ओशोको प्रवचन सुन्ने क्रममा अध्यात्म उपनिषद् सुन्दै थिएँ। प्रवचनमा उनी भन्दै थिए- तिमी यो पृथ्वीमा नयाँ होइनौ। तिमी कृष्णसँग पनि थियौ, तिमी बुद्धसँग पनि थियौ, तिमी महावीरसँग पनि थियौ, तिमी जिसस क्राइस्टसँग पनि थियौ, सबैसँग भएर पनि तिमीसँग भएको सरिता बग्यो, गयो। तिमी प्यासीको प्यासी नै भयौ।“ म एकोहोरो सुनिरहेकी थिएँ।
पोपोफ मेरो लागि नयाँ नाम थियो। उनलाई सुन्दै गएँ। किन ओशोले पोपोफको उदाहरण लिए।पोपोफको थिइन्? पोपोफको बारेमा जान्ने इच्छा भयो। जहाँ इच्छा त्यहाँ उपाय- हाम्रो उखानै छ। आज यसैको विषयमा आफूले थाहा पाएका कुरा लेख्दैछु।
पोपोफ एक साधिका थिइन्, र गहिरो साधनामा लीन थिइन्। उनी प्योत्र दिमित्रोविच उस्पेन्स्कीसँग साधना गर्थिन्। एक दिन उनी उस्पेन्स्कीको नजिकै बसेकी थिइन्। त्यतिखेर एक सज्जन आएर उस्पेन्स्कीसँग सोधे-“ईश्वर छन् कि छैनन्?”
उस्पेन्स्कीले भने-“ईश्वर..? छैनन्, ईश्वर छैनन्।” त्यसपछि उस्पेन्स्की केही बेर रोकिए र फेरि भने-“तर म यसको कुनै ग्यारेन्टी पनि दिन सक्दिनँ। किनकि मैले अहिलेसम्म जे जानेको छु, सबै माध्यमबाट जानेको छु। आँखाले देख्छु, तर आँखाको भरोसा के..? कानले सुन्छु, तर कानले गलत पनि सुन्न सक्छ। हातले छुन्छु, तर हातको के भरोसा? अहिलेसम्म मैले सीधै देखेको छैन। आमने-सामने भेट भएको छैन। त्यसैले कुनै पक्का ग्यारेन्टी छैन।
अहिलेसम्मका मेरा अनुभवहरूमा मलाई ईश्वरको अनुभूति भएको छैन। तर त्यसको अर्थ ईश्वर छैनन् भन्ने पनि होइन। यसले त केवल मेरो अनुभव के-कस्तो छ भन्ने मात्र बताउँछ। त्यसैले म यो पनि निश्चित रूपमा भन्न सक्दिनँ कि ईश्वर छैनन्। त्यसैले ममाथि भरोसा गरेर यहाँ रोकिनु हुँदैन,खोज गर।” यस उत्तरको गहिराइ पोपोफले बुझ्थिन्। किनकि उनलाई थाहा थियो कि आँखाले देखेको अन्तिम सत्य होइन, कानले सुनेको पूर्ण होइन। अनुभूति पनि अझै दूरीमै हुन्छ। पोपोफका लागि ईश्वर विश्वासको विषय होइन,अनुभवको परिपक्वता हो।
उस्पेन्स्की भन्छन्-जब कुनै कुरा माध्यमबाट घट्छ, त्यसमा पूर्ण भरोसा गर्न सकिँदैन। फूलको नजिक पुगे पनि आँखाले देख्छ, हातले छुन्छ, नाकले सुगन्ध लिन्छ,यो सबै अझै पनि दूरीकै अनुभव हो।
कहिलेकाहीँ कुनै कवि त्यो परम फूलको यति नजिक पुग्छ कि त्यसको गुञ्जन उसका गीतहरूमा झर्छ। तर त्यतिले मात्र ऊ बुद्ध हुँदैन, महावीर हुँदैन। माध्यमबाट आएको ज्ञान अन्तिम सत्य होइन। अनुभूति नहुँदासम्म खोज जारी राख्नुपर्छ। कविता गुञ्जन हो,तर पूर्ण साक्षात्कार होइन।
पोपोफ एक गहिरो रूसी साधिका थिइन्। उनी पी. डी. उस्पेन्स्कीसँग साधना गर्थिन्, जो गुरजिएफ परम्पराका प्रमुख विचारक थिए।उनी स्व-बोध (Self-remembering)को गहिरो अभ्यासमा थिइन्। अनुभवलाई भन्दा पनि साक्षी भावलाई महत्त्व दिन्थिन्। विश्वास होइन, प्रत्यक्ष अनुभव नै सत्य हो भन्ने धारणा राख्थिन्। माध्यमबाट थाहा पाएको कुरा अन्तिम सत्य हुँदैन।”
सत्य शब्दमा होइन, अनुभवमा खुल्छ। कवि सत्यको सुगन्धसम्म पुग्न सक्छ। तर बुद्ध वा महावीर बन्न प्रत्यक्ष बोध चाहिन्छ।
आध्यात्मिक इतिहासमा केही नामहरू प्रकाशझैँ चम्कन्छन्, र केही नामहरू दीपझैँ मौन रूपमा बलिरहन्छन्। पोपोफ त्यही मौन दीप हुन्। उनी न त प्रसिद्ध गुरु थिइन्, न लेखक, न प्रचारक। तर चेतनाको गहिराइमा बसेर बाँच्ने साधिका थिइन्।
पोपोफन विश्वासमा अडिने, न अस्वीकारमा थामिने, तर सजगतासँग निरन्तर खोजिरहने साधिका हुन। खोजको प्रतीक हुन्-पोपोफ।खोजमा बाँचेकी साधिका पोपोफ कुनै प्रसिद्ध गुरु, दार्शनिक वा लेखक होइनन्। उनको महत्त्व नाममा होइन, चेतनाको स्तरमा छ।
पोपोफको साधना बाहिरी विधिभन्दा फरक थियो। उनी ध्यान, मन्त्र, पूजा वा भावनात्मक भक्तिमा सीमित थिइनन्। उनको मुख्य अभ्यास थियो-स्व-बोध (Self-Remembering)। पोपोफका लागि साधना भन्नु कुनै विशेष समयको अभ्यास होइन,बरु हरेक पल आफूलाई सम्झिरहनु हो। द्वैत–साक्षी भाव उनको जीवनको केन्द्र थियो।
उनको जीवन लेन “छ”मा अडिनु, न “छैन”मा थामिनु,न विश्वासमा गर्नु,न अस्वीकारमा कठोर बन्नु,खोजिरहनु,सजगतामा बाँचि रहनु,आफ्नै अनुभवलाई पाक्न दिनु भन्छ।
पोपोफ कुनै दर्शन होइनन्,उनी खोजको अवस्था हुन्। जहाँ शब्द सकिन्छ,जहाँ विश्वास गल्छ,जहाँ अस्वीकार पनि हराउँछ, त्यहीँ पोपोफको साधना सुरु हुन्छ।
उनी एक गहिरो साधिका हुन, किनभने उनी ज्ञान सङ्कलनमा होइन, चेतना रूपान्तरणमा रुचि राख्थिन् बोल्ने भन्दा देख्ने र बस्ने उनको मार्ग थियो। अहङ्कार प्रदर्शन होइन, आन्तरिक मौन उनको साधना थियो। उनले जीवनलाई नै साधना बनाइन्।
उस्पेन्स्कीका धेरै विद्यार्थीहरू बौद्धिक रूपमा तेज थिए, तर पोपोफ अभ्यासमा मौन र गहिरो थिइन्। उनले न बहस गरिन्, न प्रचार। उनी केवल जागृत रहिन्। यही कारणले उनलाई “गहिरो साधिका”भनिन्छ।
पोपोफको जीवनले देखाउँछ-साधना गुरु, ग्रन्थ वा नाममा होइन,
क्षण-क्षणको सजगतामा हुन्छ। उनी प्रमाण हुन् कि साँचो साधक
इतिहासमा ठूलो नाम बनेर होइन, चेतनामा मौन ज्योति बनेर बस्छ।
आध्यात्मिक इतिहासमा केही नामहरू प्रकाशझैँ चम्कन्छन्, र केही नामहरू दीपझैँ मौन रूपमा बलिरहन्छन्। पोपोफ त्यही मौन दीप हुन्। उनी न त प्रसिद्ध गुरु थिइन्, न लेखक, न प्रचारक। तर चेतनाको गहिराइमा बसेर बाँच्ने साधिका थिइन्। पियोत्तर दिमित्रोविच उस्पेन्स्कीको सान्निध्यमा साधना गर्ने पोपोफको जीवनले एउटा अत्यन्त सूक्ष्म तर निर्णायक सत्य देखाउँछ। त्यो हो-अप्रमाद, अर्थात्-स्व:बोध (Self-Remembering)।
अप्रमाद केवल ध्यान होइन, जीवनको अवस्था हो। बुद्धले जसलाई अप्रमाद भने, कृष्ण मूर्तिले जागरूकता, गुरजिएफले स्व:बोध र महावीरले विवेक भने ती सबै शब्द एउटै अवस्थातर्फ सङ्केत गर्छन्। यो त्यो अवस्था हो-जे गरिरहेका छौँ, त्यो क्षण आफूलाई नबिर्सनु।
अप्रमाद कुनै ध्यानको अभ्यास मात्र होइन, यो अस्तित्वको ढङ्ग हो। बस्दा, हिँड्दा, बोल्दा, काम गर्दाभित्र एउटा मौन साक्षी जागिरहनु। यही स्वबोधको निरन्तरता हो।
उनलाई थाहा थियो-मन यान्त्रिक छ, शरीर आदतको दास छ, भावना असन्तुलित छन्। त्यसैले उनले आफूलाई सम्झाइरहिन्-“म यहाँ छु।” यो सम्झना कुनै विचार थिएन, यो “हुनु” को जागरूकता थियो।
गुरजिएफ–उस्पेन्स्की परम्पराले भन्छ-मानिस प्रायःयान्त्रिक रूपमा बाँच्छ। ऊ गर्छ, तर ऊ के गरिरहेको छ जान्दैन। ऊ बोल्छ, तर बोल्ने क्षणमा आफूलाई बिर्सेको हुन्छ। यही बिर्सनु नै प्रमाद हो। पोपोफको साधना यही प्रमादबाट मुक्त हुने अभ्यास थियो। उनी सधैँ स्वबोधको डोरी समातेर राख्थिन्।
पोपोफको साधनाले देखाउँछ-साँचो साधना देखिने उपलब्धि होइन। न त कुनै विशेष अनुभूति, न त चमत्कार हो। साँचो साधना आफूलाई, आफ्नो उपस्थितिलाई, आफ्नो चेतनालाई नबिर्सनु हो। उनको जीवनले ध्यान केही घण्टाको अभ्यास होइन, पूरा जीवनको सजगता हो भन्ने सन्देश दिन्छ।
आजको मानिस व्यस्त छ, सूचनाले भरिएको छ, तरआफूबाट टाढा छ। पोपोफको साधना आज झन् सान्दर्भिक हुन्छ। उनले हामीलाई सम्झाउँछिन्-काम गर, बोल, हाँस, रोऊ तर आफूलाई नबिर्स। यसैले पोपोफ अप्रमादको प्रतिमूर्ति थिइन।
साधनालाई व्यक्तिगत उपलब्धि होइन, आन्तरिक शुद्धता मानेकी उनको जीवन सन्देश थियो:“बोल्नु आवश्यक छैन,जागृत रहनु आवश्यक छ।”
पोपोफ कुनै ठूलो नाम होइनन्, तर ठूलो स्मरण हुन्। उनको जीवनले जहाँ Self-Remembering छ,त्यहीँ ध्यान छ भन्छ।जहाँ अप्रमाद छ,त्यहीँ मुक्ति सुरु हुन्छ। पोपोफ इतिहासमा ठूलो आवाज बनेर होइन,चेतनामा मौन ज्योति बनेर बाँचेकी साधिका हुन्।
पोपोफ औपचारिक इतिहासमा धेरै विवरण छोडेर नगएकी साधिका हुन्, त्यसैले यो प्रामाणिक परम्परागत उल्लेख र साधनात्मक व्याख्यामा आधारित छ।
पोपोफ २०औँ शताब्दीको सुरुआत तिर रूसमा जन्मिएकी मानिन्छिन्। उनको प्रारम्भिक जीवनबारे विस्तृत ऐतिहासिक अभिलेख उपलब्ध छैन, किनकि उनी कुनै सार्वजनिक व्यक्तित्व बन्न चाहिनन्। तर प्रारम्भदेखि नै उनी आन्तरिक खोज, आत्म अनुशासन र मौन चिन्तनतर्फ आकर्षित थिइन्।
उनको जीवनको निर्णायक मोड तब आयो जब उनी पियोत्तर दिमित्रोविच उस्पेन्स्कीसँग सम्पर्कमा आइन्। उस्पेन्स्की गुरजिएफको शिक्षालाई पश्चिमी जगतमा गहिरो रूपमा व्याख्या गर्ने दार्शनिक थिए।
पोपोफ उस्पेन्स्कीकी चर्चित शिष्या थिइनन्,न त प्रवचन दिने समूहकी अगुवा तर सबैभन्दा गहिरो अभ्यासकर्तामध्ये एक थिइन्।पोपोफको साधनाको विशेषता बाहिरी विधिभन्दा भित्री सजगता, ध्यानभन्दा निरन्तर होस थियो।
उनको व्यक्तित्व र जीवनशैली अत्यन्त सरल र मौन थियो। कुनै आध्यात्मिक पद, नाम वा पहिचानको चाहना थिएन। चर्चित हुनबाट सधैँ टाढा थिइन। साधनालाई व्यक्तिगत उपलब्धि होइन, आन्तरिक शुद्धता मानेकी उनको जीवन सन्देश थियो:“बोल्नु आवश्यक छैन,जागृत रहनु आवश्यक छ।”
साधना प्रसिद्धिमा होइन, “हुनु”मा हुन्छ भन्ने जीवित प्रमाण बनिन्। साँचो साधक इतिहासमा नाम होइन, चेतनामा छाप छोड्छ उनी सम्झाउँछिन्।
पोपोफको जीवन कुनै घटनाक्रमको सूची होइन,चेतनाको यात्रा हो। उनको जीवनले भन्छ-अप्रमादको अभ्यास गर,आफूलाई नबिर्स, बाँकी सबै आफैँ शान्त हुन्छ।
प्रारम्भदेखि नै अन्तर्मुखी स्वभावकी,मौन, अवलोकनशील र आत्म अनुशासनतर्फ आकर्षण थिइन-पोपोफ। उनको जीवनले देखाउँछ-साधना घटनामा होइन, क्षण–क्षणको सजगतामा लेखिन्छ। बस्दा, हिँड्दा, बोल्दा, काम गर्दाभित्र एउटा मौन साक्षीलाई निरन्तर जागृत राख्नु नै उनको साधना बन्यो।
जहाँ धेरै साधक अनुभव र उपलब्धिको खोजमा दौडिन्छन्, पोपोफ त्यहाँ नबिर्सने अभ्यासमा स्थिर रहिन्। उनको लागि सबैभन्दा ठूलो बाधा प्रमाद,असावधानी थियो भने,अप्रमाद,सजगता,एकमात्र साधना थियो। उनले न कुनै संस्था बनाइन्, न पुस्तक लेखिन्, न शिष्य सङ्कलन गरिन्। उनको उत्तरकालीन जीवन अझ सरल, अझ मौन बन्यो। पहिचान, नाम र मानबाट पूर्ण विमुख हुँदै उनी चेतनाको निरन्तरतामा स्थिर भइन्। उनको देहावसान पनि उनको जीवन जस्तै मौन रह्यो।
अत:बुद्धले मौनमा भने, गुरजिएफले चेतावनीमा भने,“जे गर,तर आफूलाई नबिर्स।” यही स्मरण नै ध्यान हो,यही सजगता नै मुक्ति हो,र यही चेतना नै जीवनको सार हो।
पोपोफको जीवनले एउटा गहिरो सन्देश दिन्छ:साधना कुनै प्रदर्शन होइन, “हुनु” हो। अप्रमाद कुनै क्षणिक ध्यान होइन, जीवनको अवस्था हो।
आध्यात्मिक यात्रामा शब्द फरक–फरक हुन्छन्, तर सङ्केत एउटै चेतनातर्फ हुन्छ। भाषा, संस्कृति र युग फरक भए पनि तिनीहरूले देखाउने मार्ग एउटै छ-आफूलाई नबिर्सेर बाँच्ने कला।
बुद्धका उपदेशहरूको मूलसूत्र पनि अप्रमाद हो। धम्म पदको पहिलो सन्देशले भन्छ:-“अप्रमाद अमृतको मार्ग हो, प्रमाद मृत्युको मार्ग हो।”
बुद्धका लागि अप्रमाद भनेको केवल ध्यानको क्षण होइन, जीवनको सम्पूर्ण ढङ्ग हो। हिँड्दा, बस्दा, खाँदा, बोल्दा सबै क्रियामा होस। प्रमाद अर्थात् असावधानीमा बाँच्नु भनेको स्वचालित, यान्त्रिक जीवन हो। बुद्धले मुक्ति कुनै स्वर्गीय वरदान होइन, सजगताबाट जन्मिने अवस्था माने।
गुरजिएफले यही सत्यलाई आधुनिक भाषामा स्वयमको बोध भने। उनका अनुसार मानिस “सुतिरहेको”अवस्थामा बाँचिरहेको हुन्छ।ऊ गर्छ, बोल्छ, प्रतिक्रिया दिन्छ तरआफूलाई सम्झँदैन। स्वयमको बोध भनेको काम गर्दागर्दै पनि भित्र “म छु”भन्ने हुनुको उपस्थिति जगाइरहनु हो। यो ध्यानभन्दा फरक छ, किनकि यो जीवनबाट अलग छैन।
गुरजिएफले पनि बुद्धले जस्तै जागरण कुनै आकस्मिक घटना होइन, निरन्तर अभ्यास हो भने।
अप्रमाद बुद्ध र गुरजिएफबीचको सेतु हो। बुद्धको मौन ध्यान र गुरजिएफको सक्रिय जीवन दुवैलाई जोड्ने सूत्र यही हो। अप्रमाद बिना ध्यान प्रमाद बन्छ, र स्वयमको बोध बिना कर्म यान्त्रिक हुन्छ।
अत:बुद्धले मौनमा भने, गुरजिएफले चेतावनीमा भने,“जे गर,तर आफूलाई नबिर्स।” यही स्मरण नै ध्यान हो,यही सजगता नै मुक्ति हो,र यही चेतना नै जीवनको सार हो। पोपोफजस्ता साधिकाहरू यस सेतुका जीवित उदाहरण हुन्। उनले बुद्धको अप्रमादलाई गुरजिएफको स्वयमको बोधमा जिउँदै उतारिन्।
ओशोका हरेक प्रवचनमा केही न केही नयाँ नामहरू हुन्छन्। हामीले सुन्दै नसुनेका, थाहा नै नपाएका कतिपय नामहरू उनका प्रवचनले प्रस्ट्याउँछन्। ती नामहरूको गहिराइ नै उनको प्रवचनको सार हो। र ती नामहरूको बुझाइले हामीलाई एउटा गहिरो अनुभूति दिन्छन्।यसैले गुरजिएफ,उस्पेन्स्की,पोपोफ जस्ता बुद्ध आत्माहरूको जानकारी दिनुभएकोमा ओशोलाई हृदयदेखि नै धन्यवाद दिन्छु! अस्तु:
(रमा दुलाल पुर्व नायब-महालेखा परीक्षक तथा बेरुजू फर्छ्यौट मूल्याङ्कन र अनुगमन समितिकी सदस्य-सचिब हुन्।)
लेखिकाबाट थप :
कुकुर आलोका शान्तिको बाटो चिन्न सक्छ भने, हामी मानव किन हृदय खोल्न सक्दैनौ..?
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.