"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सामाजिक विभेद चिरेर चुनावी प्रतिस्पर्धामा: सकारात्मक व्यवहारले बढ्यो आत्मविश्वास

सामाजिक विभेद चिरेर चुनावी प्रतिस्पर्धामा: सकारात्मक व्यवहारले बढ्यो आत्मविश्वास

127
SHARES

काठमाडौँ – मौन अवधि सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा समावेशी समाजवादी पार्टीका उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा व्यस्त देखिएका छन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा पहिलो पटक निर्वाचन आयोगमा दर्ता भएको पार्टीले नेपालको राजनीतिक इतिहासमै नयाँ अध्याय सुरु गरेको दाबी गरेको छ।

पहिलो पटक समलिङ्गी तथा तेस्रोलिंगी पहिचानका व्यक्तिहरू सङ्गठित रूपमा एउटै राजनीतिक दलमा आबद्ध भई प्रत्यक्षतर्फ ६ जना उम्मेदवारलाई प्रतिस्पर्धामा उतारिएको छ।

पहिचान खुलाएर समानुपातिकतर्फ १२ जनाको बन्दसूची पेस गरिएको छ। समुदायका सदस्यहरूले लामो समयदेखि झेलेको सामाजिक बहिष्कार, उपेक्षा, अधिकारका लागि सङ्घर्ष र पहिचानको लडाइँलाई अब संसद्सम्म पुर्‍याउने उद्देश्यसहित उम्मेदवारी दिएको उनीहरूको भनाइ छ।

पार्टीका संरक्षक तथा सल्लाहकार सुनिल बाबु पन्तले फागुन २१ गतेको मतदानलाई समुदायका लागि ‘जनगणना’ सरहको अवसरका रूपमा व्याख्या गरेका छन्। उनले गोप्य मतदानमार्फत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको वास्तविक शक्ति देखाउन अपिल गरेका छन्।

उनका अनुसार, वर्षौँदेखि अस्तित्व र अधिकारको मान्यताका लागि सङ्घर्षरत समुदायले अब राजनीतिक प्रतिनिधित्वमार्फत आफ्नो आवाज स्थापित गर्ने अवसर पाएको छ।

नुमा लिम्बु चञ्चला, जो मोरङ–४ बाट उम्मेदवार र पार्टी अध्यक्ष हुन्, फागुन २१ लाई अत्यन्तै महत्त्वपूर्ण दिनको रूपमा चित्रण गर्छिन्। उनले अब गुनासो गर्ने समय सकिएको बताएकी छन्। “वर्षौँदेखि हामीले भनिरहेका छौँ, नेपालमा यो भएन, त्यो भएन, विकास पुगेन, सुशासन आएन, नियम–कानुन बलियो भएन। तर अब गुनासो गर्ने समय सकिएको छ, अब शक्ति हाम्रो हातमा छ,” उनले भनिन्।

उनले मतदातालाई परम्परागत सोचबाट बाहिर निस्केर विवेकपूर्ण निर्णय गर्न आग्रह गरेकी छन्। “यसपालि ‘बाउबाजेले भोट दिनुहुन्थ्यो’ वा ‘यो हाम्रो मान्छे हो’ भनेर होइन, सोचेर, बुझेर, मूल्याङ्कन गरेर भोट दिनुहोस्,” उनको अपिल छ।

परिवर्तन बाहिरबाट कसैले ल्याइदिने होइन, आफैँले ल्याउनुपर्ने बताउँदै उनले आफ्नो हातमा रहेको अधिकारको सही प्रयोग गर्न आग्रह गरेकी छन्। समानता र समावेशितासहित बलियो र समृद्ध नेपाल निर्माण गर्न सबैलाई एकजुट हुन आह्वान गर्दै उनले “जय समावेशी” नारासहित चुनावी अभियान अघि बढाएकी छन्।

पार्टीले काठमाडौँ–१ मा पहिलो समलिङ्गी विवाह दर्ता प्रक्रियामा सफल भएका २८ वर्षीय कान्छा उम्मेदवार सुरेन्द्र पाण्डेलाई अघि सारेको छ।

काठमाडौँ–१० बाट लोकदोहोरी गायक पूर्णचन्द्र पौडेल, रुपन्देही–२ बाट समुदाय सुधारका अभियन्ता देवेन्द्र बहादुर खत्री, ओखलढुङ्गाबाट अन्य पहिचानकी उम्मेदवार पिंकी राई र काभ्रेपलान्चोकबाट विनोद लामा उम्मेदवार छन्।

लामो समयदेखि सामाजिक अपमान, विभेद र अदृश्यताको पीडा खेप्दै आएको समुदायका उम्मेदवारहरू यसपटक घरदैलोमा जाँदा भने अपेक्षाभन्दा सकारात्मक व्यवहार पाएको अनुभव सुनाउँछन्।

मौन अवधि सुरु हुन लाग्दा व्यस्त रहेका काठमाडौँ–१ का उम्मेदवार सुरेन्द्र पाण्डेले श्रीवत्स चुनाव चिन्हमा मत माग्दा कतैबाट नकारात्मक व्यवहार नभएको बताए। “सबैबाट सकारात्मक, राम्रो व्यवहार पाइएको छ, नकारात्मक कुरा कतै सुन्न परेन,” उनले भने।

उनको प्रचारमा संलग्न माया गुरुङले पनि समलिङ्गी र तेस्रोलिंगी पहिचान खुलाएर मत माग्दा कुनै अपमान वा अस्वीकारको सामना गर्न नपरेको बताइन्। “समलिङ्गी, तेस्रोलिंगी हौँ भनेर भोट माग्दा कोहीबाट नकारात्मक व्यवहार नहुँदा हामी खुसी छौँ। अब श्रीवत्समा मतदान गरिदिनु भए हुन्छ,” उनले भनिन्।

वर्षौँदेखि सामाजिक स्वीकृति, अधिकार र सम्मानका लागि सङ्घर्ष गर्दै आएको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले यसपटक राजनीतिक प्रतिनिधित्वमार्फत आफ्नो पहिचान, पीडा, चुनौती र सकारात्मक सहअस्तित्वको सन्देश मतदातामाझ पुर्‍याउने प्रयास गरिरहेको छ।

समाचार शेयर गर्नुहोस्
127
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.