निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

उम्मेदवारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

उम्मेदवारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

107
SHARES

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे विभिन्न जिल्लाका मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्। उनीसँग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको उच्चअधिकारी टोली सहभागी थियो।

टोलीले निर्वाचन सुरक्षाबारे जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तरक्रिया गरेको छ।

गृहमन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता जनाए। उनले शान्ति सुरक्षाको व्यवस्था राम्रो रहेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे।

उनले गैरकानुनी गतिविधिमा संलग्नलाई कानुनको दायरामा ल्याएर कडा कारबाही गरिने बताए। धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन उनले निर्देशन दिए।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, निष्पक्ष हुने विश्वास व्यक्त गर्दै निर्वाचन आचारसंहिता उलङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्वाचनको तयारी तथा जिल्लाको समग्र शान्ति सुरक्षासँगै जिल्लामा स्रोत साधन तथा सुरक्षा टोलीको परिचालनबारे जानकारी गराएका थिए।

मुख्य निर्वाचन अधिकृतहरूले पनि निर्वाचनका लागि कर्मचारी व्यवस्थापन चुस्त र दुरुस्त रहेको तथा राजनीतिक पार्टीहरूसँग प्रभावकारी समन्वय भइरहेको बताए।

पहाडी जिल्लाको अवलोकनपछि मन्त्री अर्यालको टोलीले तराई–मधेशका मोरङ, रौतहट र पर्सा जिल्लामासमेत मतदान स्थलको निरीक्षण गर्दै सरोकारवालासँग छलफल गरेको छ। पर्साको छलफलमा बाराको जिल्ला सुरक्षा समिति तथा अन्य सरोकारवाला सहभागी थिए।

रौतहटमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले तराई–मधेश क्षेत्रमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैको योगदान रहेको उल्लेख गरे। उनले निर्वाचन सम्बन्धी कुनै कसुर भएमा निर्वाचन विरोधी तत्त्वहरूलाई उन्मुक्ति दिन नहुनेमा जोड दिए।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले विभिन्न समूह र संस्थाले बेला बखत धार्मिक तथा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास गरिए पनि त्यसलाई नियन्त्रणमा लिएर शान्तिसुव्यवस्था कायम गरिएको उल्लेख गरे।

जिल्ला सुरक्षा समितिका पदाधिकारी सहितको उपस्थितिमा मुख्य निर्वाचन अधिकृतले निर्वाचनको सबै तयारी भइसकेको जानकारी दिएका थिए। प्रमुख जिल्ला अधिकारीले सबै जिल्लाको ब्रिफिङ लिई निर्वाचनको लागि सम्पूर्ण तयारी भएको अवगत गराए।

अनुगमनमा सहभागी गृह मन्त्रालयका सह–प्रवक्ता रमा आचार्यका अनुसार मन्त्री अर्याल नेतृत्वको टोलीले शुक्रवार बिहान दोलखाको बैदेश्वर गाउँपालिकाका मतदान स्थलको स्थलगत अनुगमन गरी सुरक्षा अवस्थाबारे समीक्षा गरेको थियो। त्यसपछि टोलीले ओखलढुङ्गा पुगेर निर्वाचन तयारी र शान्ति सुरक्षाबारे अन्तरक्रिया गरेको थियो।

अनुगमनमा गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, एआईजी गणेश ठाडा मगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य, डिआइजी विष्णु भट्ट सहभागी थिए।

समाचार शेयर गर्नुहोस्
107
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.