"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

देशको बागडोर सुम्पने दिन नजिकिँदा प्रधानमन्त्री कार्की कठिन मोडमा

देशको बागडोर सुम्पने दिन नजिकिँदा प्रधानमन्त्री कार्की कठिन मोडमा

123
SHARES
तस्बिरः केशव थापा/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की कार्यकालको अन्तिम समयमा कठिन अवस्थामा पुगेकी छन्। देशको बागडोर सुम्पने नेतृत्व चुनेर पठाउन उनले नेपाली जनतासँग गुहार मागेकी छन्।

सत्ता हस्तान्तरणको तयारी भइरहेका बेला बाह्य परिस्थितिले उनको जिम्मेवारी थप जटिल बनाएको छ। १७ लाखभन्दा बढी नेपाली नागरिक पुगेको मध्यपूर्व क्षेत्रमा युद्ध चर्किँदा एक नेपालीको ज्यान गएको पुष्टि भइसकेको छ।

मध्यपूर्वको अशान्तिको बाछिटा नेपालसम्म आइपुग्दा प्रधानमन्त्री कार्कीले संवेदनशील र चुनौतीपूर्ण अवस्था बेहोर्नु परेको छ। विदेशस्थित नेपालीको सुरक्षा, कूटनीतिक समन्वय र चुनावी तयारी, यी तीनै मोर्चामा सरकार एकैसाथ सक्रिय हुनुपर्ने परिस्थिति बनेको छ।

प्रधानमन्त्री कार्कीले मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको सङ्कटप्रति गम्भीर चिन्ता व्यक्त गरिन्। इरान र वरपर विकसित तनावपूर्ण अवस्थालाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको जानकारी दिँदै त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा सरकारको प्रमुख चासो भएको बताइन्।

सम्बन्धित सबै नेपाली नियोगलाई सुरक्षासम्बन्धी सहजीकरणमा सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको उल्लेख गरिन्। “नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको सुरक्षा र हितको रक्षामा सरकार कटिबद्ध छ,” उनले भनिन्।

आन्तरिक सङ्क्रमण र बाह्य सङ्कटका बीच प्रधानमन्त्री कार्की आफ्नो कार्यकालको अन्तिम दिनहरू गन्दै देशको बागडोर जनताबाट निर्वाचित प्रतिनिधिहरूलाई हस्तान्तरण गर्ने तयारीमा छिन्। सहज रूपमा सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री कार्कीले अपेक्षित वातावरण भने पाएकी छैनन्।

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराएर देशको बागडोर सुम्पने दिन गन्दै बसेकी प्रधानमन्त्री कार्कीका सामु मध्यपूर्वका नेपाली नागरिकको सुरक्षा चुनौती थपिएको छ। राष्ट्रिय राजनीतिक सङ्क्रमण र अन्तर्राष्ट्रिय अस्थिरता एकै समयमा जुध्दा कार्यकारी नेतृत्वमाथि दबाब बढेको छ।

मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आचारसंहिता अनुरूप प्रधानमन्त्री कार्कीले देशवासीका नाममा सम्बोधन गरेकी छन्। इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई आफूले मातृभूमिप्रतिको कर्तव्यका रूपमा लिएको बताउँदै उनले न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेको उल्लेख गरिन्। गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त पूर्वप्रधानन्यायाधीश कार्कीले अब केही दिनमै देशको कार्यकारी नेतृत्व जनताबाट निर्वाचित प्रतिनिधिहरूको हातमा जाने स्पष्ट पारेकी छन्।

संवैधानिक कार्यतालिकाअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि बहुमत प्राप्त दलको नेतृत्वमा नयाँ सरकार गठन हुने व्यवस्था छ, र त्यससँगै वर्तमान प्रधानमन्त्रीले पद त्याग गर्नुपर्नेछ।

फागुन २१ पछि आफू पदमुक्त हुने नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री कार्कीले अपिल गरिन्, “आउनुहोस्, होलीको खुसी साटौँ। फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ।”

प्रधानमन्त्रीले देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा उभिएको बताइन्। उनका अनुसार आउँदो फागुन २१ गते जनताले आफ्नो र आफ्नो देशको भविष्यको निर्णय गर्नेछन्। तर त्यसअघि सांस्कृतिक पर्व होली अर्थात् फागु पूर्णिमा परेको स्मरण गराउँदै उनले रङ्गहरूको उत्सव र लोकतान्त्रिक अभ्यास दुवै समान रूपमा अर्थपूर्ण रहेको धारणा राखिन्।

उनले आफ्नो कार्यकालको सुरुवाततर्फ सङ्केत गर्दै जेनजी आन्दोलनपछि उत्पन्न जटिल, संवेदनशील र चुनौतीपूर्ण परिस्थितिमा आफूले जिम्मेवारी सम्हालेको उल्लेख गरिन्। सडकमा युवाहरूको आक्रोश थियो, आममानिसमा असुरक्षा थियो र देशको भविष्य अन्योलग्रस्त थियो। “त्यो कठिन सङ्क्रमणलाई व्यवस्थापन गर्दै हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्‍याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले विधिको शासन स्थापित गर्न र संविधानको मार्गमा मुलुकलाई स्थिरतापूर्वक अघि बढाउन सफल भएको दाबी गरिन्। सङ्क्रमणकालीन अन्योलबीच संवैधानिक प्रक्रिया कायम राखिएको, निर्वाचन कार्यतालिका तोकिएको समयमै अघि बढाइएको तथा राज्य संयन्त्रलाई निर्वाचनतर्फ केन्द्रित गरिएको उनको भनाइ छ।

उनले सम्पूर्ण मतदातालाई निर्वाचनमा सहभागी हुन आह्वान गरिन्। “भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भन्ने निर्णय हो,” उनले स्पष्ट पारिन्। तसर्थ, फागुन २१ गते बिहीबारका दिन अन्य सबै काम छाडेर भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्न उनले अपिल गरिन्।

उनले निर्वाचन अवधिभर शान्ति र अमनचयन कायम राख्न आग्रह गरिन्। “शान्ति नै नेपालको असली पहिचान हो। चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाब र वैमनस्य हुनुहुँदैन,” उनले भनिन्।

चुनावी मैदानमा रहेका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई धन्यवाद दिँदै उनले उनीहरूको सक्रियताले लोकतन्त्रलाई जीवित राख्ने बताइन्। मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न तथा त्यसअघिको बाँकी समयमा संयमित ढङ्गले एकअर्कालाई सम्मान गर्दै प्रचार–प्रसार गर्न आग्रह गरिन्।

निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका अनुसार तयारी पूरा गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न सरकार र आयोग दुवै पूर्ण प्रतिबद्ध रहेको बताइन्। प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्त्वपूर्ण सहयोग पुर्‍याएको तथा नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत–साधन परिचालन गरेको जानकारी दिइन्।

राष्ट्रपतिबाट प्राप्त अभिभावकीय सहयोगप्रति उनले व्यक्तिगत तथा सरकारी तवरबाट कृतज्ञता प्रकट गरिन्। मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त उत्साहजनक साथ र प्रतिक्रियाप्रति आभार व्यक्त गरिन्। निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरूलाई धन्यवाद दिँदै संयुक्त राष्ट्र सङ्घीय निकायहरूबाट प्राप्त सहयोगप्रति पनि आभारी रहेको उल्लेख गरिन्।

सामाजिक सञ्जाल तथा केही आमसञ्चार माध्यमबाट तथ्यहीन, कृत्रिम सामग्री र भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्त्वहरूलाई सरकारले निगरानीमा राखी कानुनी दायरामा ल्याइरहेको जानकारी दिँदै उनले त्यस्ता भ्रममा नपर्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न सबै देशवासीलाई आग्रह गरिन्।

उनले मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिने प्रतिबद्धता दोहोर्‍याइन्। “कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि हट्ने छैन,” उनले स्पष्ट पारिन्।

होली अर्थात् फागु पूर्णिमाको सन्दर्भमा उनले देश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिँदै रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिने बताइन्। निर्वाचनको रङ्ग र होलीको रङ्ग मिलेर देशमा नयाँ उत्साह छाओस् भन्ने कामना गर्दै उनले संयमित रूपमा पर्व मनाउन र कसैको इच्छाविपरीत रङ नलगाउन आग्रह गरिन्।

समाचार शेयर गर्नुहोस्
123
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.