काठमाडौँ – सपना राजभण्डारी जोशी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा छिन्।
नेपाली कांग्रेसका दिवङ्गत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकी धर्मपत्नी राजभण्डारी यतिबेला चुनावी प्रचारप्रसारमा सक्रिय छिन्। २०२३ सालमा काठमाडौँको नागार्जुनमा जन्मिएकी उनले विद्यार्थी अवस्थादेखि नै राजनीतिक यात्रा सुरु गरेकी थिइन्।
नेता जोशीसँग वैवाहिक सम्बन्ध अघि बढाउनुअघि उनी सक्रिय विद्यार्थी राजनीतिमा संलग्न थिइन्। पछिल्लो समय उनले सामाजिक तथा शैक्षिक क्षेत्रमा पनि भूमिका निर्वाह गरिन्।
नवीन्द्रराज जोशी सोही क्षेत्रबाट २०६४ र २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए। उनले साङ्गठनिक पकड, निष्ठा र इमानदारीपूर्वक राजनीति गरेर फरक पहिचान स्थापना गरेका कारण लोकप्रियता हासिल गरेका थिए।
श्रीमान् सक्रिय राजनीतिमा रहँदा राजभण्डारी गृहिणीको भूमिकासँगै विभिन्न सामाजिक काममा सक्रिय थिइन्। २०७७ साल चैत १३ गते मस्तिष्कघातका कारण नवीन्द्रराज जोशीको निधन भएपछि पार्टीले नै उनलाई थप राजनीतिक रूपमा सक्रिय हुन प्रेरित गरेको उनी बताउँछिन्। उनले नवीन्द्रराजको इमानदारी, निष्ठा र सपना साकार पार्ने उद्देश्यले सक्रिय राजनीतिमा आएको उल्लेख गरेकी छिन्।
उनी दोस्रो पटक सोही क्षेत्रमा प्रतिस्पर्धामा छिन्। यसपटक मतदाताको विश्वास जित्ने उद्देश्यसहित उनी घरदैलो अभियानमा जुटेकी छन्। आफ्नो पक्षमा सकारात्मक वातावरण रहेको दाबी गरे पनि अन्तिम निर्णय मतदाताको हातमा हुने उनी बताउँछिन्। मतदाताका अपेक्षाहरू विविध भए पनि स्थानीय आवश्यकता र व्यवहारिक समाधानमा केन्द्रित भएर अघि बढ्ने उनको भनाइ छ।
राजभण्डारीले भदौ २३ र २४ मा भएको आन्दोलन तथा त्यसले उठाएका सवाललाई ध्यानमा राख्दै ‘जेनजी आन्दोलन’ को म्यान्डेट पूरा गर्नु अहिलेको प्राथमिक आवश्यकता रहेको बताएकी छिन्। उनका अनुसार पुराना राजनीतिक दलका व्यक्तिहरू सच्चिएर र रूपान्तरणसहित अघि बढ्नुपर्ने जनचाहना थियो। विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तनसँगै कांग्रेस रूपान्तरणको बाटोमा अघि बढेको र त्यसले मतदाताको दृष्टिकोणमा केही परिवर्तन ल्याएको उनको बुझाइ छ।
काठमाडौँका अधिकांश तहमा कांग्रेसको उपस्थिति रहेको र स्थानीय सरकारले जनआवश्यकताअनुसार बजेट विनियोजन गरिरहेको उनले उल्लेख गरेकी छन्। यद्यपि भौगोलिक रूपमा कठिन अवस्थाका केही वडामा पूर्वाधार र आधारभूत सेवाका मागहरू सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। अघिल्लो अवधिमा विभिन्न स्थानीय मुद्दामा सहजीकरण गर्ने अवसर पाएको अनुभवसमेत उनले सुनाएकी छन्।
उनको चुनावी एजेन्डामा वसन्तपुर र स्वयम्भू क्षेत्रसम्बन्धी यातायात व्यवस्थापन प्रमुख रूपमा समेटिएको छ। वैकल्पिक सडकको अभावले यात्रु तथा पर्यटकले समस्या भोगिरहेको उल्लेख गर्दै इन्द्रचोक क्षेत्रमा सवारी आवागमन अवरुद्ध हुँदा धेरै घुम्नुपर्ने अवस्थाको समाधान खोज्ने प्राथमिकता उनले राखेकी छन्। साथै सुरक्षाको प्रत्याभूति र व्यवस्थित सहरी योजना आवश्यक रहेको उनको भनाइ छ।
युवामाझ फैलिँदै गएको वेभ (इ–सिगरेट) प्रयोगका कारण कुलत बढ्दै गएको विषय पनि उनको एजेन्डामा छ। त्यसका लागि उपचार तथा पुनर्स्थापना केन्द्रको आवश्यकता औँल्याउँदै विद्यालयस्तरमै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताएकी छन्। अघिल्लो संसद् अवधिमा पनि उनले यही विषय उठाएको र त्यसपछि सम्बन्धित निकायले कदम चालेको दाबी गरिएको छ।
समग्रमा, आफ्नो निर्वाचन क्षेत्रका आवश्यकता पहिचान गरी रणनीतिक रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको उनको पक्षबाट जितप्रति आशावादी धारणा व्यक्त गरिएको छ। यद्यपि निर्वाचन परिणाम मतदाताको निर्णयमा निर्भर रहने तथ्यलाई राजनीतिक वृत्तले स्वाभाविक रूपमा स्वीकार गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.