निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

इरान-अमेरिका युद्ध : युएई आक्रमणमा एक नेपालीको मृत्यु, श्रम स्वीकृति बन्द

इरान-अमेरिका युद्ध : युएई आक्रमणमा एक नेपालीको मृत्यु, श्रम स्वीकृति बन्द

118
SHARES

काठमाडौँ – युएईमा भएको आक्रमणमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ। संयुक्त अरब एमिरेट्स (युएई) लाई लक्षित गरी इरानले गरेको पछिल्लो हवाई आक्रमणमा एक नेपाली नागरिकले ज्यान गुमाएका हुन्।

नेपालको परराष्ट्र मन्त्रालयका अनुसार उक्त घटनामा एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ। नेपाल, पाकिस्तान र बङ्गलादेशका एक/एक जना नागरिकको मृत्यु भएको जानकारी प्राप्त भएको मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले दिएका छन्। मृत्यु हुने व्यक्तिहरूको परिचय भने खुल्न नसकेको उनले बताए।

अमेरिका र इजरायलले इरान माथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चर्किएको छ। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको हत्या भएपछि क्षेत्रीय अवस्था अझ अस्थिर बनेको छ। त्यसको प्रतिउत्तरस्वरूप इरानले साउदी अरब, कतार, संयुक्त अरब एमिरेट्स (युएई), जोर्डन र बहराइनस्थित अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गरिरहेको छ।

मध्यपूर्वमा फैलिएको यो अशान्तिको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ। नेपालबाट खाडी मुलुकतर्फ जाने हवाई उडानहरू रद्द भएका छन्। काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको चाप बढेको छ।

अमेरिका तथा इजरायलको आक्रमणपछि प्रतिक्रिया स्वरूप इरानले साउदी अरब, संयुक्त अरब एमिरेट्स, कतार, जोर्डन र बहराइनस्थित अमेरिकी सैनिक अखडाहरूलाई निशाना बनाएको हो। ती देशहरूमा नेपालीको संख्या उल्लेखनीय रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मध्यपूर्वका सम्बन्धित देशहरूमा गरी कुल १७ लाख २९ हजार २८८ नेपाली नागरिक रहेका छन्। मन्त्रालयले दिएको विवरणअनुसार इरानमा १० जना नेपालीमध्ये ४ जना फर्किसकेका छन्। इजरायलमा ६ हजार ५ सय, इजिप्टमा ५ सय, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६४, संयुक्त अरब एमिरेट्समा करिब ७ लाख, लेबनानमा १५ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली नागरिक रहेको मन्त्रालयले जनाएको छ।

मध्यपूर्वी देशहरूमा विकसित पछिल्लो घटनाक्रमपछि नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। यद्यपि, अहिलेसम्म कति नेपाली अलपत्र परेका छन् भन्ने यकिन विवरण प्राप्त नभएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवन सिंह गुरुङले जानकारी दिए।

परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सक्रिय कदम चालिएको जनाएको छ। मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले हालसम्म प्राप्त विवरणअनुसार त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको बताएका छन्।

सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावास तथा नियोगहरूले सतर्कता सूचना जारी गरिसकेको मन्त्रालयले जनाएको छ। आपत्कालीन उद्धारका लागि पूर्वतयारी सुरु गरिएको र मुख्यसचिवको निर्देशनमा परराष्ट्र सचिवको संयोजकत्वमा सम्पूर्ण सरोकारवाला निकायहरू सम्मिलित ‘मल्टी स्टेकहोल्डर इमर्जेन्सी रेस्क्यु टिम’ गठन गरिएको जानकारी प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले जानकारी दिए।

तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा गन्तव्यमा पुग्न नपाएका, युरोप तथा अमेरिका जान मध्यपूर्वलाई ट्रान्जिट बनाएका कारण विमानस्थलमै रोकिएका तथा भिसा लागेर पनि उडान गर्न नपाएका नेपाली नागरिकको व्यवस्थापनका लागि सरकारले पर्यटन मन्त्रालय, सम्बन्धित एयरलाइन्स र वैदेशिक रोजगार व्यवसायीहरूसँग समन्वय गरिरहेको मन्त्रालयले दिएको छ।

मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली सुरक्षित रहेको जानकारी दिँदै अफवाहमा नलाग्न र नआत्तिन सबैमा अनुरोध गरेको छ।

रोजगारी, अध्ययन तथा अन्य उद्देश्यले मध्यपूर्व गएका नेपाली नागरिकका आफन्तमा त्रास बढेको छ। उडान प्रभावित भई विमानस्थलमा अलपत्र परेका यात्रुको सहयोगका लागि नेपाली कांग्रेसले हेल्प डेस्क सञ्चालन गरेको सभापति गगन कुमार थापाले बताएका छन्।

सभापति थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। थापाले सामाजिक सञ्जालमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

जारी विज्ञप्तिमा थापाले उक्त क्षेत्रमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन्। द्वन्द्वग्रस्त र असुरक्षित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि आवश्यक सतर्कता र समन्वय अपरिहार्य रहेको उनले उल्लेख गरेका छन्।

त्यस्तै, कांग्रेस सभापति थापाले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक पहललाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरेका छन्। विदेशमा रहेका नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल पहल गर्न उनले सरकारसँग माग गरेका छन्।

यसका साथै, जनसम्पर्क समितिका साथीहरू, गैर आवासीय नेपाली सङ्घ तथा समग्र नेपाली समुदायलाई अप्ठ्यारोमा परेका नेपालीको पहिचान, सहयोग र आवश्यक समन्वयका लागि सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।

उक्त घटनाले युएईस्थित नेपाली समुदायमा चिन्ता थपिएको छ भने सरोकारवालाहरूले नेपाली नागरिकको सुरक्षाका विषयमा चासो बढाएको बताएका छन्।

सरकारले खाडी मुलुक तथा इजरायल जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ। इजरायल, अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गरी उक्त निर्णय गरिएको हो। सम्बन्धित देशमा जान विमानस्थलमा बसेका नागरिकलाई सरकारले घर फर्किन अनुरोध गरेको छ।

तनाव थप बढेमा नेपाली नागरिकको उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सरकारले आवश्यक सम्पूर्ण तयारी अवस्थामा राखेको जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बालानन्द शर्मा र श्रममन्त्री राजेन्द्रसिंह भण्डारीलाई बालुवाटारमा बोलाएर मध्यपूर्वको पछिल्लो अवस्था र नेपाली नागरिकको सुरक्षाबारे जानकारी लिएकी छन्।

लगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षाबारे गम्भीर छलफल भएको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए। उनका अनुसार हवाई उडान बन्द भएकाले हालको अवस्थामा जहाँ रहेका छन् त्यही सुरक्षित राख्ने बाहेक तत्काल फिर्ता ल्याउन सकिने अवस्था छैन।

समाचार शेयर गर्नुहोस्
118
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.