काठमाडौँ – विद्यार्थी राजनीतिबाट उदाएका कर्मठ व्यक्ति हुन् प्रमोदहरि गुरागाईँ। तिनै गुरागाईँ अहिले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा छन्।
निर्वाचनलाई नीति निर्माण र सामाजिक सन्तुलन जोगाउने निर्णायक अवसरका रूपमा लिँदै केही मतदाताले उनलाई यस क्षेत्रको निर्विकल्प पात्रका रूपमा चित्रण गरेका छन्। २०३१ साल पुस २७ गते काठमाडौँको धोवीचौर कशलेचौरमा जन्मिएका गुरागाईँ मानवशास्त्रमा स्नातकोत्तर हुन्।
समाजशास्त्रअन्तर्गतको मानवशास्त्र विषयमा १७ वर्ष अध्यापन गरेको अनुभवसहित उनी सक्रिय राजनीतिमा आएका हुन्। अमृत साइन्स क्याम्पसमा आइएस्सी अध्ययनसँगै उनले २०४५ सालदेखि नेपाल विद्यार्थी सङ्घमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए।
स्थानीय सम्पत्तिको प्रयोगमा नागरिकलाई सुलभ पहुँच दिनुपर्ने विषयलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्। नेपाल विद्यार्थी सङ्घमा तीन पटक केन्द्रीय सदस्य भइसकेका गुरागाईँले पार्टीका विभिन्न नेतासँग केन्द्रीय समितिमा बसेर काम गरेको अनुभव समेटेका छन्।
उनी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आबद्ध भई देशका ७२ जिल्लामा सङ्गठन विस्तारका लागि पुगेका थिए। साथै नेपाल प्रेस युनियनको प्रतिबद्धता पत्र लेखन समितिमा सदस्यका रूपमा पनि काम गरेको अनुभव उनीसँग छ। नीतिगत समझदारी र राष्ट्रिय दृष्टिकोण आफूमा रहेको उनी बताउँछन्।
आफ्नो जीवन पारदर्शी रहेको दाबी गर्दै उनले अध्यापन पेसाबाट आर्जन गरेको आम्दानीमै जीवनयापन गरिरहेको बताएका छन्। काठमाडौँ क्षेत्र नम्बर ७ का लागि आफू दीर्घकालीन सोच बोकेको र तल्लो तहसम्म जनताका समस्यासँग नजिक भएर काम गरेको उम्मेदवार भएको उनको दाबी छ।
मानवशास्त्र अध्यापन गर्ने पृष्ठभूमिका कारण नीति निर्माण गर्दा सामाजिक, सांस्कृतिक तथा दीर्घकालीन प्रभावको विश्लेषण गर्न आफू सक्षम रहेको उनले उल्लेख गरेका छन्। कुनै पनि निर्णय गर्नु अघि त्यसको तत्कालीन, अल्पकालीन र दीर्घकालीन प्रभाव के हुन्छ भन्ने विषयमा इमानदार भएर काम गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
चुनावी घरदैलो अभियानमा रहेका गुरागाईँले यसपटक रुख चिन्हमा मत हाल्न पाउने कुराले कांग्रेस परिवारमा नयाँ ऊर्जा आएको अनुभव सुनाए। बदलिएको कांग्रेसको प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउँदै उनले भने, “यस क्षेत्रमा सङ्गठनात्मक रूपमा एक ढिक्का भएर चुनावी मैदानमा उत्रिएका छौँ, त्यसैले चुनाव जित्न कुनै समस्या छैन।”
उम्मेदवारको योग्यता, अनुभव र दीर्घकालीन सोचलाई मतदाताले ‘एक्स–रे’ दृष्टिले हेरेर निर्णय गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। आफू उम्मेदवार भएसँगै कांग्रेस समर्थक मात्र नभई फरक विचार राख्ने आफन्त, छरछिमेकमा समेत हार्दिकता र विनयशीलता कायम गर्न सफल भएको उनको भनाइ छ।
नेपाल विविध जातजाति, भाषाभाषी र भौगोलिक विविधताले सम्पन्न राष्ट्र भएकाले सामाजिक सन्तुलन बिगार्ने प्रयासप्रति सजग रहनुपर्ने आवश्यकता उनले औँल्याएका छन्। सामाजिक एकता जोगाउने विषयमा आफूले महत्त्वपूर्ण योगदान पुर्याएको दाबी गर्दै काठमाडौँ क्षेत्र नम्बर ७ का मतदाता आफ्नो पक्षमा उत्साही देखिएको उनले बताएका छन्।
नेपाली कांग्रेसलाई सामाजिक सन्तुलन कायम राख्ने र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित नयाँ चेतना बोकेको पार्टीका रूपमा प्रस्तुत गर्दै उनले चुनावी अभियान अघि बढाएका छन्। नयाँ चेतना र सन्तुलित सोच बोकेको दल कांग्रेस नै भएको र समाजभित्र सन्तुलन नबिगारी अघि बढ्ने दृष्टिकोण अन्यत्र नभएको उनको दाबी छ। लोकतन्त्रमा असहमति राख्ने अधिकार सुरक्षित हुनुपर्छ भन्ने अडान उनले दोहोर्याएका छन्।
काठमाडौँका तत्कालीन मुद्दा
गुरागाईँले काठमाडौँ क्षेत्र नम्बर ७ का स्थानीय मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। रिङरोड विस्तारसँगै धुलाम्मे सडकलाई हरियालीयुक्त बनाउनुपर्ने, साइकल लेन तथा अपाङ्गमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने उनले बताएका छन्।
विष्णुमती र सामाखुसी क्षेत्रको फोहोर व्यवस्थापनलाई अल्पकालीन तथा दीर्घकालीन योजनासहित सुधार गर्ने एजेन्डा अघि सारेका छन्।
निकास, डुबान र गुठीसम्बन्धी समस्या झेलिरहेको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ का मतदाताका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा रहेका राजनीतिक दल तथा उम्मेदवारहरू मतदातासँगको भेटघाटमा स्थानीयले उठाएका आधारभूत आवश्यकता र पूर्वाधारसम्बन्धी समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन दिइरहेका छन्।
आगामी २१ गते हुने निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँ, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रकाश श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका वसन्तप्रसाद मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसहित २७ दलका उम्मेदवार र १० स्वतन्त्र उम्मेदवार गरी कुल ३७ जना प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा गुरागाईँको मुख्य प्रतिस्पर्धा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रकाश श्रेष्ठसँग रहेको दाबी गरिएको छ।
यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका, तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाका १० वटा वडा पर्छन्। काठमाडौँ महानगरपालिकाका वडा नम्बर १६, १७, १८ र २५ अन्तर्गतका बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, म्हैपि, धोबीचौर, ठहिटी, भुरुङ्खेल, ढल्को, नरदेवी, न्हयौखा र मछिन्द्रटोल; तारकेश्वर नगरपालिका वडा नम्बर ३, ४ र ५ का तीनपिप्ले, गोलढुङ्गा र लोलाङ; तथा नागार्जुन नगरपालिका वडा नम्बर १, २ र ३ का रानीवन, ठूलोभर्याङ र गैरीगाउँ यस क्षेत्रमा समावेश छन्।
यस निर्वाचन क्षेत्रमा ७८ वटा मतदान केन्द्र रहेका छन् भने मतदाता सङ्ख्या ६७ हजार ४११ जना रहेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.