने घोषणा
यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बाको काठमाडौँ मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ। साम्बाले नेपालमै उपचार गर्न तयार भए केएमसीले निःशुल्क उपचार गर्ने घोषणा गरेको हो।
केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गर्दै ‘राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं राष्ट्रिय गहनाको रूपमा परिचित सावित्रा भण्डारी ‘साम्बा’ पछिल्लो सात हप्तादेखि चोटिल रहेको तथा कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेर पुनः शल्यक्रिया गर्नुपर्ने अवस्थाका कारण सामाजिक सञ्जाल मार्फत सहयोगको आग्रह गरेकोप्रति केएमसीको गम्भीर ध्यानाकर्षण भएको भन्दै” ‘साम्बा’ नेपालमै उपचार गर्न तयार भए नि:शुल्क उपचार गर्ने घोषणा गरेका हुन्।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं स्टार फर्वाड ‘साम्बा’ले सोमबार अपराह्न आफ्नो आधिकारिक फेसबुक पेज मार्फत पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा आफ्नो सम्पूर्ण व्यवस्थापन र सहयोग पुर्याए पनि यसपटक एन्फाले उपचारमा सहयोगको प्रयास मात्रै गर्न सक्ने भन्दै एन्फा अध्यक्षले ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ अगाडि बढाउन भनेपछि ‘साम्बा’ले सामाजिक सञ्जाल मार्फत आफ्नो उपचारका लागि ८० हजार हाराहारी अमेरिकी डलर खर्च हुने भन्दै सहयोगको अपिल गरेकी थिइन्।
सामाजिक सञ्जाल मार्फत ‘साम्बा’ले अपिल गरेको केही घण्टामै काठमाडौँ मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत दाहालले आर्थिक अभावकै कारण राष्ट्रका गहनाले अत्यावश्यक स्वास्थ्य उपचार नपाउनु दुःखद भएको टिप्पणी गर्दै काठमाडौँ मेडिकल कलेजमा ‘साम्बा’को घुँडाको जटिल शल्यक्रिया र ग्राफ्ट तथा एमसिएलको उपचार सम्भव रहेको उल्लेख गर्दै राष्ट्रका गहनाको चित्कारले आफूलाई विचलित बनाएको भन्दै नि:शुल्क उपचारको घोषणा गरेका हुन्।
काठमाडौँ मेडिकल कलेज नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा पूर्व सांसद र नेपाली कांग्रेस मोरङ ३ बाट प्रतिनिधि सभाका उम्मेदवार प्रमुख स्वामित्वमा रहेको संस्था हो। डा शर्माले सुदूर पूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै उनीहरूको नोबेल अथवा काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचार गरेका छन्।
डा.शर्माले नेपाली क्रिकेट टोली लाई हालै २० लाख रुपैयाँ र यसअघि पनि २० लाख गरी ४० लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्। साथै निःशुल्क उपचारको पनि घोषणा गरेका थिए।
नेपाली राष्ट्रिय महिला टिमकै सबैभन्दा अब्बल र सफल फर्वाडको रूपमा आफूलाई दर्ज गरेकी ‘साम्बा’ले आफ्नो स्वास्थ्य उपचारका लागि आफूले अभिभावक मानेको अखिल नेपाल फुटबल सङ्घ एन्फालाई आग्रह गर्दा क्लबका लागि खेल्दा चोट लागेको तर्क गर्दा आफू निराश भएको उल्लेख गर्दै यसबिचमा आफ्ना प्रतिनिधि मार्फत सरकारसँगसमेत पहल गरे पनि सरकारी प्रक्रिया अपेक्षा अनुसार अगाडि नबढेकोमा असन्तुष्टि व्यक्त गर्दै सहयोगको अपिल गर्दै चोटमुक्त भएपछि देशका लागि शतप्रतिशत दिने प्रतिबद्धतासमेत व्यक्त गरेकी थिइन्।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान जसले युरोपमा पुगेर देशको फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराइन् उनको उपचारमा एन्फा र नेपाल सरकारले देखाएको उदासीनतालाई चुनौती दिँदै केएमसीले देखाएको उदारता र सहयोगको यतिबेला सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.