काठमाडौँ – जनताको सुख र दुःखमा सधैँ साथमा रहने समाजसेवी र निष्ठावान् व्यक्तित्वका रूपमा चिनिने रमेश अर्याल अहिले काठमाडौँ ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेसका तर्फबाट चुनावी मैदानमा छन्।
सिद्धान्तभन्दा नतिजामा विश्वास गर्ने, परिणाममुखी र व्यावहारिक नेताका रूपमा उनको परिचय स्थापित छ। यही पृष्ठभूमिमा उनी बाहिरी चर्चा र प्रचारभन्दा स्थानीय जनसम्पर्क, सङ्गठन र विगतको कामलाई आधार बनाएर चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा केन्द्रित छन्।
उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डे लगायतका व्यक्तित्वसँग सम्बन्धित मिडिया ट्रायलका कारण आमसञ्चारमा अर्याल अपेक्षाकृत ओझेलमा परेका छन्।
तर उनी प्रचारप्रधान रणनीतिभन्दा मतदातामाझ प्रत्यक्ष उपस्थिति, घरदैलो, कार्यकर्ता परिचालन र विगतको कार्यसम्पादनलाई मुख्य आधार बनाएर अघि बढिरहेका छन्। यसरी उनी सार्वजनिक बहसको केन्द्रमा नआए पनि सङ्गठित र लक्षित मत व्यवस्थापनमार्फत चुनाव जित्ने तयारीमा छन्।
सञ्चारमाध्यममा अपेक्षाकृत कमजोर उपस्थिति देखिए पनि स्थानीय राजनीति र क्षेत्रीय यथार्थको आधारमा उनी बलियो देखिन्छन्। अर्याल गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का पूर्वअध्यक्ष हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा जनमतबाट निर्वाचित भई उनले जिम्मेवारी निर्वाह गरेका थिए।
स्थानीय तहमा काम गर्दा उनले प्रशासनिक अनुभव मात्र होइन, मतदातासँग प्रत्यक्ष सम्बन्ध पनि विस्तार गरेका थिए। यही सम्बन्ध अहिले चुनावी रणनीतिको महत्त्वपूर्ण पुँजी बनेको छ।
अर्यालले गोकर्णेश्वर नगरपालिकामा विपत् प्रमुखको रूपमा काम गर्दा खेलेको भूमिका जनतामाझ परिचित छ। विपद् व्यवस्थापनमा समन्वय, उद्धार तथा राहत वितरणमा उनले सक्रियता देखाएका थिए। कोभिड महामारीको समयमा त्यस क्षेत्रमा गरिब र असहायलाई निःशुल्क खाना वितरण गर्ने, राहत तथा उद्धारमा संलग्न हुने जस्ता कार्यका कारण उनको छवि सङ्कटमा अग्रपङ्क्तिमा काम गर्ने नेताका रूपमा बनेको छ।
स्थानीय मतदाताहरूले त्यही अनुभवलाई अहिले पनि स्मरण गरिरहेका छन्। यो पृष्ठभूमि उनको चुनावी सन्देशको केन्द्रमा छ-सङ्कटमा साथ दिने, परिणाम दिने नेतृत्व।
यस क्षेत्रका विद्यालय सुधार अभियानमा उनले थालेको पहललाई पनि उनको उपलब्धिका रूपमा हेरिएको छ। विद्यालयको भौतिक पूर्वाधार, व्यवस्थापन र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै थालिएको अभियान अहिले पनि निरन्तर छ।
शिक्षा, विपद् व्यवस्थापन र सामाजिक सहायतामा देखिएको निरन्तरता उनको चुनावी प्रतिबद्धताको प्रमाणका रूपमा प्रस्तुत भइरहेको छ।
स्थानीय तहमा काम गरेर बनेको पहिचान, कार्यकर्तासँग प्रत्यक्ष सम्पर्क, टोलस्तरको सङ्गठन सुदृढीकरण र क्षेत्रको भौगोलिक, सामाजिक तथा मतगत संरचनाबारे गहिरो बुझाइ नै उनको चुनाव जित्ने मुख्य आधार मानिएको छ। मतदाताको मनोविज्ञान, विगतका मतदान प्रवृत्ति र सङ्गठनात्मक संरचना विश्लेषण गरी मत व्यवस्थापन गर्ने रणनीतिमा उनी सक्रिय देखिन्छन्।
जनआधार र जनविश्वासलाई संरक्षित गर्दै विवादमा नजाने, संयमित प्रस्तुति दिने र लक्षित समूहसँग नियमित सम्पर्क कायम राख्ने शैलीले उनी आफ्ना मतदाता माझ ‘काम गर्ने नेता’ का रूपमा चिनिएका छन्।
यस क्षेत्रमा अन्य उम्मेदवार प्रतिस्पर्धामा रहे पनि उनले आफ्नो प्रतिस्पर्धी कसैलाई कम वा बढी भनेर सार्वजनिक रूपमा नबोल्ने रणनीति अपनाएका छन्। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका कृष्णबहादुर राईलाई पराजित गर्दै कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए।
त्यस नतिजाले काठमाडौँ ३ लाई कांग्रेसका लागि उर्वर निर्वाचन क्षेत्रका रूपमा स्थापित गरेको थियो। यही ऐतिहासिक मतदान प्रवृत्तिलाई निरन्तरता दिलाउने लक्ष्यसहित अर्याल चुनावी अभियानमा छन्।
कांग्रेसभित्रको नयाँ ऊर्जालाई पनि उनको पक्षमा देखिँदै आएको छ। विशेष महाधिवेशनपछि गगनकुमार थापा सभापतिमा आउँदा पार्टीमा नयाँ आशा र उमङ्ग देखिएको छ। युवापुस्तामाझ कांग्रेसप्रति बढ्दो आकर्षण र नेतृत्वप्रतिको अपेक्षाको प्रभाव काठमाडौँ ३ मा पनि देखिएको विश्लेषण भइरहेको छ।
पार्टी नेतृत्वको परिवर्तन, सङ्गठनात्मक पुनर्सक्रियता र स्थानीय संरचनाको मजबुतीकरणसँगै अर्यालले आफूलाई त्यस लहरसँग जोडेर अघि बढाएका छन्।
यी सबै आधारलाई जोडेर हेर्दा बाहिरबाट अपेक्षाकृत कम चर्चामा देखिए पनि रमेश अर्याल काठमाडौँ ३ मा चुनावी प्रतिस्पर्धामा सहज प्रतिद्वन्द्वी मात्र होइनन्। स्थानीय पकड, सङ्गठनको बल, विगतको कार्यसम्पादन, सङ्कटमा देखिएको सक्रियता, ऐतिहासिक चुनावी प्रवृत्ति र पार्टीभित्रको नयाँ ऊर्जालाई संयोजन गर्दै उनले चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीति अघि सारेका छन्। चर्चा कम, सङ्गठित काम बढी-यही शैलीले उनी काठमाडौँ ३ मा विजेताका रूपमा उभिने आधार तयार गरिरहेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.