काठमाडौँ – मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको युद्ध र सैन्य तनावको बाछिटा नेपालसम्म आइपुगेको छ। इजरायल र इरानबीच बढ्दो आक्रमण, प्रतिआक्रमण र गोलाबारीका घटनाले त्यहाँ कार्यरत तथा बसोबास गरिरहेका नेपाली नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
मध्यपूर्वका विभिन्न देशमा रोजगारी, व्यवसाय र अध्ययनका सिलसिलामा पुगेका हजारौँ नेपालीको सुरक्षाप्रति नेपालमा रहेका आफन्तको मनमा गहिरो त्रास उत्पन्न भएको छ। नेपाल सरकारले नेपाली नागरिकलाई इजरायल र इरानको यात्रा नगर्न औपचारिक अनुरोध गरेको छ।
परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म यात्रा नगर्न कडाइका साथ सुझाव दिएको छ। एडभाइजरीमा भनिएको छ-“इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइन्छ।”
सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको परिस्थितिको नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन, स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न र अनावश्यक आवतजावत नगर्न अनुरोध गरिएको छ।
इरानमाथि अमेरिका र इजरायलले सैन्य आक्रमण सुरु गरेपछि इरानले पनि प्रतिआक्रमण प्रारम्भ गरेको छ। आक्रमण लगत्तै हवाई उडानहरू प्रभावित भएका छन्। क्षेत्रीय तनावका कारण विभिन्न आठ देशले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्, जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय उडान तालिकामा परेको छ।
नेपालबाट नियमित रूपमा हुने कतार, संयुक्त अरब इमिरेट्स, कुवेत र टर्कीतर्फका उडान प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार अस्थायी रूपमा चार देशका उडानहरू रोकिएका हुन्।
प्रवक्ता भुलका अनुसार मलेसिया, जापान, सिंगापुर, बैंकक, चीन र भारततर्फका उडान भने नियमित रूपमा सञ्चालन भइरहेका छन्। प्राधिकरणले वायु सेवा सञ्चालक कम्पनीहरूलाई यात्रुहरू कन्तबिजोगमा पर्ने अवस्था सिर्जना हुन नदिन आवश्यक व्यवस्थापन गर्न निर्देशन जारी गरेको छ। यो समस्या नेपालका कारण उत्पन्न नभएको स्पष्ट पार्दै प्रवक्ता भुलले अन्तर्राष्ट्रिय हवाई क्षेत्र बन्द र सुरक्षा जोखिमका कारण यस्तो परिस्थिति आएको बताएका छन्।
प्राधिकरणले प्रभावित यात्रुहरूलाई सम्बन्धित वायु सेवा कम्पनीमा सीधै सम्पर्क गर्न अनुरोध गरेको छ। प्रवक्ता भुलका अनुसार प्रभावित यात्रुको व्यवस्थापन, पुनः तालिकीकरण तथा क्षतिपूर्तिको जिम्मेवारी सम्बन्धित वायु सेवा कम्पनीकै हुनेछ।
सरकारको सक्रियता अपेक्षाकृत कमजोर देखिएको भन्दै आलोचना सुरु भएको छ। ट्राभल एडभाइजरी जारी गरेर मात्र सरकार दायित्वबाट पन्छिन नमिल्ने भन्दै सरोकारवालाले ठोस उद्धार तथा समन्वय योजना सार्वजनिक गर्न माग गरेका छन्।
परराष्ट्र मन्त्रालयका अधिकारी सम्पर्कमा आउन नचाहेको आरोपसमेत लागेको छ। परराष्ट्र मन्त्री बालानन्द शर्माले फोन सम्पर्कमा “नसुनिएको” जवाफ दिएर टारेको देखिएको छ।
इरानले आबुधावीस्थित अल–दाफ्रा क्षेत्रमा रहेको अमेरिकी सैन्य बेसमा आक्रमण गरेपछि नेपाली दूतावास आबुधावीले संयुक्त अरब इमिरेट्समा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। दूतावासले जारी गरेको ट्राभल एडभाइजरीमा अनावश्यक यात्रा नगर्न, सावधानी अपनाउन तथा युएई सरकारले जारी गरेको सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।
आपत्कालीन सहयोगका लागि नेपाली राजदूतावास आबुधावी र नेपाली महावाणिज्यदूतावास दुबईमा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ। युएई सरकारले आफ्ना नागरिक तथा विदेशी कामदारलाई घरबाहिर ननिस्कन आह्वान गरेको छ।
कतारमा कार्यक्षेत्र रहेका गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष राजेन्द्र कुमार शर्माले भने अत्यधिक त्रास फैलाउने अवस्था नरहेको बताएका छन्। स्थिति संवेदनशील भए पनि अनावश्यक आत्तिनु पर्ने अवस्था नभएको उनको भनाइ छ।
मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावप्रति नेपालका राजनीतिक दलका नेताहरूले समेत चासो व्यक्त गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिन, तत्काल सहायता उपलब्ध गराउन र आवश्यक पर्दा उद्धार व्यवस्थापन गर्न आग्रह गरेका छन्।
त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मध्यपूर्वको बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै युएई, इजरायल, इरान लगायतका देशमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन आह्वान गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि क्षेत्रीय युद्धको जोखिमबारे चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत नेपाली नागरिकको सुरक्षाप्रति सरकारलाई गम्भीर हुन आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एव झापा निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाहले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपालीलाई असामान्य परिस्थितिप्रति उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। शाहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आधिकारिक निकायको निर्देशन पालना गर्न, सकेसम्म घरभित्रै सुरक्षित रहन र अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न सुझाव दिएका छन्।
उनले नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्न, आवश्यक पर्दा तत्काल राजदूतावाससँग सम्पर्क गर्न तथा आधिकारिक सूचना नियमित रूपमा हेर्न आग्रह गरेका छन्।
समावेशी समाजवादी पार्टीका सल्लाहकार एवं संरक्षक सुनिल बाबु पन्तले तत्काल नेपाली नागरिकको उद्धार गर्न नेपाल सरकारसँग माग गरेका छन्। पन्तले सामाजिक सञ्जालमा लेखेका छन्,’सरकारले चुनाव स्थगित गरी मध्यपूर्वी देशहरूबाट नेपालीलाई उद्धार गर्न तत्काल कदम चाल्नुपर्छ।’ पन्त संविधान सभाका सदस्य एवं लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारकर्मी समेत हुन्।
मध्यपूर्वका केही क्षेत्रमा विकसित तनावपूर्ण अवस्थाका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाप्रति चासो बढेको छ। सरकार तथा कूटनीतिक नियोगहरू आवश्यक परे समन्वय र सहयोगका लागि चनाखो बन्नुपर्ने अवस्था छ।
सम्भावित सङ्कट थप गहिरिन नदिन समयमै प्रभावकारी कूटनीतिक पहल, आपत्कालीन योजना र स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग भएको छ। तर सरकारले आधिकारिक रूपमा ट्राभल एडभाइजरी जारी गरेर मध्यपूर्वमा रहेका नेपाली नागरिकको अवस्थाबारे केही बत्ताइरहेको छैन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.